वैदेशिक रोजगारीमा ठगी दोब्बरले बढ्यो

वैदेशिक रोजगारीमा जाने युवा बढेसँगै यसको नाम हुने ठगीका घटनासमेत बढ्दै गएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्याक्तिगत ठगीको रकम दोब्बरले बढेको हो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका दाबी रकम ४४ करोड ५४ लाख रुपैयाँले बढेको छ ।
वैदेशिक रोजगार विभागमा गत वर्षको वैशाखसम्म ३१ करोड २३ लाख रुपैयाँ बराबरको व्याक्तिगत ठगीका दाबी उजुरी परेकोमा चालु आवको बैशाख महिनासम्म ७५ करोड ७८७ लाख रुपैयाँ बराबरको ठगीको उजुरी परेको छ । विभागले सबै प्रकारका गुनासो तथा उजुरी लिने र सोको अनुसन्धानमा कडाई गरेपछि ठगी रकम बढेको जनाएको छ ।
विभागका महानिर्देशक मदन दहालले वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै ठगीका घटना बढेको बताए । “वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका ठगी लगायतका विकृति घटाउन प्रभावकारी कार्यक्रम अघि बढाउने योजना रहेको बताए ।” महानिर्देशक दहालले भने, “ठगी नियन्त्रण तथा श्रम स्वीकृतिका क्रममा युवाले भोग्नु परेको सास्तीलाई अझ सहज बनाउने योजना रहेको छ ।”
कोभिड १९ संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धिसँगै ठगी उजुरीसमेत वृद्धि भएर चालु आवको बैशाखसम्म लगभग ७५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ३१ करोड रुपैयाँ थियो । कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति लिएसँगै ठगीका उजुरी समेत वृद्धि भएको विभागले जनाएको छ ।
विभागले सूचना प्रकाशित गरेर पछिल्लो समय टिकटक, फेसबुक तथा भाइवर मार्फत नेपाली युवालाई विभिन्न देशमा आर्कषण तलब सुविधा देखाई प्रलोभनमा पार्ने घटना बढ्दै गएको जनाएको छ । महानिर्देशक दहालले देशभरबाट हजारभन्दा बढी युवालाई बोलाएर पोल्याण्ड पठाई दिने भन्दा स्वीकृति बिना अन्तरवार्ता गरेको भेटिएपछि २ विदेशीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।
वैदेशिक रोजगार विभागको अनुमति बिना महँगो होटल तथा पार्टी प्यालेसमा अन्तरवार्ता लगायतका कार्यक्रम आयोजना गरी नेपाली युवा मार्फत असुली गर्ने क्रम बढेको छ । विभागले शुक्रबार काठमाडौंको मेरियट होटलमा युवा जम्मा गरी अन्तरवार्ता लिएको भन्दै पोल्यान्ड नागरिक एलेग फेडोसिक र दुवइकी नागरिक रिता फियागोसिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ ।
सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भएपनि विभागमा व्याक्तिगत उजुरी दर्ता बढेको छ । चालु आवको फागुनसम्म वैदेशिक रोजगारी पठाइदिने भन्द यो वर्ष ९२५ वटा व्यक्तिगत उजुरी परेको छ । चालु आवको ९२५ उजुरी मध्ये १३५ वटा उजुरी मिलापत्र भएर पीडितले ९ करोड ४३ लाख फिर्ता पाएको र ७७ वटा मुद्धा वैदेशिक रोजगार न्याधिकरणमा दर्ता भएका छन् ।
एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोह संक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाए पनि पैसा बुझ्ने व्यक्ति संस्थाको कर्मचारीनै नहुने गरेको विभागले जनाएको छ । श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउदै व्याक्तिगत रुपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढन थालेको विभागले जनाएको छ ।
विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्याक्तिगत प्रक्रियामा रोक लगाएको वर्षो भएपनि व्यक्तिगत ठगीमा कमी आउन सकेको छैन ।