बागमती प्रदेशस्तरीय खेलकुद हुँदै «

बागमती प्रदेशस्तरीय खेलकुद हुँदै

दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद आगामी जेठ ७ गतेबाट सुरु हुने भएको छ । जेठ १३ गतेसम्म हुने खेलकुद प्रतियोगितामा विभिन्न ७९४ वटा पदकका लागि १३ विधाका खेलहरु तय गरिएको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताअन्तर्गत हेटौंडा, काठमाडौं, चितवन र ललितपुरमा विभिन्न खेलका प्रतिष्पर्धा हुनेछन् । परिषद्ले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा २ हजार पाँच सय २ जना खेलाडीले १३ विधाका खेलकुद प्रतियोगितामा भाग लिने जानकारी दिएको छ ।

खेलकुदअन्तर्गत फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्बी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो प्रतियोगिता हुनेछ । खेलकुदमा २१९ वटा स्वर्ण पदक, २१९ वटा रजत पदक र ३ सय ५६ वटा कास्य पदकका लागि प्रतिष्पर्धा हुनेछ । हरेक प्रतियोगिताको प्रथम हुने समूह वा खेलाडीलाई जनही ५ हजार, द्वितीयलाई जनही ४ हजार र तृतीयलाई जनही ३ हजारका दरले पुरस्कार प्रदान गरिने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

प्रदेशमा खेल प्रतिभाको खोजी गर्नुका साथै खेलप्रति खेलाडी र अभिभावकको आकर्षण वृद्धिलगायत उद्देश्यका साथ सुरु हुन लागेको प्रदेश खेलकुद प्रतियोगिताको जेठ ७ गते उद्घाटन हुनेछ भने ८ गतेबाट खेल सुरु हुनेछ । जेठ ८ देखि १० गतेसम्म गौरीटार रंगशालामा महिला फुटबलको आयोजना हुनेछ भने पिप्ले क्याम्पा रंगशालामा ८ देखि १३ गतेसम्म फुटबल प्रतियोगिता हुनेछ ।

सोही रंगशालामा ८ देखि १० गतेसम्म एथ्लेटिक्स प्रतियोगिता तय गरिएको छ भने हेटौंडाको हुप्रचौरमा ८ देखि १० गते नै महिला तथा पुरुष भलिबल हुनेछ । जेठ ८ देखि १० गते नै हुप्रचौरमा रग्बी, कराते, तेक्वान्दो र आइटिएफ तेक्वान्दो प्रतियोगिता हुनेछ भने हेटौंडा कभर्डहलमामा ८ देखि १३ गतेसम्म बक्सिङको प्रतिष्पर्धा हुनेछ । थानाभर्याङमा ब्याडमिन्टन प्रतियोगिता हुनेछ भने उसु र जुडोको प्रतिष्पर्धा काठमाडौंमा हुनेछ ।

ललितपुरमा पौडी प्रतियोगिता तय गरिएको छ भने चितवनमा महिला तथा पूरुष क्रिकेट प्रतियोगिता तय गरिएको परिषद्का सदस्य सचिव भण्डारीले बताए । प्रतियोगिता उद्घाटन गर्न करिब साढे ९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्