सुरक्षित पदमार्गले ‘नर्थ अन्नपूर्ण आधार शिविर’ पर्यटकको उतकृष्ट गन्तव्य

म्याग्दीको नर्थ अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म सडक, २२ किलोमिटर मौरिस हर्गोज पदमार्ग निर्माणले आधार शिविरमा पदयात्रामार्फत आउने पर्यटकको संख्या बढाएको हो । आधार शिविरको समथर फाँटमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरिलगायतले हिमालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवर्द्धनमार्फत गाउँपालिका आम्दानीको स्रोत र स्थानीयलाई रोजकारी बढाउनका लागि ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविर पुग्ने करिव २२ किलोमिटरको मौरिस हर्गोज पदमार्गको प्रचारप्रचार, सम्भावनाको खोजी, समस्याको पहिचान, पर्यटक बढाउने सहज पूर्वाधार निर्माण लागि जेठ ४ गतेदेखि ७ गतेसम्म पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो ।
यस क्षेत्रको पर्यटन प्रवर्द्धन सम्भावनाको खोजी गर्न जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारसहितको ३६ जनाको टोली शिविर पुगेका थियो । मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार गर्नका लागि आधार शिविरमा टोलीले खेलकुद प्रतियोगिता, अन्तरक्रियात्क कार्यक्रम गरेको थियो । आधार शिविर पुगेको टोलीले बुझाएको प्रतिवेदनको आधार आगामी वर्षको बजेटमा यस क्षेत्रमा पहिचान भएका योजना प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले बताए ।
२०६८ सालदेखि अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्ग, खोलामा झोलुङ्गे पुल, आश्रयस्थल लगायतको पूर्वाधार तयारी गरी ‘मौरिज हर्गोज पदमार्ग’ नामाकरण गरिएको यस क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्र्धन कार्यक्रम राखिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । सडक, पदमार्ग र आश्रयस्थल नहुदाँ हेलिकोप्टरमार्फत हिमाल चढ्ने पर्यटक नर्थ अन्नपूर्ण आधार शिविरमा पुग्ने गरेको मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले बताए ।
अन्नपूर्ण प्रथम, निलगिरिलगायतका हिमालहरु, निलो रंगको ठूलो आकारको पञ्चकुण्ड तालको अवलोकन गर्नका आउने पर्यटकलाई लक्षित गरेर २०६८ सालदेखि पदमार्ग, सडक, सेल्टर निर्माण कार्यलाई तीव्रता दिएको पर्यटन व्यवसायी एवम् मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङले बताए । “पदमार्ग निर्माणले पर्यटकको आगमन बढाएको छ, हिमाल चढ्न आरोही, भरिया तल्लो पदमार्गमार्फत आउने क्रम बढेको छ” गुरुङले भने, “हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताललाई धार्मिक पर्यटनसँग जोडेर व्यवस्थित पूर्वाधार निर्माण कार्यलाई अघि बढाएपछि धार्मिक पर्यटकपनि आउने क्रम बढेका छन् ।”
सन १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेपछि विदेशी पर्यटकको आगमन बढाएको छ । यस क्षेत्रमा पुगेका विदेशी पर्यटकले सम्भावनालाई उजागर गरेका छन् भने पछिल्लो समय अन्नपूर्ण हिमाल चढ्ने आरोही पनि बढेका छन् । यस वर्ष विदेशी तथा स्वेदशी गरी ३८ जनाले हिमालको सफल आरोहण गरेका छन् । हिमालको आधार शिविरमा पुगेका युकेका स्टीभ बेटीनेसले प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण गर्न सके नेपालको उतकृष्ट सुन्दर पर्यटकीय गन्तव्यको रुपमा यस क्षेत्रलाई बनाउन सकिने बताए ।
“हिमाल, पञ्चकुण्ड ताल, पदमार्गमा देखिने झरना, वन्यजन्तु, अनौठो भूगोलले यस क्षेत्रको पर्यटन विकास लागि बलियो आधार छ” स्टीभले भने, “यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र सुविधा विस्तारमा ध्यान दिनुपर्छ ।” पर्यटन बोर्ड, एक्याप र गाउँपालिकाको सक्रियतामा चार हजार १९० मिटर उचाइमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थललगायतको पूर्वाधारले पदयात्रालाई सहज बनाएको छ ।
वि.स. २०६८ मा पर्यटनको सम्भावना उजार गरेको यस क्षेत्रमा पुग्ने सुरक्षित ‘मौरिज हर्गोज’ पदमार्ग तयार भएको सन्देश प्रवाह गर्न, हुमखोलादेखि एकै दिनको पैदलयात्रा गरेर आधार शिविर पुगिन्छ । आधार शिविर पुगेका आन्तरिक पर्यटक तथा हिमाल चढाउने शेर्पाहरुले यस क्षेत्रमा विद्युत, नेटवर्क सेवा, खानेपानी सुविधा, र आश्रयस्थलसहितको होटल सुविधा तत्काल निर्माण गर्न सकेको स्वदेशी तथा विदेशी पर्यटक आगमन बढ्ने देखिन्छ ।
यस क्षेत्रको पर्यटन विकासका लागि गाउँपालिकाले सञ्चार, खानेपानी, आश्रयस्थल थप, पदमार्गको स्तरोन्नती, गोदामलगायतको पूर्वाधार विकासमा आगामी वर्षमा पहल गर्ने आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य खमबहादुर गर्वुजाले बताए । नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडक सुविधासहित अन्नपूर्ण र निलगिरि खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पतिको जंगल, वन्यजन्तु, झरनाको अवलोकन गर्दै एक दिनमा आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
“विश्वको दसौं र नेपालको नवौं अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीमै पर्ने भएपनि आवश्यक प्रचारप्रसार नहुँदा म्याग्दीले लाभ लिन नसेको र आम्दानी स्रोत गुमाएको अधिृकत सुवेदीले उल्लेख गरे । उनले आगामी दिनमा पदमार्गको स्तरोन्नती, क्याम्पिङ साईट, सेल्टर, खानेपानी, विद्युत, गोदामलगायतको पूर्वाधार निर्माणलाई आगामी आर्थिक बर्षमा समेट्ने प्रदेश र संघ सरकारसंग पहल गर्ने बताए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले पर्यटकलाई लक्षित गरेर बेनी जोमसोम सडकदेखि नारच्याङ प्रवेशद्वारबाट हुमखोलाको सडकलाई स्तरोन्नती गर्ने योजना वडाको रहेको बताए । अन्नपूर्ण गाउँपालिकाले घोडेपानी–पुनहिल, मोहरेडाँडा, खोपारामा जस्तै सामुदायिक लज वा व्यक्तिगत लगानीमा होटल सुविधा विस्तार गरेर पर्यटकको बसाइलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्छ ।