वैदेशिक रोजगारी पीडितलाई २ करोड ७१ लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिवापतको रकम पाएका छन् ।
वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा दुई करोड ७१ लाख ९५ हजार ५९१ रुपैयाँ क्षतिपूर्तिवापत प्राप्त गरेका हुन् । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगिएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिवापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिइन् ।
व्यास नगरपालिकाका २३ जनालाई ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई ९१ लाख ६० हजार ५९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
देवघाट गाउँपालिकाका चार जनालाई तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा ११९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिइन् ।
उनका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगिका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका नौ र अन्य नौ छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगिका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगिका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् । म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगिका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् ।
भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगिका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगिका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् । घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगिका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगिका रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए । “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सक्यौ,” रानाले भनिन् । सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताए ।
वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन वि.सं २०७६ मंसिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत् विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ ।
त्यस्तै विदेशबाट फर्किएकाहरुलाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ । नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिए ।