आफैंले बनाएका संरचना बन्दैछन् आफ्नै पासो «

आफैंले बनाएका संरचना बन्दैछन् आफ्नै पासो

नेपाल विकासोन्मुख देशहरूमध्ये एउटा यस्तो मुलुक हो जहाँ प्रशस्त प्राकृतिक स्रोतसाधन छन्, तर भएका स्रोतको उचित परिचालन गर्नेे दक्ष जनशक्ति अभावले यहाँका अधिकांश स्रोत खेर गइरहेका छन् । नेपालका अधिकांश युवा स्वदेशमा भन्दा विदेशमा जाने र थोरैतिनो बचत गर्ने प्रवृत्ति रहेको देखिन्छ, तर बचतलाई कसरी लगानीमा परिणत गर्ने भन्ने कुनै नयाँ सोच बनेको देखिँदैन र गरिन्छ लगानी जग्गामा र बनाइन्छ गगनचुम्बी भवन अनि जानी–नजानी तिनै भवनले बनाउँदैछ आफ्नो पासो ।
नेपालका अधिकांश बस्ती बजारकेन्दित छन् । प्राकृतिक विपत्ति मानिसले चाहेर रोक्दा रोकिने र छेक्दा छेकिने होइन । मैैैैले गर्न र उठाउन खोजेको कुरा अस्ति मात्रको बाढीपहिरोले हजारौंलाई सुकुमवासी, दर्जनौं नागरिक बेपत्ता र कति जनाको अकालमा निधनको सन्दर्भ केन्द्रित गर्दैछु कि हामी मानिसले नै गर्दा आज राजधानीलगायत तराईका समथर भूभाग, पहाडका चुरे वनजंगल अतिक्रमण गरी भिरालो जमिनमा खेती गर्ने परम्परा रहेकाले पहाडी क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ भने तराईमा तिनै पहाडबाट आउने खहरे, नदीनालामा आउने बढीले वर्षादको समयमा सदिऔँदेखि पीडित बन्दै गएका छन् । वर्षाले तराईको भूभाग त्यसमा पनि सहरबजार बढी डुबानको चपेटामा परेका छन् । सहरबजार बढी डुवान हुनुमा त्यस क्षेत्र भएर बग्ने नदीनालालाई बाँध बाँधेर अव्यवस्थित बस्ती बसालियो र खोला, नदीको भाग साँघुरो बनाउँदै लगियो । फलस्वरूप हामी सधैंभरि वर्षायाममा बर्सेनि डुबिरहेका छौँ ।
खोलानालालाई साँघुरो बनाउँदै बस्ती बसाल्छौं अनि बाढी आएका बेला टाउकोमा हात लगाएर बस्नुको विकल्प हुँदैन । अबउप्रान्त सबै नागरिकले जग्गा–जमिन किनेर घर निर्माण गर्दा, ठूला–ठूला भवन निर्माण गर्दा विचार पु-याउन जरुरी देखिन्छ । यस्ता गल्तीको परिणाम हामीले अकाल मृत्युलाई अँगाल्नुपर्छ ।
२०७२ साल वैशाख १२ गते गएको भूकम्पलाई पनि यस सन्दर्भमा जोडौं कि यस्तो खाले विपत्तिले पनि हजारौ मानिसलाई विस्थापित बनायो, हजारौं मानिसलाई टुहुरो बनायो त कतिको घरलाई माटोमा परिणत गरिदियो र पनि हामी मानिसहरू सचेत भएका छैनौं । यस्ता प्राकृतिक विपत्ति हामीले चाहेको बेला आउने र नचाहेको बेला नआउने होइन । यस्ता विपत्तिमा सामना गर्नुपर्ने पूर्वतयारी नितान्त आवश्यक छ ।
सरकार पक्षले प्रभावकारी अनुगमन गरिदेओस् कि भवन निर्माण कसरी भइरहेको छ, नदी–किनारामा नदी अतिक्रमण भएर पो बस्ती बनिरहेको छ कि ? नदीको वास्तविक क्षेत्र कति हो, यसमा ध्यान जान सके आज डुबानको समस्या आउने थिएन । यहाँ थोरै मानिसको स्वार्थ हेरेर नियम बनाइन्छ र त्यस्ता नियमले हजारौंलाई विपत्तिमा पारिदिन्छ । उदाहरण लिऊँ, भक्तपुरका राधेराधे, ठिमी, सल्लाघारी क्षेत्र वर्षादको समयमा डुबान हुन्छ, किनभने त्यस क्षेत्रमा सहरी आवास कम्पनीको हाबी भयो र हनुमन्ते खोलालाई साँघुरो बनाई प्लटिङ गरियो । त्यस क्षेत्रमा बस्ती बनाइयो, जसले गर्दा वर्षातको समयमा त्यो क्षेत्र जहिल्यै डुबान हुन्छ ।
यस्ता प्राकृतिक प्रकोपका लागि सरकारले त्यस्ता ठाउँहरू छन् जुन वर्षांैदेखि बाढीपहिरोको उच्च जोखिममा छन् त्यस्तो ठाउँको पहिचान गरी समथर भूभागमा बाँध बाँध्ने र उक्त बाँधको अवस्था के–कस्तो छ, समय–समयमा विपत्ति हुनुपूर्व नै अनुगमन गरियोस्, ताकि बर्सेनि बाढी–पहिरोमा परी दुःखद समाचार हामी कसैले सुन्न नपरोस् र अकालमा मृत्युको समाचार नबनोस् । प्राकृतिक विपत्तिमा परेका मानिसहरूलाई समयमै उद्धार गरियोस्, जसले थोरै भए पनि पीडितहरूको घाउमा मल्हम बन्न सकोस् । बाढीपहिरोलगत्तै हुन सक्ने महामारीहरूले त्यस क्षेत्रमा बसोबास गर्ने आमसर्वसाधारणको दैनिकी दिनदिनै कष्टकर बन्दै गएकाले यो बेला पार्टी, नेतृत्वभन्दा माथि रहेर एक नेपालीलाई दुःख आइलाग्दा अर्काे नेपालीले सहयात्री बनेर पीडामा मल्हम लगाउनु जरुरी छ । दैवी प्रकोप जसलाई पर्न सक्छ, त्यसैले हामी सबै नेपालीले यस अवस्थालाई पार लगाउनुपर्छ ।
सरकारमा कार्य सञ्चालन गर्ने नेतृत्वलाई पनि हामी यो विपत्तिलाई पहिलेजस्तो सामान्य र सहजता प्रदान गरिदिनहुन अनुरोध गर्छौं अनि मात्र नेतृत्वको सबैतिरबाट हाईहाई बन्न सकिन्छ कि जतिबेला जनता रोएका छन्, जनतालाई बाढीपहिरोले विस्थापित बनाएको छ, त्यतिबेला उनीहरूलाई साथ, सहयोग र आश्रय दिन सक्नुहुन्छ । राजनीति केवल राजनीति होइन, यो त विशुद्ध समाजसेवा, जनताको सेवा हो ।

प्रतिक्रिया दिनुहोस्