कोरिया पानीजहाजमा सात सय लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको हो । यसअघि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन माग गरिएकोमा ७ सय छनोट भएका थिए ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रतर्फ ३ हजार लैजाने योजना बनाएको बताए । “यसमध्ये पनि जुन महिनामा ७०० नेपाली लैजाने गरी तयारी भइरहेको छ,” निर्देशक कटुवालले कारोबारसँग भने, “बाँकी २ हजार ३०० युवाको छनोटका लागि केही समयपछि नयाँ आवेदन माग गर्ने तयारी भएको छ ।” उनका अनुसार कोरियाले पत्राचार गरेपछि नयाँ आवेदन खुल्नेछ ।
हालसम्म ईपीएसअन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र श्रमिक माग गर्दै आएकोमा अब भने नयाँ क्षेत्र थपिएको हो । नेपालबाट लैजाने युवाले काम गर्ने क्षेत्र बढाएसँगै कोरियामा थप नेपालीले रोजगारीको अवसर पाउने भएका छन् । हाल कोरियाले वार्षिक औषत ८ हजार नेपालीलाई रोजगारी दिँदै आएको छ ।
सन् २००८ मा पहिलो पटक ईपीएस लागु गर्दा नेपालबाट मत्स्यपालन, उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा श्रमिक लैजाने गरी सम्झौता भएकोमा बीचमा मस्त्यपादन क्षेत्रमा नेपाली माग नगर्ने निर्णय भएको थियो । हाल आएर कोरियाले पानीजहाज निर्माणमा समेत नेपाली लैजाने गरी रोजगारी क्षेत्र थप गर्ने निर्णय गरेको शाखाले जनाएको छ ।
एचआरडी कोरियाले हाल उत्पादनमूलक क्षेत्रतर्फ उत्तीर्ण भई रोजगार आवेदन फारम भरेर रोष्टरमा नाम समावेश भएका ५ हजार ३ सयमध्ये १ हजार २१० जनालाई जहाज निर्माणमा लैजाने तयारी गरेकोमा न्यून आवेदन परेका कारण पहिलो चरणमा ७ सयलाई लैजाने भएको छ । पछिल्लो समय कोरियाको पानीजहाज निर्माण कम्पनीमा श्रमिक अभाव हुन थालेपछि नेपालबाट पहिलोपटक कामदार लैजाने तयारी गरिएको हो ।
यसअन्तर्गत स्काफोल्ड, इन्सुलेसन, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी ५ क्षेत्रमा कामदार लैजाने गरी तयारी गरिएको शाखाले जनाएको छ । कम्पनीअनुसार पानीजहाज निर्माणका लागि तलबसहित एक महिने तालिम दिइनेछ । पानीजहाज निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको बराबर हुनेछ ।