पशुपतिमा महाशिवरात्रिको तयारी सुरु «

पशुपतिमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ ।
आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।
कोष सञ्चालक परिषद् सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । कोषले गत वर्षदेखि मूलसमिति गठन गर्न छोडेको छ । काम उपसमितिले नै गर्ने र मूल समितिका नाममा पशुपति प्रवेशको पास मात्र वितरण हुन थालेपछि गठन नगरिएको उनले बताए ।
कोषले शिवरात्रिमा दर्शनका लागि विशेष पास एवं सशुल्क पासको व्यवस्था पनि खारेज गरेको छ । पशुपति क्षेत्रमा देश विदेशका साधु सन्त आउन थालेपछि सोमबारदेखि नै अन्नपूर्ण भण्डार, भागवतानन्द आश्रम र जम्मु काश्मीरबाट आएका मोहननाथ बाबाले संयुक्त रुपमा निःशुल्क भण्डाराको व्यवस्था गरेको कोषले जनाएको छ ।
गुठी संस्थान पशुपति गोश्वाराले फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिन माघ २८ गतेदेखि शिवरात्रिको पर्सिपल्ट अर्थात् फागुन कृष्ण औँसी फागुन ३ गते बिहीबारसम्म मेला भर्न आएका साधु सन्तलाई निःशुल्क भोजनको व्यवस्था गर्नेछ ।
फागुन कृष्ण दशमीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गर्ने दक्षिणा र उपहार दिएर फागुन कृष्ण औँसीका दिन साधु सन्तलाई बिदाइ गर्ने परम्परा छ । बिदाइमा नागाबाबालाई पेडा र दक्षिणा एवं अन्य साधु सन्तलाई खिचडी तथा दक्षिणा दिइने संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए ।
एकादशीकै दिनदेखि संस्थानले साधु सन्तलाई आगो ताप्न दाउरा वितरण गर्ने तयारी गरेको छ । शिवरात्रीमा वितरण गर्न ४५ हजार केजी दाउरा किनिएको संस्थानले जनाएको छ ।

पशुपति महामहोत्सव हुने
पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ । समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दू धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको जनाएको छ ।
पशुपतिनाथ मन्दिरका सहायक भट्ट एवम् महामहोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्म र राष्ट्रियता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, “हाम्रो धर्म र राष्ट्रियतामाथि प्रहार भइरहेको छ । हामीले आजका दिनमा सहेर बसेका छौं, सरकारलाई धेरैपटक भनिसकेका छौं, हाम्रो हिन्दू धर्म र राष्ट्रियता कमजोर हुन दिनुभएन भनेर । तर, सुरक्षाको नाममा पशुपति क्षेत्र विदेशीको अखडा बन्दैछ, अनेक प्रकारका व्यवधानहरू सुरु गरिँदैछन् ।”
त्रिवेणीधाम एवम् योगी नरहरिनाथ कोटीहोमका गुरु वशिष्ठले आयोजित महोत्सवलाई राष्ट्रिय महोत्वका साथ लिन सरकारलाई आग्रह गरे । उनले भने, “सरकारलाई मेरो आग्रह छ, फागुन ३० देखि चैत ६ गतेसम्म साताव्यापी चल्ने महोत्सवलाई राष्ट्रिय महोत्सवकारूरुपमा हेरियोस् ।”
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले पशुपतिनाथ मन्दिरको धार्मिक महिमा र ऐतिहासिक जात्राहरूको संरक्षण र संवद्र्धनको लागि साताव्यापी महोत्सव गर्न लागिएको बताए ।
विभिन्न सांस्कृतिक प्रतियोगिता र सांस्कृतिक प्रस्तुतिको साथ सम्पन्न हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । करिब २ करोड लागतमा सम्पन्न हुने महोत्सवको बारेमा आयोजित पत्रकार सम्मेलनमा माता अन्नपूर्ण र महोत्सव प्रचारप्रसार विभाग प्रमुख सचिता बुढाथोकीले महोत्सवमा उपस्थितिका लागि सबैमा आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्