प्रतिभासँगै बढ्दो पुँजी पलायन «

प्रतिभासँगै बढ्दो पुँजी पलायन

प्रतिभाशाली हुँदाहुँदै पनि आर्थिक दृष्टिकोणले विदेशी विश्वविद्यालयमा अध्ययनको अवसर पाउनु नेपाली विद्यार्थीका लागि त्यति सहज छैन । यसो हुँदा विगतमा विभिन्न किसिमका छात्रवृत्ति पाएर सीमित संख्यामा प्रतिभाशाली नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जान्थे । अहिले पनि पूर्ण अथवा आंशिक छात्रवृत्तिको अवसरमा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू छन् ।

विश्वभरिका सामान्यदेखि कहलिएका विश्वविद्यालयहरूले पनि अध्ययनका लागि छात्रवृत्तिको अवसर प्रदान गर्दै आएका छन् । तर, यस्तो अवसर भने निकै थोरै विद्यार्थीले मात्रै पाउने गर्छन् । त्यसैले पछिल्लो समय गुणस्तरीय उच्च शिक्षा र शिक्षापछिको अवसरका लागि विद्यार्थीहरू निजी खर्चमा पनि अध्ययनका लागि विदेश जाने क्रम ह्वात्तै बढेको छ । यसले गर्दा ठूलो परिमाणमा विदेशी मुद्रासमेत बाहिर जाने गरेको छ ।

दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट पनि अध्ययनका लागि लाखौंको संख्यामा विद्यार्थीहरू विदेश जाने गरेका छन् । द पीआईई न्युजको सन् २०२३ मार्च १३ तारिखको अंकमा उल्लेख भएअनुसार सन् २०२२ मा १६ लाख चिनियाँ विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । यसैगरी द इन्डियन एक्सप्रेसको सन् २०२३ फेब्रुअरी ६ तारिखको अंकमा उल्लेख भएअनुसार सन् २०२२ मा अध्ययनका लागि विदेश जाने भारतीय विद्यार्थीको संख्या झन्डै ६९ प्रतिशतले बढेको छ, जसअनुसार सन् २०२१ मा अध्ययनका लागि विदेश जाने भारतीय विद्यार्थीको संख्या ४ लाख ४४ हजार रहेकोमा सन् २०२२ मा ७ लाख ५० हजार पुगेको छ ।

साथै, आगामी सन् २०२४ सम्ममा यसरी बिदेसिने विद्यार्थीको संख्या १८ लाख पुग्ने प्रक्षेपण गरिएको छ । भारतीय विद्यार्थीको मुख्य गन्तव्यमा अमेरिका, अस्टेलिया, क्यानाडा, बेलायत र जर्मनी छन् । वि.सं. २००७ मा प्रजातन्त्रको उदयपछि मात्रै आम सर्वसाधारण जनताका छोराछोरीले पनि शिक्षाको समान अवसर पाएका हुन् । त्यसपछि शिक्षामा क्रमिक विकास हुँदै आजको अवस्थामा आइपुग्दा साक्षरता दर ७६.२ प्रतिशत पुगिसकेको छ । शिक्षा आर्जनकै लागि नेपाली विद्यार्थीहरू विदेशी मुलुकहरूमा समेत पुग्न थालेको पनि वर्षौं भइसक्यो । अहिले त निजी खर्चमै अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या हजारौं पुगेको छ । विशेष गरी देशको अराजक राजनीतिबाट प्रताडित युवावर्ग शिक्षा र रोजगारीको अवसरको खोजीमा यसरी बिदेसिने गरेका छन् ।

पछिल्लो समय अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या झनै बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा जम्मा ११ हजार ९ सय १२ विद्यार्थीले विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएकोमा आर्थिक वर्ष २०७८/७९ मा १ लाख १४ हजार ४ सय २९ जनाले यस्तो लेटर लिएका छन् । पछिल्लो दस वर्षमा विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या झन्डै १० गुणाले बढेको छ । दस वर्षको अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या औसतमा ४३.९ प्रतिशतले बढेको देखिन्छ । यसरी अध्ययन र अवसरको खोजीमा बिदेसिने नेपाली युवा कमैमात्र स्वदेश फर्किने हुँदा मुलुकले ठूलै आर्थिक तथा सामाजिक क्षति पनि बेहोर्नुपरेको छ । शिक्षित युवा जनशक्ति पलायनले गर्दा मुलुकको आर्थिक तथा सामाजिक विकासमा दक्ष जनशक्तिको अभाव पनि खट्किएको छ ।

नेपाली प्रतिभामात्रै पलायन भएको छैन, प्रतिभासँगसँगै ठूलो परिमाणमा नेपाली पुँजी पनि पलायन भइरहेको छ । आर्थिक वर्ष २०६९/७० मा विदेशमा अध्ययनका लागि रु. ९ अर्ब ६० करोड ८६ लाख मात्रै बाहिरिएकोमा आर्थिक वर्ष २०७८/७९ मा रु. ६७ अर्ब ७० करोड १६ लाख बाहिरिएको छ । यसरी दस वर्षको अवधिमा अध्ययनका लागि बाहिरिने रकममा औसतमा ३५.३२ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपाली कामदारले विदेशमा पसिना बगाएर पठाएको रेमिटेन्स यसरी उच्च शिक्षाको नाउँमा बाहिरिँदा देशको अर्थतन्त्रमा जोखिम बढेको अर्थविद्हरूको विश्लेषण छ ।

अध्ययनको बहाना बनाएर बर्सेनि हजारौं नेपाली युवा विदेश जान थाले पनि यसको कारणका बारेमा कुनै औपचारिक अध्ययन भएको छैन । तथापि गुणस्तरीय शिक्षा प्रदान गर्ने विदेशी विश्वविद्यालयहरूबाट शिक्षा हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा रोजगारीको अवसर पाउन सकिने र तुलनात्मक रूपमा नेपालमा भन्दा धेरै गुणा बढी कमाउन सकिने अवस्थालाई उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने मुख्य कारणको रूपमा लिने गरिएको छ । यसबाहेक विदेशमा अध्ययन गरेपछि प्राप्त हुने अन्तर्राष्ट्रिय पहिचान र सोहीअनुसारको सामाजिक हैसियत, छिमेकका कोही विदेशमा अध्ययनका लागि गएपछि अर्कोलाई पर्ने सामाजिक तथा मनोवैज्ञानिक दबाब र नेपालमा हासिल गरेको उच्च शिक्षाले आत्मविश्वास बढाउन नसक्नु र आत्मनिर्भरता बढाउन नसक्नुलाई नै अध्ययनका लागि विदेश जानुपर्ने अन्य कारणको रूपमा लिने गरिएको छ ।

१ अर्ब ४२ करोड जनसंख्या भएको देश चीनबाट बर्सेनि करिब १६ लाख विद्यार्थी अर्थात् कुल जनसंख्याको ०.११ प्रतिशत जनसंख्या अध्ययनका लागि विदेश जान्छन् भने १ अर्ब ४१ करोड जनसंख्या भएको देश भारतबाट बर्सेनि करिब ७ लाख ५० हजार विद्यार्थी अर्थात् कुल जनसंख्याको ०.०५ प्रतिशत जनसंख्या अध्ययनका लागि विदेश जान्छन् । तर, जम्माजम्मी २ करोड ९१ लाख जनसंख्या भएको देश नेपालबाट बर्सेनि करिब १ लाख १४ हजार विद्यार्थी अर्थात् कुल जनसंख्याको ०.३९ प्रतिशत जनसंख्या अध्ययनका लागि विदेश जान्छन् ।

यसलाई कुन अर्थमा लिने ? उच्च गुणस्तरको विदेशी शिक्षाप्रतिको आकर्षण भन्ने कि देशमा विद्यमान बेथितिप्रतिको वितृष्णा भन्ने ? देशभित्रै गुणस्तरीय शिक्षाको अवसर उपलब्ध हुनसकेको भए, देशको शिक्षा सीपमूलक र व्यावहारिक भइदिएको भए अथवा देशभित्र शिक्षा प्रदान गर्ने विश्वविद्यालय र क्याम्पसहरू अराजक राजनीतिबाट मुक्त भइदिएको भए यसरी बर्सेनि हजारौंको संख्यामा नेपाली विद्यार्थी ठूलो आर्थिक भार बहन गरेर अध्ययनका लागि विदेश जानुपथ्र्यो र ? निकै सोचनीय विषय बनेको छ ।

सामान्यदेखि निकै होनहार विद्यार्थीहरू पनि उच्च शिक्षाको बहानामा विदेश पलायन भइरहेका छन् । त्यस्ता होनहार विद्यार्थीले उचित अवसर प्राप्त गरेर विकसित र समृद्ध देशलाई थप विकसित र समृद्ध बनाउन योगदान गर्दैछन् । तर, आफ्नै देश भने त्यस्ता होनहार विद्यार्थीबाट पाउन सक्ने महत्वपूर्ण योगदानबाट वञ्चित हुँदै आएको छ । यस्तो अवस्थामा देशका राजनेता र नीतिनिर्माताहरूले गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ र वर्तमान शिक्षा नीति र पाठ्यक्रममा समयानुकूल परिवर्तन र परिमार्जन गर्नुपर्नेमा विषयविज्ञ र सम्बन्धित निकायले ध्यान दिनैपर्ने भएको छ ।

सूचना, सञ्चार र प्रविधिको तीव्रतम विकासले संसार एक गाउँको रूपमा परिणत भइसकेको अवस्थामा एउटा देशमा विकसित प्रविधिले संसारको अर्को कुनै कुनामा स्थान पाउन कुनै बेर नलाग्ने भइसकेको छ । अतः अमेरिका वा युरोपमा अपनाइने पाठ्यक्रम र शिक्षण विधि हाम्रो आफ्नै देशमा पनि तुरुन्त अपनाउन सकिन्छ र अपनाइएका पनि छन् । भलै भौतिक पूर्वाधारको कमी–कमजोरीका कुरा आफ्नै ठाउँमा होलान् र तिनले पार्ने प्रभाव पनि आफ्नै ठाउँमा होलान् ।

भन्न खोजिएको मूल कुरो के हो भने गुणस्तरीय शिक्षामात्रै नेपाली युवाहरू बिदेसिनुको कारण होइन, बरु अध्ययनपछि प्राप्त हुने उचित अवसर र काम गर्ने वातावरण मुख्य कारण हो । विदेशमा केही गर्न खोज्नेहरूका लागि थुप्रै अवसर छन्, अनुकूल वातावरण पनि छ र प्रतिभाको कदर पनि छ, तर नेपालमा केही गर्न खोज्नेहरूका लागि अवसर र उचित वातावरण छैन । बरु यहाँको समाज, राजनीति, अर्थनीति, कर्मचारीतन्त्रले नै केही गर्न र केही बन्न खोज्नेलाई अत्यन्तै निराश तुल्याउने गरेको छ ।

अहिले नेपालको आफ्नै शैक्षिक कार्यक्रमप्रति विद्यार्थी तथा अभिभावकको विश्वास जित्नुपर्ने अवस्था छ । विश्वविद्यालयको डिग्री लिएर रोजगार बजारमा प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीहरू कमजोर हुँदै गएको मूल्यांकनले शिक्षाको गुणस्तर र यसको व्यवहारिकताप्रति सधैं प्रश्नचिह्न लाग्दै आएको छ । यस्तो अवस्थामा शिक्षाको गुणस्तरमा वृद्धि गर्नु र यसको व्यवहारिकताको आयतनसमेत विस्तार गर्नु निकै चुनौती बनेको छ ।

विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानामात्रै बनेको आरोप लाग्ने गरेको अवस्थामा व्यावहारिक, सीपमूलक र गुणस्तरीय जनशक्ति उत्पादन गर्नका लागि पाठ्यक्रममा समयानुकूल परिवर्तन गर्नुका साथै शिक्षा नीति र शिक्षण पद्धतिमा समेत आमूल परिवर्तन गर्नुपर्ने माग बढेको अवस्था छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।

यस्तो अवस्थामा अध्ययनका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी बिदेसिए भनेर चिन्ता लिएर मात्रै हुँदैन । उच्च शिक्षा र उचित अवसरका आकांक्षी युवालाई स्वदेशमै टिकाइराख्ने र अध्ययनका लागि बिदेसिएका युवालाई पनि अध्ययनपछि स्वदेश फर्काउने वातावरण निर्माणका लागि राज्यले उचित नीति र योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । ब्रेन ड्रेनका कारण सरकार अत्तालिने होइन, बरु ब्रेन गेनका लागि पहल गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्