जुम्ला विमानस्थल विस्तार हुने

विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो ।
अहिलेसम्म डिपिआरअनुसार नत काम अघि बढ्यो नत प्राधिकरणले नै ध्यान दियो । यद्यपि विमानस्थल विस्तारको विषय जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने २०६४ देखि यताका हरेक सांसद र दलको चुनावी एजेण्डा बन्दै आएको छ । डेढ दशकदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि बल्ल सरकारले कर्णालीको गुहार सुनेको छ । भरपर्दो सडक यातायात नभएको कर्णालीमा हवाई सेवा पनि आम नागरिकको पहुँच छैन ।
हवाई सेवा सहज बनाउन विमानस्थल विस्तार हुनुपर्ने र ठूला जहाज ल्याउनु पर्ने जुम्ली नागरिकको माग वर्षौंदेखि हो । तर सरकारले ढिलै भए पनि जुम्ला विमानस्थल विस्तार गर्न आवश्यक जग्गा प्राप्तिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जुम्ला विमानस्थलको धावनमार्ग विस्तार र टर्मिनल भवन निर्माणका लागि आवश्यक पर्ने १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
२०५५ साल पुसबाट सञ्चानमा आएको जुम्ला विमानस्थलको धावनमार्ग हाल ६७० मिटर लामो २० मिटर चौडाइ छ भने १८ सिटे जहाजले उडान भरिरहेका छन् । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी भन्छन्, “एयरपोर्ट विस्तारका लागि जग्गा प्राप्ति गर्ने सरकारले निर्णय गर्नु स्वागतयोग्य छ । तर कार्यान्वयनमा चुनौती । मुआब्जा दिने नदिने, दिएपछि कति दिने ? कति बजेट लाग्नेलगायतका विषयमा समितिमै मुआब्जाको तयारी हुनुपर्छ ।”
करिब साढे तीन वर्ष पहिला भएको डिपिआरअनुसार ६७० मिटर लामो धावनमार्गको पूर्वतर्फ थप २९० मिटर र पश्चिमतर्फ ८५ मिटर रन्वे विस्तार गर्नुपर्ने उल्लेख छ । करिब एक किलोमिटर लामो धावनमार्ग भए जुम्ला विमानस्थलमा ४२ सिटे जहाज अवतरण गर्न सकिने अधिकारीले जानकारी दिए ।
विस्तारको जस लिन होडबाजी
वर्षौंपछि जुम्ला विमानस्थल विस्तारमा नेपाल सरकारले चासो दिएपछि जुम्लाबासी उत्साहित भएका छन् । पहुँचका भरमा मात्रै पाइने हवाई टिकटको अन्त्य हुने र आमनागरिक हवाई सेवा पहुँचमा पुग्ने भन्दै उत्साहित भएका हुन् । यद्यपि जुम्ली सांसदबीच जुम्ला विमानस्थल विस्तारको जस लिने होडबाजी चलेको छ । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ज्ञानबहादुर शाही (राप्रपा), छिरिङ ल्यामु लामा (माओवादी), कान्तिका सेजुवाल (कांग्रेस) र वृन्दा कठायत नेतृत्व (रास्वपा) का सांसदबीच विमानस्थल विस्तारको जस लिने होडबाजी चलेको हो ।
सरकारले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा प्राप्तिका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै राप्रपा, माओवादी र कांग्रेसका सांसददेखि नेता कार्यकर्ताले आफ्ना पार्टीका सांसदका कारण मात्रै विमानस्थल विस्तार हुन थालेको भन्दै सामाजिक सञ्जालमा प्रचार गर्दै दाबी गरेका छन् । जुम्लाको विकासमा चारै सांसदको एक छाैं, एकताबद्ध छाैं, भनेका सांसदहरू र तीनका दलले विमानस्थल विस्तारको जस लिनका लागि गरेको होडबाजीलाई देख्दा अचम्म लागेको नागरिक अगुवा राजबहादुर महत बताउँछन् ।
उनी भन्छन्, “सामाजिक सञ्जालमा सबै दलका कार्यकर्ताले आफ्ना सांसदले मन्त्रालयमा दिएको मागपत्र हाल्दै बधाई दिएका छन् । पहल विगतदेखि हालसम्मका सबै सांसदको पहल छ । विस्तार हुनु खुसीको कुरा हो । जस लिन भएको होडबाजीले विकासभन्दा राजनीतीकरण बढी भएको देखाउँछ ।” सामाजिक सञ्जालमा भएको जस लिने होडबाजीले कसको पहलले विमानस्थल विस्तार हुने भयो भन्ने टुंगो छैन । यद्यपि कुनै एक सांसदको बढी पहल थियो भन्दा अर्काे सांसदले स्वीकार गर्ने स्थितिसमेत नरहेको नागरिक अगुवा महतले उल्लेख गरे ।
कुनै पनि विकासमा सामूहिक भावना, एकता नभएसम्म भविष्यमा विकासभन्दा राजनीतीकरण मौलाउने स्थिति देखिन्छ । जुम्ला विमानस्थल समयमै विस्तार हुनुपर्छ । विगतमा जसले पहल गरे पनि अब विमानस्थल विस्तार भएको खण्डमा जुम्ली नागरिकले वर्तमान सांसदको योगदानको कदर इतिहासले गर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाइ छ ।