अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा २० प्रतिशत छुट «

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा २० प्रतिशत छुट

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई २० प्रतिशत छुटको व्यवस्था हुने भएको छ । यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० एवं तेस्रो अन्नपूर्ण म्याराथनको अवसरमा घान्दुक पुगेका पाहुनालाई २० प्रतिशत होटल आवाससहितको सेवामा २० प्रतिशत विशेष छुट हुने बताइएको छ ।

घान्द्रुकमा हाल एकै रातमा १ हजार २ सय जनासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थापन गर्न सकिने घान्द्रुक होटल व्यवस्थापन समितिका पूर्व अध्यक्ष किसन गुरुङले बताए । उक्त महोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन हुने भएकाले खेलाडीका लागि विशेष छुटको प्याकेज प्रति खेलाडी ८ सयमा आवासिय सहितको खाजा खानाको व्यवस्था मिलाएको उनले जनाए । विगत ८/९ वर्षदेखि गाउँका धेरै युवा रोजगारका लागि विदेसिएको सन्दर्भमा पछिल्लो समयमा भने अब गाउँ फर्कन थालेको पर्यटन व्यवसायीसमेत रहेका पूर्वअध्यक्ष गुरुङले बताए ।

हिमश्रृंखलासहितको अति सुन्दर गाउँमा अर्गानीक खाद्यपदार्थ खान पाइने र गुरुङ समुदायको कला संस्कृति भेषभुषा भएको उनले जनाए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ २०७४ सालदेखि आरम्भ गरिएको कार्यक्रमको दोस्रो संस्करण सम्पन्न गरिएको भएपनि त्यसपछि कोभिड–१९ का कारण निरन्तरता दिन नसकिएको महोत्सव संयोजक ललित गुरुङले बताए ।

यसवर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको समेत सहभागिता हुने संयोजक गुरुङले बताए । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक आएर समापन हुने गरी ४२.१९५ किलोमिटर म्याराथनको रुट कायम गरिएको उनले बताए । विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरीस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ मनाउने गरिन्छ ।

सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा छ भन्ने स्थानियको दाबी रहेको छ । म्याराथनसँगै घान्द्रुक पर्यटन व्यवस्थापन समितिको विशेष पहलमा प्रतियोगितात्मक खेलकूदका साथ विविध सांस्कृतिक कार्यक्रमसहित भलिबल, बास्केटबल, छेलोलगायतका प्रतियोगिता हुने समितिका अध्यक्ष विक्रम गुरुङले बताए । जेठ १८ गते हुने म्याराथन दौडमा विजेतालाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख तेश्रो हुनेलाई ७५ हजारको साथमा पदक र प्रमाण पत्र वितरण गरिने भएको छ ।

त्यसैगरी सोही इभेण्टमा महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार प्रदान गरिने भएको छ । विश्वकै आठ हजारभन्दा अग्लो हिमाल आरोहणको इतिहासमा पहिलो हिमाल आरोहणको सुरुवात गरिएको अन्नपूर्ण प्रथम हिमालको फेदीबाट आरम्भ हुने तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनसहित गर्न लागिएको महोत्सव, अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोह, हर्स राइडिङ गरी घान्द्रुक गाउँ घुम्न सकिने र गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन कक्ष, झाँक्री प्रदर्शन, घैंटो फुटाउने, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम महोत्सवका मुख्य आकर्षण रहेको समितिले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महोत्सवलाई सफल पार्न अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउण्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघ संस्थासँगबाट सहयोग प्राप्त हुने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्