Logo

किन मृत्युमार्ग बन्छन् कर्णालीका सडक

मापदण्डविपरीत सडक निर्माण र पुराना सवारी साधनका कारण कर्णालीमा वर्षेनी सयौं मानिसले ज्यान गुमाउनु परेको छ । २०७१ देखि २०८० सम्म मात्र कर्णालीमा ९९१ जनाको मृत्यु भएको छ । एक हजार ५२७ जना गम्भीर घाइते भएको तथ्यांक छ । सवारी दुर्घटनाको संख्या एक हजार ८२१ पुगेको प्रहरीले बताएको छ । कर्णालीमा कर्णाली राजमार्ग, भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा राजमार्ग, राप्ती लोकमार्ग लगायतका सडक सञ्चालनमा छन् ।

१० जिल्लामा भएको सवारी दुर्घटनामा सयौं व्यक्ति मरे पनि यहाँका सडकको स्तरोन्नतिका काम धिमा गतिमा हुने गरेका छन् । कच्ची सडकमा थोत्रा यातायातका साधन भगवान भरोसामा चलाउँदा यहाँका सयौं सर्वसाधारणको मृत्यु हुने गरेको छ । छिटो घर पुग्नका लागि थालिएका अधिकांश यात्रा मृत्युको मुखमा पुगेझैं भएको सर्वसाधारणको भनाइ छ । धकेल्दै चलाउने सवारी साधनका कारण यहाँका धेरै मानिसले अकालमै ज्यान गुमाउनु परेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरणअनुसार ७० दशकको नौ आर्थिक वर्षमा मात्रै कर्णालीमा एक हजार ८२१ सडक दुर्घटना भएका हुन् । यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९९१ छ । यस्ता दुर्घटनामा परी एक हजार ५२७ कर्णालीवासी गम्भीर घाइते भएका छन् । यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ । प्रदेश ट्राफिक प्रहरीको तथ्यांकले भन्छ, प्रदेशमा बर्सेनि सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दो छ ।

तर, न्यूनीकरणमा कसैले चासो दिएको छैन । कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोड छन् । यी मोडले दुर्घटनाको जोखिम बढाएका छन् । राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिँदैन । कर्णालीका धेरै सडकमा ट्राफिक संकेत पनि छैन । अनि दुर्घटना नभएर के हुन्छ मुगुकी रामदेवी खडकाले भनिन् । साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरीले बताएको छ ।

अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षमा थप विकराल अवस्था आउने कुरामा दुईमत नभएको उनको भनाइ छ । सानो सडक, साना मोड, अत्यधिक गतिमा सवारी चलाउने, ओभरटेक गर्ने र लामो रुटमा एउटै चालक हुने अनि ओभरलोड बोक्नेजस्ता कारणले सवारी दुर्घटना बढिरहेको प्रहरीको भनाइ छ । पालिकाले निर्माण गरेका साना सडक समेत भारी मात्रामा जोखिम बढिरहेको छ ।

वातारणीय प्रभाव मूल्यांकन नगरी जथाभावी डोजर चालक इन्जिनियर भएर खनिएका सडकमा अत्यधिक जोखिम भएको हो । जाजरकोटको छेडा–कचाली जुम्ला, छेडा हुँदै शिवालय जाने सडकमा सबैभन्दा बढी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७१/०७२ मा १३९ जना, २०७२/०७३ मा ५६ जना, २०७३/०७४ मा ११७, २०७४/०७५ मा ९१ जना, २०७५/७६ मा ११९ जना, २०७६/०७७ मा ९७ जना, २०७७/०७८ मा ९८ जना, २०७८/०७९ मा १८० जना, २०७९/०८० मा ९४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । तीन वर्षमा कर्णालीमा भएका सडक दुर्घटनामा १२ सय जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कोराना संक्रमणका कारण भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना घटेको हो । तीन वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । तथ्यांकअनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिसको धेरै मृत्यु भएको छ । तीमध्ये २० देखि २५ वर्ष उमेर समूहका १७२ जनाले ज्यान गुमाएका छन् ।

सडक दुर्घटनाको मुख्य कारण तीव्र गति नै देखिन्छ । तीव्र गतिका कारण तीन वर्षमा ५३९ वटा सडक दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यान्त्रिक कारणले १९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उल्लंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

तीन वर्षमा सात करोड बढी राजस्व

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार तीन वर्षमा सात करोड ५० लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघनलगायतका जरिवानावापतको राजस्व रकम संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ७२ लाख ६४ हजार तीन सय रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा दुई करोड ४४ लाख ८९ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ३२ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमी, स्रोत साधनको कम उपलब्धता, सडकको अवस्था, सवारी चालकको लापरबाही, प्राविधिकको प्रयोगमा अभावलगायतका कारणले दुर्घटना न्यूनीकरणका लागि चुनौती देखिएको प्रहरीले जनाएको छ । कर्णालीमा २१८ जना ट्राफिक प्रहरी छन् ।

जसअनुसार प्रतिट्राफिक प्रहरी ६३ वटा सवारी साधन रेखदेख गर्नुपर्ने अवस्था छ । मापदण्डविना बनाइएका सडक, अत्यधिक साँघुरा घुम्ती, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमी, खाल्डाखुल्डी र पहिरोका कारण दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । गाउँगाउँमा निर्माण भएका सडकमा प्रहरीको पहुँच नभएका कारण सवारी दुर्घटना भारी मात्रामा बढेका छन् । वर्षामा सञ्चालनमा नआउने तर हिउँदयाममा मात्र सञ्चालन हुने पालिकाका सडक मृत्युरेखा बनिरहेको सरोकारवाला निकाय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्