पहिरोमा पुरिएर १० जनाको मृत्यु, दुई बेपत्ता «

पहिरोमा पुरिएर १० जनाको मृत्यु, दुई बेपत्ता

गुल्मी-पहिरोमा पुरिएर गुल्मीमा १० जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका दुईवटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा दुईजनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ ।
मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना बालक सन्दीप बिक मावली घरमा गएकाले बाँचेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी तरामु, ९ वर्षिय दर्शन तरामुको मृत्यु भएको छ । उनीहरु आमा–छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा तरामु र १३ वर्षिय धनि तरामु घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।
उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थल पुगेर उद्धार कार्य गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा राखिएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ पर्दछ ।
यसैबीच, पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुःख व्यक्त गरेका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै उनले राहत र उद्धारमा जुटन आग्रह गरेका छन् ।
ज्ञवालीले उद्धार र राहतको लागि कुनै पनि कसर बाँकी नराखी जुट्न आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवालीको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्