पकेट क्षेत्रकै आलुले बजार पाएन

सरकारले जुम्लाको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य क्षेत्रमा भन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चार वटा गाविसले आलु खेतीलाई बढी प्राथमिककता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिएको हो । पातारासी गाउँपालिकाको छुमचौर गाउँका झन्डै ५० घरधुरीले व्यवसायिक खेती गरेर जनही वार्षिक ५ क्विन्टलभन्दा बढी आलु उत्पादन गर्ने गरेका छन् ।
केही कमाउने आशाले उत्पादन गरिएको आलुले बजार नपाएपछि भने यहाँका आलु कृषक निकै चिन्तित भएका छन् । छुमचौरका ताराबहादुर बोहराले यो वर्ष ७ क्वीन्टल आलु फलाएका छन् । तर, बजार अभावलेले अहिले १ क्वीन्टल पनि बिक्री हुन सकेको छैन । कठ्यांग्रिँदो चिसोका बीच सदरमुकाममा आलु बिक्री गर्न लिएर जाँदासमेत बिक्री हुन नसकेको उनको गुनासो छ ।
उपभोक्ताले आलु नकिनेपछि होटलवालाहरूलाई सस्तोमै बिक्री गर्नुपरेको गुनासो उनको छ । “पातारासीलाई आलुको पकेट क्षेत्र भनिए पनि उत्पादित आलु बिक्री नहुँदा किसानलाई समस्या भएको छ । गाउँबाट आलु बोकेर बिक्रीका लागि सदरमुकाम आउने अधिकांश किसानको समस्या उस्तै छ ।
यस्त स्थानीय लक्ष्मी विष्टले पनि यो वर्ष ४ क्वीन्टल आलु उत्पादन गरेकी छन् । तर, उत्पादित आलु घरमै भण्डारण गरेर राखिएको उनले बताइन् । बिक्री भए पनि होटलवालाहरूले सस्तो लिने गर्छन्, उनले भनिन, आलुको पकेट क्षेत्र पातारासीलाई भनिएपनि बजारीकरणको समस्या ज्युको त्यँु छ । तारा बहादुरका परिवार उदाहरण मात्र हुन । यहाँ आलु बोकेर सदरमुकाम आउनेहरूको त दैनिक भिड लाग्छ । त्यस्तै लक्ष्मी विष्टको घरमा पनि ४ क्वीन्टल आलु थन्किएको छ । “आलु धेरै भएपछि राख्ने ठाउँको व्यवस्थापन गर्न पनि निकै समस्या भएको छ,” उनले भनिन्, “उत्पादित आलु बिक्री नहुँदा कुहिने सम्भावना बढेको छ ।” बजारको विश्लेषण नगरी आलुको पकेट क्षेत्र घोषणा गर्दा समस्या भएको किसानहरू बताउँछन् ।
जुम्लामा अहिले आलु प्रतिकिलो २० रुपैयाँमा बिक्री भइरहेको छ । कतिपयले त प्रतकिलो १५ रुपैयाँमै बिक्री गर्ने गरेका छन् ।
बजार व्यवस्थापनमा सरोकारवाला मौन
जुम्लामा उत्पादित कृषि उपजको बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरोकारवालाहरू जिम्मेवार देखिएका छैनन् । स्थानीय सरकार सञ्चालनमा आएपछ कृषि उजपको बजारीकरणमा पहल हुने स्थानीयको आशा पनि अहिले निराशामा परिणत हुन थालेको छ । गाउँपालिकाले अहिलेसम्म आलुको बजारीकरणमा ध्यान दिएको छैन ।
पटक–पटक बजारीकरणको समस्या देखाउँदै समाधानको बाटो खोज्न तथा संकलन केन्द्र राख्न किसानले ध्यानाकर्षण गराए पनि सरोकारवालाहरू मौन देखिएका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले सम्बन्धित स्थानीय तहले बजारीकरणको पहल गर्नुपर्ने बताए । बजारमा आएको तरकारीलाई व्यवस्थापन गर्न निर्माण गरिएको संकलन केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफू लाग्ने उनको भनाई थियो ।
–सागर परियार