सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान हुने

इलाममा निर्माणाधिन बिमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।
सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य भइरहेको भन्दै उनले लेभल परीक्षण गरेपछि चैत महीनासम्ममा परीक्षण उडान गरिने जानकारी दिए ।
विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने भएको हो । उनले भने, “बिमान उड्नका लागि ९० प्रतिशत काम सम्पन्न भइसक्यो, पिच गर्ने र अन्य धेरै काम भने बाँकी नै छन् ।”
७ सय मिटर लम्बाइ र अधिकतम ६० मीटर चौडाइको धावन मार्ग यो वर्ष १ करोड १५ लाखमा ठेक्का लागेको थियो । माइखोलासम्म नै ढल व्यवस्थापन कार्य ८ करोड रुपैयाँमा भइरहेको उनले बताए ।
माइखोलादेखि पहिरोको जोखिम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भए पनि जोखिम रहेको स्थानमा जेठ महिनासम्ममा काम अगाडि बढाइने बताइएको छ ।
यसअघि सुरुमा ७ करोड लागतमा धावन मार्ग विस्तार कार्य सम्पन्न भएको थियो भने ढल व्यवस्थापन र एक्सेस रोडको काम भएको समेत थियो ।
यो वर्ष परीक्षण उडान पछि रनवे र टर्मिनल भवन निर्माण थालिने इन्जिनियर न्यौपानेले जानकारी दिए । टर्मिनल भवनका लागि डिजाइन सुरु गरिएको जनाइएको छ ।
उनका अनुसार धावनमार्ग कालोपत्रको प्रक्रिया छिट्टै अगाडि बढाइनेछ ।
३ सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण कार्य भएको थियो ।
यो विमान स्थल निर्माण भएपश्चात पूर्वी पहाडी भेगका स्थानीयलाई सहज हुनेछ ।