कच्चा दाल र तयारी दालमा कम्तीमा १० प्रतिशत भन्सार शुल्क फरक हुनुपर्छ «

कच्चा दाल र तयारी दालमा कम्तीमा १० प्रतिशत भन्सार शुल्क फरक हुनुपर्छ

नेपालको व्यापारघाटा दिनप्रतिदिन बढ्दो दरमा छ । सरकारका नीति तथा कार्यक्रमले स्वदेशी उद्योगको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापनको लक्ष्य लिए पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा सम्बद्ध उद्योगहरूले लाभ पाउन सकेका छैनन् । नेपालमा आयात प्रतिस्थापन गर्ने बालीमध्ये दालजन्य वस्तु पनि मुख्य हो । भारत, बंगलादेश र भुटानमा यसको उच्च माग छ ।

स्वदेशी खपत तथा निर्यातका लागि पनि उच्च सम्भावना भएको दाल उद्योगहरू यतिबेला सरकारको नीतिगत संरक्षणको पर्खाइमा छन् । खासगरी तयारी दाल र कच्चा पदार्थ (दालको गेडा) आयातमा लगाइएको भन्सार दर समान हुँदा आयातलाई प्रोत्साहन मिलेको छ भने स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा छन् । अगामी वर्ष २०८०÷०८१ को बजेटमा यस क्षेत्रको संवद्र्धन र संरक्षणका लागि केकस्ता सुधार आवश्यक छ भन्ने सवालमा विभिन्न दाल उद्योगीहरूसँग कारोबारले गरेको कुराकानीको सार:

प्रतिकिलो १ रुपैयाँ निर्यात कर अविलम्ब खारेज गरिनुपर्छ

सुबोधकुमार गुप्ता
अध्यक्ष, नेपाल चामल, तेल, दाल उद्योग संघ

नेपालमा उत्पादित दालले यहाँको मागलाई परिपूर्ति गर्न सक्ने क्षमता भए पनि हाल अनावश्यक रूपमा तयारी दालको आयात भइरहेको छ । कच्चा दाल र तयारी दाल दुवैको सामान भन्सार दर १० प्रतिशत रहेका कारण विदेशी तयारी दालसँग हामीले प्रतिस्पर्धा गर्न नसकेकाले दाल उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् । विगतमा बजेट वक्तव्यमा उद्योगहरूलाई दुई तहको भन्सार दर फरक गरिने कुरा भन्दै आएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन ।

केही उद्योग जस्तै चामल, दाल, तेल, चिनी, मैदा, फलाम आदि उद्योगले फरक भन्सार दरमार्फत संरक्षण पाइसकेको भएपनि दाल उद्योगहरूले वर्षाैंदेखि माग गर्दै आएको सुविधा हालसम्म प्राप्त गर्न सकेको अवस्था छैन । कच्चा दाल आयात भएमा स्वदेशी उद्योगलाई प्रोत्साहन, राजस्व वृद्धि र जिडिपीमा योगदान हुनुका साथै रोजगारी सिर्जना, आयात प्रतिस्थापनमा विशेष टेवा पुग्ने निश्चित छ । व्यापारघाटा न्यूनीकरण गर्न स्वदेशी उद्योगहरूलाई उचित सुविधा, निर्यातमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता वृद्धि तथा कच्चा दाल आयातमा सहजीकरण सरकारले गर्नुपर्छ ।

दाल उद्योगलाई आर्थिक वर्ष २०७३/०७४ को आर्थिक ऐनमार्फत कच्चा पदार्थ मुसुरो, मुगी र रहरको दाना आयातमा प्रदान गरिएको ५० प्रतिशत सुविधा हाल खोसिएको छ । यस विषयमा नेपाल सरकारका सम्बन्धित निकायमा बारम्बार पत्राचार गरी डेलिगेसन गई अनुरोध गर्दासमेत सरकारले ध्यान नदिँदा उद्योगीहरू मारमा छौँ । स्वदेशी दाल उद्योगको संरक्षणका लागि सहानुभूतिपूर्वक विचार गरी कच्चा र तयारी दाल आयातमा दुई तहको अर्थात् १० प्रतिशत भन्सार दर फरक गरी स्वदेशी दाल उद्योग संरक्षण गर्न जोडदार माग हाम्रो छ ।

सरकारले हरेक नीति तथा कार्यक्रममार्फत स्वदेशी उद्योगको उत्पादन बढाई आयात प्रतिस्थापन तथा निर्यात वृद्धिको लक्ष्य लिएको हुन्छ । तर, स्वदेशी उद्योगहरूको अवस्था के छ ? ती उद्योगले कस्तो समस्या भोगिरहेका छन् भन्ने विषयमा ध्यान दिएको छैन । समयअनुसार उपभोक्ताको टेस्ट परिवर्तन भयो तर कृषकको बीउ पुरानै छ, त्यसैले कृषकलाई बीउ, मल, सिँचाइको व्यवस्थाका साथै कृषि बीमामा ध्यान दिनुपर्छ । जबसम्म कृषकलाई निजी क्षेत्रसँग जोड्न सकिँदैन तबसम्म कृषि क्षेत्रको विकास हुन सक्दैन ।

यसका साथै विदेशी लगानीका लागि तोकिएको न्यूनतम सीमा सामान्य किराना पसल खोल्न चाहिने रकम बराबार भयो, यसले स्वदेशी उद्योगलाई संरक्षण गर्दैन । दाल उद्योग व्यावहारिक कृषिअन्तर्गत परे पनि हामीले कृषि क्षेत्रमा उपलब्ध हुने कर्जाको सुविधा पाउन सकेको छैन । यदि हामी कृषिकै उद्योग हो भने सरकारले कृषि उद्योगलाई प्रदान गर्ने सुविधा हामीले पाउनुपर्छ । यसले कष्ट अफ डुइङ घटाउन सहयोग पुग्छ । अहिले किसानले आफ्नो लागत कष्ट बजारबाट पाउन सकेको छैन । उद्योग सम्पन्न भएमा कृषकले बजार पाउँछ ।

उद्योगको अवस्था खराव हुँदा कषकले पनि उचित रेट पाउन सकेका छैनन् । भारतमा औद्योगिक विकासका लागि शतप्रतिशसम्मको अनुदान दिएका उदाहरण छन्, त्यसबाट पनि सरकारले सिक्नु जरुरी छ । भारतमा ट्याक्स होलिडे, विद्युत्मा अनुदान, लेबर सस्तो छ । नेपालमा दक्षिण एसियामै महँगो लेबर छ । आर्थिक क्रान्ति नहुनुको पछाडि मुख्य कारण यही हो । आगामी दिनमा अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्न सकौँ भन्ने हाम्रो मुख्य अभिप्रायः हो ।

विगतमा नेपालले चामल निर्यात गथ्र्याे, दालमा पनि आत्मनिर्भरतर्फ जाने अवस्थामा थियौँ । त्यसपछि सरकारका केही नीतिले सहयोग नगरेपछि उद्योगहरू धराशायी हुने अवस्था आयो । ४ प्रतिशत इन्सेन्टिभ दिने व्यवस्था किन खारेज गरियो ? व्यापारघाटा अझै बनाउन किन खोजियो ? आउने दिनमा इन्सेन्टिभ ७ प्रतिशत दिनुपर्छ, यसो भएमा कृषकको पनि स्वतः प्रवद्र्धन हुन्छ । अर्कातर्फ निर्यात बढाउन चाहेका छौँ भने प्रतिकेजी १ रुपैयाँ कर निर्यात कर किन ? यो कर अविलम्ब खारेज गरिनुपर्छ ।

बाइप्रडक्टमा पनि ५० पैसा प्रतिकिलो कर लागाउने गरिएको छ । कुनै देशमा उद्योग चल्छ भने राजस्व, रोजगारी र कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । हामीलाई कुनै पनि तयारी पोसाक चाहिएको छैन, कच्चा पदार्थ मात्रै चाहिएको छ । हामीसँग प्रोसेसिङ गर्ने उद्योग पर्याप्त छ । ठूला उद्योग ३० वटा छन् भने साना उद्योग सयौंको संख्यामा छन् । राम्रो नीति भएमा बन्द भएका उद्योग पनि सञ्चालन हुन सक्छन् ।

दाल उद्योगलाई चलाउनका लागि भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक गरिएन भने हामीले उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहँदैन । सरकारलाइ ताला चाबी बुझाउन हामी उद्योगी बाध्य हुन्छाैं । हाम्रो चाहना ताला चाबी बुझाउनुपर्ने अवस्था नआओस् र आगामी बजेटले हाम्रा मागहरू यथासम्भव समेटियोस् भन्ने हो ।

१५ अर्बको लगानी धराशायी बन्ने अवस्था आयो

राहुल अग्रवाल
निर्देशक, शिवशक्ति दाल मिल उद्योग

हाम्रो उद्योग वीरगञ्जमा अवस्थित छ । नेपालको औद्योगिक इतिहासमा दाल मिलको योगदान महत्वपूर्ण छ । नेपालमा बहुसंख्यक जनता कृषिमा आश्रित भएपनि मुसुरोको दाल, मास दाल, चनाहरू आयात हुने गरेको छ । पहिले यस्ता दाल नेपालमै उत्पादन हुने गथ्र्यो । हामीले दाल मिल लगाएर प्रशोधन गरेर ब्रान्डिङ गरेर बेच्ने गरिएको थियो, बजारमा पनि एक हिसाबले राम्रो थियो । मेरो उद्योग एक दशक पुरानो उद्योग हो ।

दाल मिलले नेपालको रोजगारी सिर्जना, राजस्व तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलका छन् । पूर्वाधार विकास, आर्थिक विकास, औद्योगिक विकास, कृषिको विकासका लागि यस्ता उद्योगको योगदान महत्वपूर्ण छ । साना, मध्यम तथा ठूला गरी करिब ३० वटा दाल उद्योग सञ्चालनमा छन् । पूर्वदेखि पश्चिमसम्म नै हाम्रा उद्योगहरू सञ्चालन छन् र विभिन्न ब्रान्डमा नेपाली उपभोक्तासमक्ष दालहरू पुर्‍याएका छन् ।

नेपालको दाल उद्योगमा करिब १५ अर्ब बराबरको लगानी रहेको छ भने ५ हजार प्रत्यक्ष र १० हजार अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । यसका साथै अन्य आर्थिक क्रियाकलापमा पनि प्रत्यक्ष वा परोक्ष रूपमा दाल मिलले महत्वपूर्ण योगदान दिएको छ । वार्षिक डेढदेखि २ लाख टन दाल आयात हुने गरेको छ । नेपालमा दाल उत्पादनको जति सम्भावना छ त्योअनुसार सरकारले नीतिगत सहजीकरण गर्न नसक्दा आयात बढ्दै जाने र आन्तिरिक उत्पादन खुम्चिने अवस्था आएको हो ।

कृषिप्रधान देश भन्छाैं तर कृषिको उत्पादन बढाउन सरकारका नीतिहरूले सहज गरेनन् । नेपालमा वार्षिक २ लाख टनको हाराहारीमा माग छ । यसका लागि भारत, अस्ट्रेलिया, बर्माबाट दाल आयात गरेर प्रोसेसिङ गर्ने गरेका छौँ । प्रोसेसिङ सिस्टम निकै लामो छ, इनपुटबाट आउटपुट बन्न झन्डै ३६ देखि ४८ घण्टासम्म लाग्छ । २ लाख टन दाल आयात गर्दा झन्डै २ अर्बबराबरको आयात ड्युटी पनि तिर्छाैं । यति ठूलो क्षेत्र हुँदाहुँदै पनि यस क्षेत्रलाई उपेक्षा गरिएको हामीलाई अनुभूति भएको छ ।

अहिले तयारी र कच्चा सामानको ड्युटीमा फरक छैन । कच्चा पदार्थ (दालको) गेडा आयात गर्दा र तयारी दाल नै आयात गर्दा पनि १० प्रतिशत नै ड्युटी छ । समान ड्युटी राख्ने हो भने यहाँ सम्पूर्ण उद्योगलाई आयात गरेर दाल बेच्न सरकारले प्रोत्साहन गरेको भन्ने हामीलाई लागेको छ । कस्ट अफ प्रडक्सन नेपालका तुलनामा अन्य देशमा सस्तो छ, उत्पादन पनि हुन्छ, यस्तो अवस्थामा हामीलाई प्रशोधन उद्योग सञ्चालन गर्न निकै कठिन भइसकेको छ । हामी धराशायी हुने अवस्था आएको छ ।

सरकारले विगत दुई वर्षदेखि बजेटमार्फत नै कच्चा र तयारी सामान आयातमा दुई तहको ड्युटी लागू गर्ने भनियो । प्रधानमन्त्रीज्यू, अर्थ तथा उद्योग मन्त्रीज्यूहरूबाट पनि हामीले आश्वासन पाएको हो । नेपाल उद्योग व्यवसाय बचाउनका लागि दुई तहको प्लेइङ फिल्ड दिने हो, ताकि सीधा तयारी भन्दा कच्चा पदार्थ नै आओस् र यहाँका उद्योगलाई सहयोग पुगोस् भन्ने नै हो । दुई वर्षदेखि नीतिगत निर्णय हुँदाहुँदै पनि दाल मिललाई उपेक्षा गरेर तयारी र कच्चा पदार्थको समान ड्युटी १० प्रतिशत लगाइएको अवस्था छ ।

हाम्रो माग नै आगामी बजेटले यो १० प्रतिशतको ड्युटीलाई दुई तहको सुविधा दिनुपर्छ । पाँच वर्षअगाडि हामीलाई यस्तो सुविधा दिएको पनि थियो । कुनै पनि उद्योगले आफ्नो नाममा आयात गरेको कच्चा पदार्थको ड्युटीमा ५० प्रतिशत छुट पनि दिएको हो । हामीले छुट माग्दैनौँ तर तयारी र कच्चा पदार्थबीचमा हुने ड्युटीलाई दुई तहको बनाइदिनुपर्‍यो ।

यदि यसो गर्न सकिएमा मात्रै नेपालमा सञ्चालित दाल प्रशोधनका लागि स्थापना भएका उद्योग बाँच्न सक्छन्, अन्यथा धराशायी हुने पक्का छ । सरकारले कच्चा पदार्थलाई १० र तयारीलाई २० प्रतिशत गर्न सक्छ । यसो गर्दा राजस्वमा पनि सरकारलाई सहज हुन्छ भने हामी उद्योगलाई पनि लेभल प्लेइङ फिल्ड हुन्छ ।

सरकारले ल्याएका नीतिको उचित कार्यान्वयन हुनपर्‍यो

ब्रिजेसकुमार अग्रवाल
सञ्चालक, दुर्गा मोर्डन दाल उद्योग, भैरहवा

मेरा उद्योगहरू भैरहवामा सञ्चालनमा छन् । दुर्गा मोर्डन दाल मिल, दुर्गा मोर्डन आयल मिल तथा शारदा जेनेरल फुड उद्योगहरू हाल सञ्चालनमा छन् । उद्योगको विकास र विस्तारका लागि सरकारले मुख्य रूपमा अभिभावकीय भूमिका खेल्नुपर्ने थियो, हामीलाई यसमा कतै त्यो अभिभावकीय दायित्व सरकारले पूर्ण रूपमा निर्वाह गर्न नसकेको हो कि जस्तो लागेको छ ।

यदि सरकारले स्वदेशी उद्योग बढाऔं, स्वदेशमै राजगारी सिर्जना गरौं भन्ने मुख्य उद्देश्य लिने हो भने स्वदेशी उद्योगलाई संरक्षणकारी नीति लिनुपर्ने थियो, तर अहिले आयातमुखी भएको पाएका छौँ । राज्यले देशमै उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिएमा चक्रीय लाभ त स्वदेशकै उद्योगी–व्यवसायी तथा सरकारलाई नै हुने हो । वर्तमान अवस्थामा हेर्ने हो भने सरकारले डकुमेन्टमा त उद्योगलाई संरक्षण गर्न खोजेको जस्तो देखिन्छ, यद्यपि कार्यान्वयन तहमा हामी निकै कमजोर छौँ ।

सरकारले ल्याएका नीतिहरू नै कार्यान्वनय हुँदैनन् भने किन नीति ल्याएर भ्रम छर्ने ? हाम्रो भनाइ सरकारले नीति ल्याउने हो भने कार्यान्वयन पनि गर्नुपर्छ । अहिले नेपालमा दाल मिलहरू निकै कठिन अवस्थामा छन्, साँच्चिकै भन्नुपर्दा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नाजुक भइसक्यो । अहिले भारतबाट मुसुरो दाल आएर ११६ रुपैयाँ प्रतिकिलो परेको छ । हाम्रो लागत १२२ देखि १२५ प्रतिकिलो छ । हामीले घाटाको व्यापार गरिरहेका छाँै, कहिलेसम्म यसरी चलाउन सकिन्छ ? यसका लागि सरकारले नेपाली दाल उद्योगलाई संरक्षण गर्नुपर्छ । २० वर्षदेखि नेपाली दाल बंगलादेश निर्यात पनि गरेका छाैं ।

केही समयअगाडि निर्यातमा ४ प्रतिशत इन्सेन्टिभ दिएको थियो, अहिले त्यो बन्द छ । अहिले सय रुपैयाँ प्रतिक्विन्टल भन्सार शुल्क लिएको छ । यदि सरकारले हामीलाई इन्सेन्टिभ दिने हो भने निर्यात गर्न सहज हुने थियो । यसबाट विदेशी मुद्रा भित्र्याउन पनि सहज हुन्थ्यो । दाल उद्योग राम्रोसँग सञ्चालन हुनु भनेको कृषक पनि लाभान्वित हुनु हो । नेपाली मुसुरोको उत्पादन बढाउन सरकारले दाल उद्योगलाई संरक्षण गर्नैपर्छ ।

प्रतिस्पर्धी वातावरणमा हालकै अवस्थामा धेरै टिक्न सकिँदैन

प्रमोदकुमार साह
आशीर्वाद दाल मिल प्रालि, वीरगन्ज

वीरगञ्जमा हामीले दाल–चामल उद्योग सञ्चालनमा ल्याएका छौँ । अहिलेको समयमा दाल उद्योगहरू सबैभन्दा समस्यामा छन् भन्ने मलाई लागेको छ । नेपालमा कृषि उत्पादन बढाउन सरकारले वार्षिक नयाँनयाँ कार्यक्रम ल्याएको हुन्छ, तर परीणाम भने खासै नतिजामुखी भएको हामीले पाएका छैनौँ । नेपालमा दाल उत्पादनका लागि अत्यधिक सम्भावना भएको देश हो, हामीकहाँ हुने मौसमले दाल उत्पादन गर्न टेवा पुग्छ । दाल उत्पादन तथा वृद्धिका लागि उद्योगीहरू मात्रै तयार भएर हुँदैन, त्यसका लागि सरकारको नीतिगत व्यवस्था सबैभन्दा महत्वपूर्ण हुन्छ ।

हामी उद्योगी–व्यवसायीले सरकारले ल्याएको नीतिभित्र र उत्पादन गर्ने र कानुनभित्र रहेर लगानी गर्ने हो । सरकारले आफ्नो देशको उद्योग संरक्षणका लागि लिने नीतिगत परिवर्तनले उत्पादन बढाउने वा आयातमा निर्भर हुने भन्ने बाटो देखाउँछ । हाम्रा नीतिहरू आयातलाई बढावा दिने खालका मात्रै भए । स्वदेशी उद्योगहरू राम्रोसँग सञ्चालन हुँदा त्यसले राजस्व, रोजगारी, उत्पादनदेखि समग्र आर्थिक गतिविधि बढाउँछ भन्ने कतै बिर्सियौँ कि ? दीर्घकालीन लाभका लागि त स्वदेशी उद्योग नै देशलाई चाहिन्छ ।

स्वदेशी उद्योग बचाउन सरकारले भन्सारमा दुई तहको दर व्यवस्था गरिनुपर्छ । अहिले त आयात गर्नेलाई सरकारले प्रवद्र्धन गरेको छ । सरकारले आयातमुखी नीति लिनु अल्पकाल तथा दीर्घकाल दुवैका लागि हानिकारक छ । हामीकहाँ उत्पादन हुन नसक्ने खालका वस्तुहरू त आयात गर्नुको विकल्प भएन, तर स्वदेशमै हुने वस्तु त्यसमा पनि कृषि उपजको बढावा दिन सरकारले नै महत्वपूर्ण भूमिका खेल्नुपर्छ । हामीले भारतजस्तो ठूलो देशसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, जहाँ कृषकदेखि उद्योगसम्म सरकारले विभिन्न खालका सुविधा उपलब्ध गराएको छ, जसका कारण कष्ट अफ डुइङ कम पर्छ ।

उनीहरूले कुनै आवश्यक सामग्री किन्नुपर्दा पनि बल्कमै किन्छ, जसले गर्दा तुलनात्मक रूपमा सस्तो पर्छ । नेपालका उद्योगलाई धेरै नै ठूलो मात्रामा कच्चा पदार्थ एकैपटक खरिद गर्न सक्दैनन् अर्थात् हाम्रो त्यो लेभलको क्षमता छैन । ‘बल्क’मा किन्नु र थोरै किन्नुमा ‘प्राइसिङ’ फरक पर्ने नै भयो । सरकारले छिमेकी मुलुकहरूले अवलम्बन गरेका नीतिहरूलाई पनि अध्ययन गर्दै स्वदेशी उद्योग संरक्षण गर्नुपर्छ ।

त्यसका लागि सरकारले आगामी वर्षको बजेट २०८०/०८१ मा कच्चा र तयारी सामानमा लाग्ने भन्सार दरमा दुई तहको फरक गरेर यहाँका उद्योगलाई सञ्चालन हुने अवसर दिनुपर्छ, अन्यथा प्रतिस्पर्धी बजारमा टिक्न सक्ने अवस्था छैन । कम्पनीसँग दुईवटा प्रशोधन युनिट छ । उक्त दुई उद्योगमध्ये मास मिलले दैनिक ३५ मेट्रिक टन मुग दाल र मास दाल प्रशोधन गर्दै आएको छ । त्यस्तै, मुसुरो मिलले दैनिक ४० मेट्रिक टन चना दाल, मुसुरो दाल र रहर दाल प्रशोधन गर्ने क्षमता छ ।

सहुलियत ब्याजदरमा उद्योगले ऋण पाएमा कस्ट अफ डुइङ घट्छ

धनञ्जयकुमार सिंह
व्यवस्थापक, महावीर ओभरसिज, वीरगन्ज

विगतमा हामीले कृषि सामग्रीहरू निर्यात गर्ने गरिएको परम्परा हो । दाल–चामल हामीले निर्यात गर्ने गरिएको थियो, यो विषयमा इतिहासका हाम्रा प्रमाणहरूले प्रस्ट रूपमा देखाएका छन् । अहिले हामीले किन आयात गर्नुपरेको छ ? त्यसका पछाडि मुख्य कारण के हो ? हामीले अन्तर्राष्ट्रिय रूपमा चिनाउँदा पनि कृषिप्रधान देश भनेर चिनाउने गरिएको छ । यद्यपि हामीले के कृषि उपज निर्यात गरेर विदेशी मुद्रा पर्याप्त मात्रा आर्जन गर्न सकियो ? यो महत्वपूर्ण कुरा हो ।

अहिले आयात गरेर ८०/९० प्रतिशत उपभोग गरिएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन दिएर अगाडि बढाउने हो भने यहाँको किसानको पनि जीविकोपार्जन हुन्छ भने उद्योग पनि सञ्चालन हुन सक्छ । अहिले नेपालका युवा पुस्ता विदेश जाने क्रम डरलाग्दो तरिकाले बढेको छ । नेपालमै रोजगारी दिने वातावरण सिर्जना कृषि क्षेत्रलाई सरकारले नीतिगत तथा व्यावहारिक दुवै रूपमा सहजीकरण गरिनुपर्छ । नेपाली उद्योगहरूलाई बढावा दिन सरकारले मौद्रिक नीतिमार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कस्ट अफ डुइङ घटाउन मद्दत गर्छ ।

यसका साथै भन्सारमा तयारी र कच्चा पदार्थमा लाग्ने दरमा दुई तह गरिनुको अर्काे विकल्प छैन । आयातित दालले बजार कब्जा गर्दा स्वदेशी उद्योगहरू अहिले टाट पल्टिने अवस्थामा छन् । उद्योगको संरक्षणका लागि ब्याजदरमा सहुलियत, भन्सारमा दुई तहको दर व्यवस्था तथा लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । अहिले नै स्वदेशी उद्योगलाई संरक्षण गर्न सकिएन भने भविष्यमा ठूलो मूल्य सरकार, निजी क्षेत्र सबैले चुकाउनुपर्छ । त्यसैले आगामी बजेटबाट सरकारले दाल उद्योग संरक्षणका लागि स्पष्ट व्यवस्था गरेर संरक्षण गर्छ र उद्योगलाई धराशायी हुनबाट बचाउँछ भन्ने हामी उद्योगीको अपेक्षा छ ।

दाल उद्योगीको लगानी जोखिममा छ

विशाल खण्डेलवाल
सञ्चालक त्रिवेणी दाल तथा तेल उद्योग
सरकारले ट्रेडिङ र इन्डस्ट्रीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । ट्रेडिङ र इन्डिस्ट्रीलाई कहिल्यै पनि एउटै बास्केटमा राख्नु हुँदैन । उद्योगहरूले देशलाई लागि पुर्‍याउने योगदान दीर्घकालीन हुन्छ भने स्वदेशी उत्पादन राष्ट्रका लागि गौरवको विषय पनि हो । यदि हामी दाल उत्पादनमा आत्मनिर्भर बन्न सकियो भने त्यसको चक्रीय प्रभाव अन्य क्षेत्रमा पनी पर्छ र अरू क्षेत्रलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्छ । दाल उद्योगी आत्मनिर्भर हुनु भनेको प्रत्यक्ष तथा परोक्ष रूपमा कृषकहरूले फाइदा पाउनु हो । कृषकहरूले काम पाउनु भनेको एकातर्फ रोजगारी सिर्जना हुन्छ भने अर्कातर्फ खेतबारी बाँझो हुनबाट जोगाउँछ । हामी उद्योगीहरूबाट ट्रेडरहरूले सामान लिने धेरै समयसम्म उधारो राखिदिने र त्यही पैसाले आयात गर्ने गरेका पनि छन् । हाम्रो लगानी पनि रिस्कमा छ, जुन हाम्रो लगानी पनि पाउन सकेको छैन ।

यदि सरकारले भन्सार शुल्कमा उद्योगलाई सहजीकरण गर्ने हो भने ट्रेडरहरूको दबदबा रहँदैन, हामीले आफ्नो उत्पादन बढाउन सक्छौँ । सरकारले दाल खेती गरेका कृषकलाई पनि प्रोत्साहन गरेर उत्पादन बढाउन टेवा देओस् भन्ने हो । हामी स्वदेशी कच्चा पदार्थ नै उपभोग गर्न पाऊँ भन्ने चाहाना हो तर पुग्दैन, आयात गर्नुको विकल्प छैन । हाम्रो उद्योगको क्षमता प्रतिदिन १ सय टनको हो तर अहिले ५० टनमा मात्रै चलेको छ । बजारमा डिमान्ड नहुँदा उद्योग पूर्ण रूपमा चल्न सकेको छैन । अहिले नोक्सानमै चलेको अवस्था छ । अहिले पनि विद्युत् अवरोध यथावत् छ अर्थात ‘ट्रिपिङ’ उच्च छ । बजेटले हाम्रा समस्याहरूलाई यथाशीघ्र सम्बोधन गरिदिनुपर्छ, अन्यथा दाल उद्योगीहरू सरकारलाई चाबी बुझाउन बाध्य हुनेछन् ।

दालको गैरकानुनी आयात रोकिनुपर्छ
रमेश मिन्ठा
सूर्य पल्सेस उद्योग, भद्रपुर
पछिल्लो समय भारतबाट दाल गैरकानुनी रूपमा आयात भइरहेको छ । सरकारले त्यस्ता गैरकानुनी रूपमा आयात भइरहेको दाललाई रोक्न सकेको अवस्था छैन । यसो हुँदा हामी जस्ता स्वदेशमा नै दाल उद्योग सञ्चालन गरेर केही गर्छौं भनेर लारिहेकाहरूलाई असर गर्छ । किनकि गैरकानुनी रूपमा नेपाल भित्रिएको दालको मूल्य सस्तो हुन्छ । किनकि भन्सार छली गरिएको हुन्छ नि त ।

त्यस्ता गैरकानुनी रूपमा भित्रिएको दालको गुणस्तर पनि व्यवस्थापन हुँदैन । कस्तो छ त त्यो दालको गुणस्तर भनेर मापन नहुँदा हाम्रा उपभोक्ता ठगिएका हुन्छन् । यसले गर्दा झन् समस्या उत्पन्न हुन्छ । तर खै त अझै सरकारले यस विषयमा गम्भीरताका साथ लिएको ? सरकारले अब गैरकानुनी रूपमा भित्रिएको दाल तत्काल कडाइका साथ प्रतिबन्ध नलगाएसम्म हामी जस्ता उद्योगका दालभन्दा भारतको दालको बिक्री बढ्नेछ । हाम्रा उद्योगहरू समस्यामा पर्छन् । अर्को पक्ष भनेको भन्सार छलीमा राज्यको करोडौं गुमिरहेको हुन्छ । गुणस्तर मापन नहुँदा उता उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन्छ । यसकारण गैरकानुनी रूपमा आयात भइरहेको दालको आयात रोकिनुपर्छ ।

नेपालमा भारतमा भन्दा दक्ष कामदार महँगो पनि छ । यसले गर्दा पनि समस्या छ । मागअनुसार आपूर्ति व्यवस्थापन भइरहेको छ । दालका विविध किसिममध्ये मुसुरोको दाल बढी बिक्री हुन्छ । भारतबाट आयात हुनेमध्ये सबैभन्दा बढी ठूलो किसिमको मुसुरोको दाल हो । अब दाल उद्योगको लगानी सुनिश्चित हुने वातावरण चाहिन्छ । यसका लागि दालको गैरकानुनी कारोबार रोकिनुपर्छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ । यसका लागि सरकारले कृषि खेती प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ । स्वदेशमा नै दाल उत्पादन गरेर दालमा आत्मनिर्भर हुन सरकारको नीति हुनुपर्छ र भएका नीतिको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ । स्वदेशी दाल उत्पादन वृद्धि गर्न समयमा नै मल, बीउबिजन कृषकसम्म पुर्‍याउने र उनीहरूको उत्पादित दालको बजार सुनिश्चिततामा ध्यान दिनुपर्छ । अनि मात्रै दाल आयातमा राज्यको करोडौं रुपैयाँ बाहिरिँदैन ।

कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशतमा ल्याउनुपर्छ
अविनाश बोहोरा
सञ्चालक, एभरेस्ट पल्सेस उद्योग, विराटनगर
दाल भनेको अत्यधिक आवश्यकताको वस्तु हो । हरेक नेपालीको भान्सामा हरेक दिन दाल चाहिन्छ । यसकारण दाल भनेको उपभोक्तालाई नभइ नहुने र नियमित उपभोग्य वस्तु हो । यसकारण दालको बिक्रीको अवस्था राम्रो नै हुन्छ ।

तर अहिले मार्केटमा आयातित दालको बढी प्रयोग हुन्छ । किनकि स्वदेशी उत्पादनले बजारको माग धान्न सक्दैन । मागअनुसारको आपूर्ति व्यवस्थापन सहज गर्नका लागि भारतबाट दाल आयात गरेर स्वदेशी उपभोक्ताको मागअनुसारको आपूर्ति व्यवस्थापन गर्न बाध्य छौं ।

स्वदेशी दाल उत्पादन कम भएका कारण आयातित कच्चा पदार्थमा नै हामी भर पर्नुपर्ने अवस्था छ । अहिले कस्तो समस्या छ भने दालको कच्चा पदार्थको आयात गर्दा पनि भन्सार शुल्क १० प्रतिशित छ । तर तयारी दालको भन्सार शुल्क पनि उस्तै छ । अनि कच्चा पदार्थ आयात गरेर बेच्दा त मूल्य पनि वृद्धि हुने भयो । हामीजस्ता उद्योगीलाई यसले निकै असर गरेको छ । हाम्रो लगानी धराशायी बन्ने अवस्था छ, जसले गर्दा उद्योग चल्न सकेको छ । कच्चा पदार्थको रूपमा आयात हुने दाल र तयारी दालको मूल्य उही भएपछि हाम्रा उद्योग कसरी चल्छ त ? नेपालमा करिब २४ वटा दाल उद्योग छन् ।

तर, तिनीहरूको लगानी धराशायी हुने अवस्था छ । कतिले उद्योग चलाउनका लागि बैंकबाट ऋण लिएका छन् । त्यो ऋण कसरी तिर्ने ? यदि उद्योगको लगानी नै धराशायी अवस्थामा पुगेपछि ? नेपाल–भारतबीचको खुला सिमनाका कारण पनि कतिपय उपभोक्ताले भारतको गएर दाल किनेर ल्याउँछन् । यसले गर्दा पनि स्वदेशी उद्योग चल्न सकेको छैन । यसलाई पनि सरकारले व्यवस्थापन गर्नुपर्छ । आगामी आर्थिक वर्षको बजेटमा दुई तहको भन्सार शुल्क दालमा लगाउनुपर्छ ।

कच्चा पदार्थलाई १ प्रतिशतमा भन्सार शुल्क झार्नुपर्छ । त्यसपछि उपभोक्ताको भन्सामा दाल सस्तोमा पुग्छ । भन्सार छुटको नीतिले दालको बजार मूल्य कम भई उपभोक्ता मारमा पर्दैनन् । यसकारण कच्चा पदार्थको भन्सार मूल्य १ प्रतिशत राखेर तयारी दालको मूल्य १० प्रतिशतमा नै कायम राख्नुपर्छ । यसो हुँदा स्वदेशी उद्योगीहरू मारमा पर्दैनन् । सरकारले दालको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।

अबको बजेटले कमसेकम दालमा आत्मनिर्भर बन्न सक्नुपर्छ
चन्द्रकृष्ण कर्माचार्य
सञ्चालक गण्डकी आयल मिल प्रालि, कास्की
दाल भनेको अत्यावश्यक चिज हो । सबैले खानुपर्छ । तर, आयात नै गर्नुपर्ने अवस्था छ । दालमा पनि आत्मनिर्भर हुन सकेनौं । न धानमा, न तेलमा, न त तोरीमा हामी आत्मनिर्भर बन्न सक्यौं । यसकारण उत्पादन वृद्धिमा हामी फोकस हुनु जरुरी छ ।
आत्मनिर्भर बन्नका लागि हामीले पहल गर्नु जरुरी छ । आत्मनिर्भर हुनुपर्छ, खाद्य संरक्षण हुनुपर्छ । हामी चामल आयात गर्छौं । तेल आयात गर्छौं । गहुँ पनि आयात हुन्छ । भारतबाट दाल पनि आयात गर्छौं । कच्चा पदार्थको रूपमा नेपालका जति पनि दाल मिलहरू छन्, संकटको अवस्थामा छन् । भारतको भरमा कच्चा पदार्थ छ ।

यो राज्यका लागि पनि खतराको संकेत हो । संकट नाकाबन्दीमा पनि परेको थियो र हामीलाई निर्भरका लागि उत्पादन गर्न सकेमा नेपाल स्वाभिमानी हुन्छौं । नदिए खाद्यान्न संकट हुन्छ । अबको बजेटले कमसेकम दालमा आत्मनिर्भर बन्न सक्नुपर्छ । चामल उत्पादन गर्नुपर्छ, प्याकेज नै ल्याउनुपर्छ । सबैमा एकैपटक सरकारले गर्न सक्दैन । अबको पाँच वर्षमा भारतसँग निर्भर हुन नपर्ने योजना नै ल्याउनुपर्छ । किसानलाई कसरी प्रोत्साहन गर्ने कसरी ? कमिसनलाई प्रोत्साहन गर्ने निजी क्षेत्रको योगदान के हुने ? तोकिनुपर्छ । यस्तो किसिमको बजेट आउनुपर्छ । आत्मनिर्भर भएको उद्योगमा करोडौं लगानी गर्ने अवस्था छ । नेपालमा नै दाल उतपादन हुने भए यो समस्या नै हुने थिएन । उद्योगीले नै ल्याउने भए । त्यसरी बन्द हुने अवस्था छ यो कच्चा पदार्थ र अर्को तयारी अवस्था आउने भयो ।

प्रतिक्रिया दिनुहोस्