Logo

कमलामाई नगरपालिकाको प्राथमिकता सडकमा

सिन्धुलीको कमलामाई नगरपालिकामा ३४ वटा योजना सम्पन्न भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरका १४ वटा वडामा ३४ योजना सम्पन्न भएको रोजगार संयोजक अजय प्रधानले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका बेरोजगारले सडक मर्मत, सरसफाइ, भवन निर्माणलगायतका काम गरेका हुन् । नगरमा ५ हजार ८१८ जनाले रोजगारीका लागि आवेदन दिएकोमा निर्माणको काम गर्न इच्छुकलाई यो पटक सहभागी गराइएको हो । नगरपालिकामा यस वर्ष ७६ लाख रुपैयाँ बजेट आएको थियो ।
मरिण गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ वटा वडामा काम भयो । जसमा २ नम्बर वडामा सिँचाइ कुलो निर्माणका लागि महिलाको नेतृत्वमा काम भएको थियो । सो योजना अन्य दुईवटा योजनाभन्दा गुणस्तरीय रहेको रोजगार संयोजक रमा कार्कीले बताइन् । “महिलाले निर्माणका काम गर्न सक्दैनन् भन्ने धारणालाई गलत सावित गरिदिएका छन् ।” उनले भनिन्, “सुरुमा कप्पु गुर्माछानलाई लिडर बनाएका छाँै, भन्दा पुरुषहरूले नाक खुम्च्याएका थिए । अहिले उनीहरू नै कप्पुसँग काम गर्न सहज भएको बताउछन् ।”
सिटीईभीटीमार्फत तालिम लिएकी कप्पुको नेतृत्वमा सम्पन्न सिँचाइ कुलो निर्माण अरु दुई आयोजनाभन्दा उत्कृष्ठ भएको कार्कीको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस गाउँपालिकामा ८३ जनाले सडक, सिँचाइ कुलो र खेल मैदान निर्माण गरेका छन् । जम्मा ४ हजार ४२ जनाको आवेदन परेकोमा इच्छुकलाई ३०÷३० दिन रोजगारी दिइएको संयोजक कार्कीले बताइन् । कुल २७ लाख बजेट आएकोमा ढिलो गरी काम सुरु भएकाले सबै रकम खर्च गर्न नसकिएको उनले बताइन् ।
तिनपाटन गाउँपालिकामा पनि १८० जना युवाले रोजगारी पाए । उनीहरूले कल्र्भट र लच्का निर्माण गरे । गाउँपालिकाको मुख्य सडकमा पानी आउदा सवारी साधन नै नचल्ने समस्यलाई मध्यनजर गर्दै ११ नम्बर वडामा कल्र्भट र २ नम्बर वडमा लच्का निर्माण गरिएको रोजगार संयोजक बरुण आले मगरले बताए । उनका अनुसार १८० जनालाई नै १५–१५ दिनको ज्याला र निर्माण सामग्री खरिद गरी ३७ लाख रुपैयाँकै काम भएको उनले बताए ।
१४ वटा वडा रहेको दुधौली नगरपालिकाले भने ७१ लाख बजेटमा सबै वडालाई ५–५ लाख रुपैयाँ छुट्याएको थियो । सोहीअनुसार प्रत्येक वडाका ३५ जना र कुनैमा धेरै गरी ५१७ जनालाई रोजगारी दिइएको रोजगार संयोजक अस्मिता पोखरेलले जानकारी दिइन् । २० दिनमा सबै वडामा वृक्षरोपण, सडक स्तरोन्नति र सरसफाइ गर्ने काम भएको उनले बताइन् । यहाँ ४ हजारभन्दा बढी मानिसले बरोजगार फारम भरेका थिए ।
गोलञ्जोर गाउँपालिकामा २ हजार ८० जनाले बेरोजगारीको फारम भरेको भए पनि यो पटक १३० जनाले काम गरे । १५ दिन भएको काममा बाटो मर्मत तथा निर्माण, सामुदायिक भवन मर्मत, सम्भार, ९ हजार वृक्षरोपण, सरसफाइ गर्ने काम भएको रोजगार संयोजक सरोज प्याकुरेलले बताए । गोलञ्जारमा आएको २० लाख बजेटमा २० हजारको मात्र काम नभएको उनले बताए ।
फिक्कल गाउँपालिकामा भने निर्माणाधीन भ्यू टावरसम्म पुग्नका लागि सिँढी निर्माणका साथै तारजाली, बाटो निर्माण, सरसफाइ र ५ हजार वृक्षारोपण गरिएको रोजगार संयोजक शान्ति याक्सोले जानकारी दिइन् । “१६ लाख बजेट आएको थियो । सबै रकम खर्च गर्न सकिएन,” उनले भनिन्, “बजेट ढिलो आयो, समय पनि कम फेरि वर्षाले गर्दा काम नै अवरुद्ध हुन पुग्यो ।” ३०–३० दिनका लागि रोजगारी दिने भनिए पनि हामीले १५–१५ दिनमात्रै काम लगाउन सक्यौँ, उनले भनिन् ।
जिल्लाकै विकट गाँउपालिका हरिहरपुरगढी गाउँपालिकामा भने सडक, यातायात र निर्माण सामग्रीको अभावका कारण सोचे अनुरुपको काम नभएको रोजगार संयोजक प्रदिपकुमार यादवले बताए । २५ लाख रुपैयाँ बजेट आएको यस गाउँपालिकामा १ लाख ३० हजार रुपैयाँमात्र खर्च भयो । “असार २२÷२३ गतेसम्म काम सक्नुपर्ने थियो । कामै ढिलो सुरु भयो । त्यही बेला मौसमले पनि साथ दिएन,” उनले भने ।
५ हजार ३ सय जनाले बेरोजगारीको आवेदन भरेकोमा ३७१ जनालाई काममा लगाइएको उनले बताए । “काम गर्न उनीहरू उत्साहित भए पनि पूरा समय काम लगाउन सकिएन ।” उनले भने, “एउटा वडाबाट अर्का वडामा पुग्न २ दिन लाग्छ । सबै वडाका लागि बनाइएको योजना कुनै पनि पुरा भएनन् ।” यस गाउँपालिकामा ८ वटा वडा छन् ।
यता घ्याङ्लेख गाउँपालिकामा भने यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही काम भएनन् । “६ लाख रुपैयाँ बजेट आएको थियो ।” गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले भने, “कर्मचारीलाई नियुक्ति दिएर पठाउछौँ भनेको थियो । तर अहिलेसम्म पनि कोही आइपुगेनन् । त्यो रकम त्यसै खेर जाने भयो ।” वडास्तरबाट बेरोजगारहरूको लगत संकलन गरिएको भए पनि रोजगार संयोजकको अभावमा काम गर्न नसकिएको उनले बताए । जम्मा ४४६ जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।
त्यस्तै सुनकोसी गाउँपालिकामा पनि रोजगार संयोजकले बिचैमा काम छोड्दा केही काम हुनसकेको छैन । ६ नम्बर वडामा थोरै काम भए पनि अरु वडामा कुनै पनि काम भएको छैन । यो वर्षका लागि २४ लाख बजेट आए पनि बर्खाले गर्दा सन्तोषजनक उपलब्धि नभएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्