व्यापारघाटा कम गर्न विद्युत निर्यात «

व्यापारघाटा कम गर्न विद्युत निर्यात

नेपालको पूर्वी नाकामा सबैभन्दा नजिक रहेको तेस्रो मुलुक बंगलादेशसँग स्थल पारवहन मार्ग जोडिएको २५ वर्ष पुगेको छ । दुई मुलुकबीच भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बंगलाबन्धसँग स्थलमार्गले जोड्न २०५४ भदौ १४ मा सम्झौता भएको थियो । काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग सञ्चालनमा आएको २५ वर्ष बिते पनि दुई मुलुकबीचको व्यापार नेपालको पक्षमा हुन सकेको छैन ।

स्थलमार्गबाट व्यापार सञ्जाल जोडिएको २५ वर्षमा नेपालले ४५ अर्ब रुपैयाँभन्दा धेरै व्यापारघाटा बेहोरेको छ । सम्झौता भएको पहिलो वर्षमा नेपालले ११ लाख ५७ हजार रुपैयाँबराबरका सामग्री यो मार्गबाट बंगलादेश निर्यात गरेको थियो भने बंगलादेशबाट १ करोड ३१ लाख २६ हजारका सामग्री आयात भएका थिए । त्यसयताका २५ वर्षमा नेपालले ३६ अर्बका सामान पठाउँदा ८१ अर्बका बंगलादेशी सामान आयात गरेको छ ।

बंगलादेशसँगको अहिलेको व्यापारघाटालाई नाफामा बदल्ने हो भने विद्युत् व्यापारमा भारतीय तगारो तत्काल हटाउन जरुरी छ ।

सरकारी तथ्यांकअनुसार सुरुका वर्षहरूमा नेपाललाई व्यापारघाटा धेरै थिएन । पछिल्ला पाँच वर्षमा भने घाटा धेरै बढेको छ । अघिल्ला २० वर्षमा १७ अर्बमात्र रहेको व्यापारघाटा पछिल्लो पाँच वर्षमा २८ अर्ब थपिएको छ । नेपालको अहिले डेढ सयभन्दा बढी मुलुकसँग व्यापारिक कारोबार सञ्चालनमा छ । त्यसमध्ये व्यापार सहजीकरणका लागि बंगलादेश निकै सहयोगी छ । दुई मुलुकबीचमा व्यापारिक अवरोधहरू देखिँदैनन् । तर पनि नेपालले पाएको अवसर सदुपयोग गर्न सकेको छैन ।

बंगलादेशमा सजिलै बजार पाउन सक्ने थुप्रै उत्पादन नेपालमा भए पनि त्यसको सही पहिचान हुन सकेको छैन । अहिले नेपालबाट बंगलादेशमा मुसुरो दाल, अम्लिसो, कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोजलगायत वस्तु निर्यात हुने गरेका छन् । यस्तै बंगलादेशबाट हलुका पेय पदार्थ, सोलार उपकरण, रनर मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलु चिप्स, चकलेट, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्ट्स, नरिवल तेललगायत छन् ।

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि नेपालले काँकडभिट्टामा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको कार्यालय सञ्चालन गर्दै आएको छ । यस्तै काँकडभिट्टामा अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण पनि गरिएको छ । यति सुविधा भए पनि भारतका कारण दुई मुलुकका बीचमा केही अवरोध छ । बंगलादेश सामान निर्यात वा आयात गर्दा सामानसहित बंगलादेशको बोर्डर बंगलाबन्धसम्म नेपाली कर्मचारी पुग्नुपर्ने बाध्यता छ । काँकडभिट्टाबाट ५४ किलोमिटर दक्षिणपूर्वमा बंगलाबन्ध छ ।

कुनै पनि मुलुकसँग भएको वैदेशिक व्यापारघाटा कम गराउन मुख्यतया दुई–तीन विषयमा ध्यान दिन सकिन्छ । पहिलो, स्वदेशमा नै वस्तु उत्पादन गरी आयात प्रतिस्थापन गर्ने हो भने अर्कोे आयातभन्दा निर्यात बढी गर्ने हो । हामीले बंगलादेशमा कुन–कुन वस्तु निर्यात गर्ने सम्भावना छ, त्यो हेर्नुपर्छ । बंगलादेशले कस्ता वस्तु आयात गरिरहेको छ ? त्यस्ता वस्तु उत्पादन गरेर पठाउने सम्भावना हामीसँग छ/छैन ? त्यसको यकिन हुनु जरुरी छ । बंगलादेश आफैंले विश्वमा निर्यात गर्ने वस्तु नेपालबाट पठाउन खोजे त्यो मुर्खता हुनेछ ।

अहिले नेपालबाट बंगलादेशमा सीमित वस्तुहरू मात्र निर्यात भइरहेका छन् । निजी क्षेत्रले बंगलादेशमा अदुवा, अलैंची र अम्लिसोको ठूलो बजार भएको बताउँदै आएको छ । तर हामी यस्ता सामान उत्पादन गरेर पठाउन पनि सकेका छैनौं । व्यापारघाटा कम गर्ने अर्को उपाय आयातित सामान घटाउने रणनीति हो । बंगलादेशबाट हामीले जुट तथा जुटबाट बनेका सामान, भटमासको पिना, कपडा, फलफूलका जुस, कस्मेटिकका सामान र चकलेट बढी मात्रामा आयात गर्दै आएका छौं । यी सबै वस्तु स्वदेशमा नै उत्पादन गर्न सक्ने हाम्रो सम्भावना छ ।

जुट तथा जुटबाट बनेका सामान, भटमास, कपडा, फलफूल, चकलेट र कस्मेटिकका सामान उत्पादन गर्न न त धेरै लगानी आवश्यक पर्छ, न उच्च तहको प्राविधिक क्षमता नै चाहिन्छ । यी सबै वस्तु नेपालमा उत्पादन पनि भइरहेको अवस्था छ । यस्तोमा नेपालमा नै उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ । खासमा बंगलादेशसँगको व्यापारमा हामीले विद्युत् निर्यात गर्न सके सबैभन्दा बढी फाइदा उठाउन सक्छौं । यसका लागि पहल पनि भइरहेको छ । हामीबाट विद्युत् लिन बंगलादेश तयार पनि नभएको होइन । तर, बीचमा भारतीय अवरोध छ ।

भारतको बाटो नभई हामीले बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था छैन । भारतीय सरकारलाई मनाउन सरकार प्रयत्नशील देखिँदै आएको छ । विद्युत् व्यापारका विषयमा तीनै मुलुकबीच धेरै चरणमा वार्ता र छलफल भएका छन् । नेपाल र बंगलादेशबीच विद्युत् व्यापारमा सहमति बनेको धेरै भइसकेको छ । व्यापार वार्तामा भारतीय अधिकारीहरूले सहयोग गर्ने वाचा दिइरहेका छन् । तर, ठोस उपलब्धि हासिल हुन सकेको छैन । यसैले बंगलादेशसँगको अहिलेको व्यापारघाटालाई नाफामा बदल्ने हो भने विद्युत् व्यापारमा भारतीय तगारो तत्काल हटाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्