एमसीसी र एसपीपी पासपछि अमेरिकी सेनाको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार ३१ औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको बताए ।
उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताए ।
नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताए । उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने बताए । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्याउन आग्रह गरे ।
उनले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिए । नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताए । उनले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप लगाए ।