नक्कली शरणार्थी प्रकरण : २७ करोड ५० लाख बिगो मागदावी

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको जानकारी दिए । उनले सरकारी वकिल कार्यालयले प्रतिवेदनमा थपघट पनि गर्न सक्ने बताए । सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धानको पाटो बाँकी नै रहने र त्यसतर्फ पनि मुद्दा आकर्षित हुनसक्ने उनले बताए । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीलगायतका १६ जना पक्राउ परेका छन् ।
उनले थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय पनि दिइएको जानकारी दिए । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन हेरेर अभियोजनको पाटो अघि बढ्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । शरणार्थी प्रकरणमा एक सय १३ जना पीडितले २७ करोड ५० लाख ७४ हजार भन्दाबढी ठगी भएको भनी उजुरी दिएका छन् ।
उक्त घटनामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एमाले) का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
सो प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरु फरार छन् ।
२२ वटा जाहेरी दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जाहेरीमा २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुवातमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो ।
कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । उक्त मुद्दामा सोमबारसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।