Logo

अवैध रुपमा सिमकार्ड वितरण

दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको छ ।

इपीएस कोरिया शाखा ग्वार्को, ललितपुरको कार्यालय परिसर वरपर दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको बुझिएको छ भने रिचार्ज गर्ने नाममा प्रति व्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरिएको छ ।

अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि इपीएस शाखाले उक्त कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धीत निकायलाई ताकेता नै गरेको छ । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए ।

उनले उक्त कार्य नरोकिए पछि पुनः बैशाख ३१ गते दोस्रो पटक पत्र काटी ताकेता गरिएको बताए । ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टीङ्ग लगायतका कार्यहरु बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगि गर्ने गरेको जानकारी आएको भन्दै उक्त कार्य रोक्न पनि सम्बन्धीत निकायलाई अनुरोध गरिएको समेत जानकारी दिए ।

ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरुको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरु गर्दा उपोभोक्तलाई ठगि गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिब ५ महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएका छन् । हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्