Logo

फाइभजीतर्फ मुखरित दूरसञ्चार यात्रा

सेलुलर मोबाइल प्रविधिको विकासलाई पुस्ताको रूपमा लिइन्छ । सन् १९४० को पूर्वाद्र्धमा मोटरल्ला कम्पनीले वाकीटाकी प्रविधि विकास गरेको थियो । यो आफैंमा शून्यजी पुस्ताको मोबाइल थियो । सन् १९४०–१९८० को अवधिमा विश्वमा मोबाइल प्रविधिले खासै छलाङ मार्न सकेन । त्यसैले सन् १९४०–१९८० को अवधिलाई शून्यजी (जिरोजी) अवधि मानिन्छ । सन् १९८० पश्चात् भने औसत १० वर्षको अन्तरालमा मोबाइल प्रविधिमा युटर्न आएको देखिन्छ ।

शून्यजी नाममात्रको मोबाइल टेक्नोलोजी थियो, जसका कारण वैज्ञानिकहरू पहिलो पुस्ताको वायरलेस टेक्नोलोजी (वानजी) को खोजमा जुटे । पहिलो पटक वानजी टेक्नोलोजी सन् १९७९ मा जापानी कम्पनी निप्पन टेलिग्राफ एन्ड टेलिफोन (एनटीटी) ले टोकियो नगरमा प्रारम्भ गरियो । यसको पाँच वर्षभित्र जापानभर वानजी प्रविधिमा आधारित मोबाइल वितरण भयो । सन् १९८१ मा डेनमार्क, फिनल्यान्ड र स्वीडेनमा समेत वानजी मोबाइल सुरुवात भयो । अमेरिकाले सन् १९८३ मा सिकागो सहरमा वानजी प्रविधिमा आधारित मोबाइल लन्च गर्यो । सन् १९८५ ताका बेलायत, मेक्सिको तथा क्यानडाले समेत वानजी प्रविधिमा आधारित मोबाइल सेवा सुरु गरे । यसरी सन् १९८०–१९९० को अवधिमा विश्वका अन्य मुलुकहरूमा समेत पहिलो पुस्ताको वायरलेस टेक्नोलोजी विस्तार हुन पुग्यो ।

वानजी आफैंमा एनालग रेडियो सिग्नलमा आधारित प्रविधि थियो, जुन ८/९ सय मेगाहर्ज फ्रिक्वेन्सीमा चल्थ्यो । डाटा सुविधा उपलब्ध नहुनु, आवाजको गुणस्तर कमजोर हुनु, ब्याट्री कम खप्नु, कम तौलको सेलफोन विकास नभइसकेकाले ठूलो आकारको सेलफोन प्रयोग गर्नुपर्ने बाध्यता रहनु, पीएसटीएन नेटवर्कमा आधारित रहनु, डाटा स्पिड २ केबीपीएसभन्दा अधिक नहुनु वानजी टेक्नोलोजीका सीमितताहरू थिए । सोही कारण वानजी टेक्नोलोजीमा अपग्रेडेसन अपरिहार्य ठानियो । तथापि, यो नै पहिलो वायरलेस कम्युनिकेसन थियो ।

वानजी मोबाइल प्रविधिमा तमाम कमी–कमजोरी रहेका कारण वैज्ञानिकहरू वानजीको अपग्रेडेसनमा जुटे । सन् १९९० को प्रारम्भमा दोस्रो पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात टुजी जन्मन पुग्यो । टुजी टेक्नोलोजीको सुरुवात फिन्ल्यान्डमा सन् १९९१ जुलाई १ मा भएको थियो । पहिलो जीएसएम अपरेटर रेडियोजिन्जाले टुजीको प्ररम्भ गरेको थियो । डिजिटल वायरलेस नेटवर्कमा आधारित टुजी प्रविधिमा भ्वाइस कल, एसएमएस (टेक्स्ट मेसेज) र डाटा सुविधा उपलब्ध छ । ६४ केबीपीएस डाटा स्पिड भएको टुजी टाइम डिभिजन मल्टिपल एक्सेस (टीडीएमए) प्रविधिमा आधारित पुस्ता हो । टुजीका निमित्त सेलुलर प्रविधिका लागि ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सी र सीडीएमए प्रविधिका लागि ८२५–८४९ मेगाहर्ज फिक्वेन्सी कम्प्याटेबल रहन्छ । यसरी सन् १९९०–२००० टुजीको अवधि रह्यो ।

टुजीपश्चात् सन् २००० मा सेकेन्ड एन्ड हाफ जेनेरेसन (२.५ जी) अगाडि सारियो, जुन टुजीकै विकसित रूप थियो । सेकेन्ड एन्ड हाफ जेनेरेसनकै कारण जीपीआरएस (जनरल पकेट रेडियो सिस्टम) प्रादुर्भाव भयो । सेकेन्ड एन्ड हाफ जेनेरेसन ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सीमा कम्प्याटेबल टेक्नोलोजी हो, जहाँ उपभोक्ताले इमेल, वेब ब्राउजिङ, क्यामेरा फोन, मोबाइल गेम, डाइरेक्ट रिसर्च, एसएमएसजस्ता सुविधाहरू उपलब्ध छन् । तथापि, दूरसञ्चार फाँटमा थ्रीजी तथा फोरजी प्रविधि विकास भइसकेका कारण टुजी टेक्नोलोजी फेजआउट हुँदो छ । अमेरिकी कम्पनी एटी एन्ड टीले सन् २०१७ मा र अर्को कम्पनी भर्जनले २०१९ बन्द गरिसकेका छन् । जहाँ भारतीय दूरसञ्चार कम्पनी एयरटेलले सन् २०१९ मा र बेलायती कम्पनी टी मोबाइलले सन् २०२० मा टुजी फेज आउट गरेका हुन् ।

सेकेन्ड एन्ड हाफ जेनेरेसनपश्चात् सन् २००३ मा २.७५ जी अगाडि सारियो, जुन एज (इन्हान्स डाटा रेट फर जीएसएम इभुलोसन) नामबाट पनि चिनिन्छ । जुन टुजी तथा टु एन्ड हाफजीको अपग्रेडेसन र थ्रीजीको प्रारूपको रूपमा अगाडि सारिएको हो । ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सी २.७५ जीका लागि कम्प्याटेबल हुन्छ भने २.७५ जीअन्तर्गत औसत १२८ केबीपीएस स्पिडमा डाटा तथा इन्फरमेसन ट्रान्समिट गर्न सकिन्छ । यसैकारण उपभोक्तामा मोबाइल इन्टरनेटको आदत विकास हुुन पुग्यो ।

टुजी, सेकेन्ड एन्ड हाफजी, २.७५ जी टेक्नोलोजीमा भिडियो कल, लाइभ टिभीलगायतका सुविधा उपलब्ध नहुँदा तेस्रो पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात् थ्रीजीको खोजमा वैज्ञानिकहरू जुट्नु स्वाभाविकै थियो । यसै क्रममा पहिलो पटक व्यावसायिक रूपमा जापानी कम्पनी एटीटी डोकोमोले सन २००१ अक्टुबर १ मा थ्रीजी सुरुवात गर्यो । नर्भेजियन कम्पनी टेलिनोरले सोही वर्ष डिसेम्बरमा थ्रीजी सुरुवात गरेको थियो । डिजिटल ब्रोडब्यान्ड मानिने थ्रीजीमा भ्वाइस कल सुविधाका अतिरिक्त भिडियो कल, लाइभ टिभी, मोबाइल टिभी, लाइभ भिडियो तथा एचडी भिडियोको सुविधा उपलब्ध रहन्छ । थ्रीजीअन्तर्गत ३.६ देखि २१ एमबीपीएस स्पिडमा डाटा चलाउन सकिन्छ । डब्लू सीडीएमए (वाइड ब्यान्ड कोड डिभिजन मल्टिपल एक्सेस) तेस्रो पुस्ताकै प्रविधि मानिन्छ ।

जहाँ सम्म छिमेकी मुलुकमा थ्रीजी टेक्नोलोजी अवलम्बनको सवाल छ, चिनियाँ कम्पनी चाइना टेलिकम, चाइना युनिकम र चाइना मोबाइलले २००८ मा र भारतीय कम्पनी महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) ले सन् २००८ मा र भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) ले सन् २००९ मा थ्रीजी सेवा सुरु गरेका हुन् । २००७ मा थ्रीजी सुरु गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दक्षिण एसियामै सबैभन्दा पहिले थ्रीजी सेवा सुरु गर्ने कम्पनी बन्न पुगेको थियो । तत्पश्चात् अर्को सेवाप्रदायक ऐनसेल प्रा.लि. पनि थ्रीजी सेवा पस्किन पछि परेन । त्यस्तै सन् २००३ मा भ्वाइस, डाटा, भिडियो र मल्टिमिडिया कम्प्याटेबल हुने गरी थ्रीजीको अपग्रेडेड भर्सनको रूपमा ३.५ जी तथा ३.७५ जी पस्कने कार्य भयो । यसरी सन् २०००–२०१० थ्रीजी अवधि रह्यो ।

थ्रीजी टेक्नोलोजीमा डाटा स्पिडको सीमितता हुनुको कारण वैज्ञानिकहरू चौथो पुस्ताको मोबाइल प्रविधिको खोजमा जुट्नु स्वाभाविकै थियो । यसै क्रममा टेलिया सोनेराद्वारा पहिलो पटक सन् २००९ डिसेम्बर १४ मा स्वीडेन र नर्वेमा एकैसाथ फोरजी सुरुवात गरिएको थियो । लङ टर्म इभोलोसुनको नामबाट समेत चिनिने, १० देखि ५० मेगाबाइट प्रतिसेकेन्ड स्पिडमा इन्टरनेट चलाउन सकिने यो अहिलेसम्मकै दु्रत गतिको इन्टरनेट हो ।

आईपी टेलिफोनी, रोमिङ सर्भिस, हाई डेफिनेसन भिडियो कल, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फ्रेन्सिङ, थ्रीडी टेलिभिजन, लाइभ टिभी, क्लाउड कम्प्युटरिङ, कस्टमाइज पर्सनल सर्भिसेज फोरजीका मुख्य विशेषता हुन् । सेलुलर मोबाइलको फाँटमा २०१०–२० फोरजी अवधि मानिएको छ । नेपालमा २०१७ जनवरी १ मा नेपाल टेलिकम, २०१७ मे ३ मा ऐनसेल र २०१७ अगस्ट १३ स्मार्ट टेलिकमले फोरजीको सुरुवात गरेका हुन् ।

थ्रीजी तथा फोरजी प्रविधिमा सफलता प्राप्त गरेका आईटी क्षेत्रका वैज्ञानिक त्योभन्दा दु्रत गतिको इन्टरनेट टेक्नोलोजीको खोजीमा जुट्नु स्वाभाविकै थियो । यसै क्रममा पाँचौं पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात् फाइभजी २०१९ देखि विश्वमा विधिवत् रूपमा सुरु भई हाल ७२ मुलुकमा विस्तार भइसकेको छ ।

फाइभजी टेक्नोलोजी स्पिड, रिलायबेलिटी, पावरकन्जुम, डिभाइस युटिलिटीका हिसाबले निकै अब्बल छ । आईटी वैज्ञानिकहरूले फाइभजी टेक्नोलोेजीलाई फोरजीभन्दा निकै एड्भान्स प्रविधिको रूपमा पस्किएका छन् । अहिलेसम्मको अनुभवले देखाएअनुसार फाइभजी टेक्नोलोजीमा १ हजारभन्दा बढी एप्लिकेसन चलाउन सकिन्छ । डाटा स्पिड फोरजीभन्दा १ सय गुना बढी छ, जुन २ देखि २० गिगाबाइट प्रतिसेकन्ड हो । एउटा मुभी थ्रीजी प्रविधिमा २६ घण्टा, फोरजी प्रविधिमा ६ मिनेट लाग्ने गरेकोमा फाइभजी प्रविधिमा ०.३७ सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । फोरजीभन्दा १० गुना कम ऊर्जाबाट काम चलाउन सकिएको छ । सोलार ऊर्जा उपयोग गर्न सकस पर्दैन ।

यसको अर्थ रिस्पोन्स टाइम फोरजीको तुलनमा निकै शीघ्र रहेको छ भन्ने नै हो । मोबाइलमा कनेक्टको समस्या निरुपण भएको छ । भाषागत अस्पष्टता अर्थात् आवाज बुझ्न नसकिने समस्याबाट उपभोक्ताले मुक्ति पाएका छन् । हाई डेफिनेसन क्वालिटीमा भिडियो हेर्न सकिन्छ । फाइभजीको बेस स्टेसन आकार टुजी–थ्रीजीभन्दा अपेक्षाकृत सानो हुने हुँदा बेस स्टेसन इन्स्टलेसनबापतको खर्च कटौतीमा सघाउ मिलेको छ । सारमा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्सी, डिजिटल इकोनोमी र इन्टरनेट अफ थिंग्स (आईओटी) को दायरा विगतको भन्दा निकै फराकिलो भएको छ ।

फाइभजी टेक्नोलोजी अहिलेकै सिमकार्ड, अप्टिकल र बेस स्टेसनमा सुचारु गर्न सकिन्छ । मात्र टावर मोडिफिकेसन गरे पुग्छ । तथापि, सुपर हाई फ्रिक्वेन्सी प्रयोग गर्नुपर्ने, नयाँ उपकरण लगाउनुपर्ने, नयाँ ब्यान्डविथ खरिद गर्नुपर्ने हुँदा सुरुमा फाइभजी टेक्नोलोजी स्वाभाविक रूपमै महँगो पर्छ ।

दक्षिण कोरिया फाइभजी लन्च गर्ने पहिलो मुलुक हो भने अहिलेसम्ममा जर्मनी, हंगेरी, इटलीलगायत युरोपका १७ मुलुक; अमेरिका तथा उरुग्वेलगायत उत्तर तथा दक्षिण अमेरिकाका चार मुलुक; बहराइन, कुवेत, कतार, साउदी अरेबियालगायत मध्यपूर्वका आठ मुलुक र चीन, माल्दिभ्स, अस्टेलिया, दक्षिण कोरियालगायत पाँच एसियाली तथा ओसेनियासहित २०२२ जुनसम्ममा विश्वका ७२ मुलुकका १ हजार ९ सय ४७ वटा सहरमा विस्तार भइसकेको छ । जहाँ सन् २०२०–२०३० लाई फाइभजी अवधिको रूपमा लिइएको छ, जहाँ २०२५ सम्ममा १ अर्ब ७० करोड फाइभजीका सब्सक्राइबर पुग्ने अनुमान गरिएको छ ।

पहुँचका हिसाबले चीन, दक्षिण कोरिया, अमेरिका, स्पेन, बेलायत, क्यानडा, अस्ट्रेलिया, साउदी अरेबिया, इटली तथा फिनल्यान्ड फाइभजी प्रवधिमा हाल अग्रपंक्तिमा रहेका छन् । हाम्रो हकमा, नेपालमा अझै बजार तयार भइसकेको भने छैन । जहाँ रेडियो फिक्वेन्सी निर्धारण समितिले एक वर्षअघि नै दूरसञ्चार कम्पनी लिमिटेडलाई एक वर्षका लागि निःशुल्क फाइभजी परीक्षण गर्न दिने निर्णय गरेकोमा हासम्म परीक्षण गरिएको छैन ।

सन् २०१९ देखि फाइभजी सेवा पस्कन लागिपरेको भारतले २०२२ मै लन्च गर्ने बताए तापनि हालसम्म सुरु गरेको छैन । जहाँ बीएसएनएल, एयरसेल तथा रिलायन्स जियो फाइभजीको स्प्रेक्ट्रम प्राप्त गर्न लागिपरेका छन् । रिलायन्स जियोले फाइभजी सञ्चालनका लागि टावर तम्तयार पारेको छ । तथापि फाइभजीको प्राइस प्लान अझै खुलासा भएको छैन । प्रतिस्पर्धामा जिओ जुटिरहेकाले फाइभजी पनि सर्वसुलभ मूल्यमा उपलब्ध हुने आकलन गरिएको छ ।

सन् २०१९ मै फाइभजी सेवा पस्किएको चीनमा जेटीई तथा हुवावे फाइभजी कम्प्याटेबल उपकरण निर्माण तथा बिक्री–वितरणमा जुटिरहेका छन् । एटी एन्ड टी, जेटीई, भर्जन, स्प्रिन्टजस्ता अमेरिकी कम्पनीहरू पनि फाइभजी प्रविधिका सामान उत्पादन तथा बिक्रीमा जुटेका छन् । त्यस्तै सामसुङ, एप्पल, भिभो, साउमीलगायतका मोबाइल सेट निर्माता कम्पनीहरू पनि फाइभजी कम्प्याटेबल ह्यान्डसेट निर्माणमा लागिपरेका छन्, जहाँ सामसुङ अलक्स फाइभजी कम्प्याटेबल रहेको छ । त्यस्तै २०३०–४० लाई सिक्सजी र २०४०–५० लाई सेभेनजीको अवधि आकलन गरिएको छ । तथापि सिक्सजी र सेभेनजीको के–कस्तो विशेषता रहनेछ भन्ने कुरा अहिले नै सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्