कृषिमा नमूना बन्दै डाँडागाउँ «

कृषिमा नमूना बन्दै डाँडागाउँ

धनकुटा-कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका किसानलाई मिनिटिलर (हाते ट्याक्टर), धानमकै पिस्ने मिलसहित विभिन्न आधुनिक कृषि औजार वितरण गरिएको छ ।
सघन वाली विकास कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र र किसानको लागत साझेदारीमा ती सामग्री महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, वडा नं. ३ का अध्यक्ष भरत थापालगायतले किसानलाई कृषिजन्य औजार सामग्री वितरण गरेका हुन् । सघन वाली विकास कार्यक्रम (मकै) तर्फ ५० प्रतिशत छुट अनुदानमा तीन वटा मिनिटिलर (हाते ट्रयाक्टर) र ५० प्रतिशत छुट अनुदानमै धान मकै पिस्ने ७ थान मिल पनि प्रदान गरिएको हो । त्यस्तै ५०-५० थान कोदालो र हँसिया, एक सय थान त्रिपाल पनि वितरण गरिएको छ । सिँचाइ सुविधा नपुगेको मकै खेती क्षेत्रमा शाखा कुलोमार्फत् सुविधा पु-याउने उद्देश्यसहित कुल ४ लाख ७० हजार रुपैयाँको लागतमा पाइप खरिद गरेर सिँचाइ सुविधाको व्यवस्था गरिएको छ ।
यसैगरी डाँडागाउँमै कृषि ज्ञान केन्द्र धनकुटाको ५ लाख रुपैयाँ लगानीमा दिल्पा कृषक समूहले निर्माण गरीरहेको आलु भण्डारको लागि रस्टिक स्टोर (घर) अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको सम्पन्न भइसकेको र फिनिसिनिङका काम धमाधम भइरहेको र अहिलेसम्म ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको वडा नं. ३ का अध्यक्ष भरत थापा जानकारी दिए । भवन निर्माणमा स्थानीयको १५ प्रतिशत जनसहभागीता छ ।
नगर प्रमुख पर्शुराम नेपालले कृषिजन्य उत्पादनको सम्भावना रहेको ३ नं. वडाभित्रका टोललाई उत्पादनका हिसावले पकेट क्षेत्र निर्धारण गरी विकास गर्ने बताए । उनले कृषिजन्य उत्पादन सम्भाव्यताको आधारमा पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कृषिमूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।
वडाध्यक्ष थापाले वडाले पनि समग्र कृषिक्षेत्रमा लगानी मैत्री वातावरण बनाएर किसानको जीवनस्तरलाई समृद्ध र आत्मनिर्भर बनाउँदै निर्वाहमूखी कृषि पेशलाई व्यवसायीमूखी बनाएर विभिन्न योजना तथा कार्यक्रम बनाउने तयारी भइरहेको बताए । गतवर्ष ३ नं. वडा कार्यालयले वडाको सबै भूभागको माटो परीक्षण गरेर उत्पादन सम्भाव्य क्षेत्र मापन गरेको थियो । सोही आधारमा किसानलाई सहयोग गरिएको बताइएको छ । माटो परीक्षणका आधारमा डाडागाउँको माथिल्लो भेगलाई तरकारी उत्पादनको पकेट कायम गरिएको थियो । माथिल्लो भेगमा पर्ने बाटोखर्क, ओलाङ भुल्कै, वाथथला, गोव्रे सल्ला टोललाई व्यावसायिक तरकारी उत्पादन क्षेत्रको रूपमा विकास गर्न किसानलाई प्रोत्साहन र आधुनिक कृषिजन्य औजार प्रदान गरिएको ३ नं. वडाका कृषि प्राविधिक शेखर चापागाईले बताए । उनका अनुसार माथिल्लो भेगका किसानलाई तरकारी पकेट क्षेत्र कार्यक्रमअन्तर्गत १० वटा प्लाष्टिक टनेल (घर), सिँचाइका लागि ३ वटा प्लास्टिक पोखरी निर्माण गरिएको छ । त्यस्तै १ थान मिनिटिलर, वन्दा, काउली, आलु, मुलालगायतका उन्नत जातको बीउविजनसमेत किसानलाई वितरण गरिएको छ । त्यस्तै माटो परीक्षणकै आधारमा डाँडागाउँको तल्लो भेगमा पर्ने भन्ज्याङ, गैरीगाउँ, चित्रेटोल, जिमी टोललगायत स्थानलाई अलैंची, फलफूल र अन्नवाली उत्पादनको हिसावले पकेट क्षेत्र कायम गरिएको छ । सो क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २ हजार १ सय ६५ जनसंख्या रहेको यो वडामा ४ सय २० घरधुरी छन् । यहाँ करिव ८० प्रतिशत घरधुरी व्यावसायिक कृषि पेशामा आवद्ध छन् ।

विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्