विश्वकै अग्लो स्थान ‘छुमज्युलोमा’ घट्दै मार्सीखेती, संरक्षण गर्न रोपाइँ महोत्सव

कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्दै गएको छ । विश्कै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रूपमा गिनिज बुकमासमेत रेडर्क कायम भएको पातारासीको छुमचौर ज्युलो खेती नहुँदा बाझिँदै गएको हो ।
समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । जहाँ एग्रो टुरिजमको प्रचुर सम्भवाना रहेको छ । दुई तीन दशक पहिलासम्म पातारासी–३ छुम र हुरी गाउँका करिब ३६४ घरधुरीका मुख्य आयस्रोत नै छुमज्युलो थियो । गाउँमा सडक पुगेको थिएन । अहिलेको जस्तो घरआँगनमै खाद्यको चामल पुग्ने पहुँचसमेत थिएन । बजारबाट किनेर खानसमेत आर्थिक स्रोत मजबुद थिएन ।
स्थानीय ७० वर्षीय कालो महतारा भन्छन्, “करिब ३६ हेक्टरमा फैलिएको छुमज्युलोबाट उत्पादित धानबाटै वर्ष दिन पुग्थ्यो । पछिल्लो समय धान उत्पादनभन्दा युवाहरू यार्सा संकलनतिर बढी आकर्षित भएपछि जेठमा रोपाइँ छोडेर पाटन जान थाले । जसका कारण छुमज्युलोको ७० प्रतिशत भाग बाँझिँदै छ । खेती विस्तार गर्न नीतिसहित लगानी बढाउनु पर्छ भने मेला महोत्सव वर्षेनी गरिनु पर्छ ।”
त्यस्तै छुम गाउँकै ७६ वर्षका कलिमान महताराका अनुसार छुमज्युलोमा २०१२ सालबाट खेती सुरु भए पनि २०१४ सालदेखि तातोपानी–४ गिडिखोलाको बिउ ल्याएर धानखेती उत्पादन भएको हो । २०२१, ०२८ र २०३५ सालमा रोपनी दर्ता भएको थियो । कलिमानले भने, “२०३५ मा अन्तिम रोपनी दर्ता भएपछि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने क्षेत्रका रूपमा छुमचौर ज्युलो गिनिज बुकमा रेकर्ड कायम भएको हो ।
उत्पादनको प्रचुर सम्भावना हुँदा अधिकांश किसान क्षणिक लाभका लागि पाटन जाने, घेराबार नहुँदा बालीनाली असुरक्षित हुने, रैथाने बाली प्रवर्द्धनमा सरकारको सहयोग नपाउँदा धानखेती हरायो । यसलाई जोगाउन, उत्पादन बढाउन सरकारले विशेष लगानी गर्नुपर्छ ।” पतारासी–३ मा पर्ने छुमगाउँका २६० र हुरी गाउँका १०४ गरी ३६४ घरधुरीका किसानले छुमज्युलो भोगचलन गर्दै आएका छन् ।
पातारासी गाउँपालिकाले करिब ११ करोड लागतको छुमचौर ज्युलोको दिगो विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको ३ नम्बर वडाध्यक्ष गोविन्द रावत बताउँछन् । उलने भने, “डिपिआरमा छुमज्युलोमा सिँचाइ आयोजना, मन्दिर, होमस्टे २ वटा, हेलिप्याड र ४ वटा गेड निर्माण गर्ने उल्लेख छ । करिब तीन करोड बढी लगानीमा एक किमि लामो पक्की पर्खाल निर्माण हुँदैछ । यसले बाली सुरक्षित हुने आशा गरिएको छ । यद्यपि अन्य मल बिउदेखि ढुवानीमा समेत सरकारले लगानी बढाउनु पर्छ ।”
स्थानीय कालीबहादुर बोहोरा भन्छन्, “युवा सबै पाटन जान्छन् । उत्पादित मार्सीधानले २÷३ महिना पुग्दैन । पाटनको कमाईले वर्षभरि खान पुग्छ । छुमज्युलामो मार्सीखेती विस्तार गर्न, एग्रो टुरिजमका रूपमा विकास गर्न तीनै तहका सरकारले नीतिसहित लगानी बढाउन जरुरी छ ।”
खेतीविस्तार गर्न रोपाइँ महोत्सव
विश्वकै अग्लो स्थानमा जुम्ली कालिमार्सी धानको रोपाई महोत्सव सम्पन्न भएको छ । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित विश्वकै अग्लो स्थान छुमचौर ज्युलोमा रोपाइँ महोत्सव सम्पन्न भएको हो । पातारासी गाउँपालिकाको आयोजनामा आइतबार कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्मासहितको टोलीले मार्सीधान उत्पादन वृद्धि र खेती विस्तार गर्न रोपाइँ महोत्वको गरिएको हो ।
कार्यक्रममा कृषिमन्त्री शर्माले कर्णाली सरकारले कृषि र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर नीति र बजेट ल्याउने बताए । जुम्लामा भाषा, साहित्य र सभ्यतासँंगै अर्गानिक रैथानेबाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला भएको उल्लेख गरे । उनले भने, “पछिल्लो समय खेती छोडर पाटन जाने चलनले धानखेती घट्दै गएको पाइयो । हिजो यही ठाउँको उत्पादनले खाना पुगेको थियो । किन पुगेन ? पाटनको क्षणिक कमाइले मार्सीको पहिचान नै खतरामा परेको कुरा सबैले बुझ्न जरुरी छ । छुमज्युलोको पर्यटन विकासका लागि आवश्यक बजेट व्यवस्था गर्न म प्रतिबद्ध छु ।”
कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्ने २०७५ मै नीति बनिसकेकाले सोहीअनुसार अर्गानिक उत्पादनमा जोड र रासायनिक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जुम्ली कालिमार्सी धानको उत्पादन वृद्धि र खेती विस्तारका लागि प्रदेश सरकारले प्याकेजमै विशेष नीति र बजेट विनियोजन गर्नुपर्ने बताए । पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले पातारासीमा एग्रो टुरिजमको प्रचुर सम्भवाना भएर पनि नीति र लगानी अभावले ओझेलमा परेको दुःखेसो गरे ।
आर्थिक समृद्धि, रोजगारी सृजना र उत्पादन वृद्धिका अथाह सम्भावना भएर पनि लगानी अभावले अवसरमा रूपान्तरण हुन नसकेको उनको भनाइ छ । उपाध्यक्ष जनमाया रोकाया, कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारी, पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीलगायतले जुम्लाको मार्सीधानको खेती विस्तार र उत्पादन वृद्धिमा सरकारले सहुलियत दिनुका साथै बजारीकरणमा आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।