आफ्नै बुताले पाँच विमान खरिद गर्दै निगम «

आफ्नै बुताले पाँच विमान खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठूला विमान खरिद गर्ने भएको छ । हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो ।

खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्गममा र २ ठूला (५६÷७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् । ३ वटा साना विमान खरिद गर्ने कार्ययोजना अघि बढाउन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ । थप २ विमान किन्न निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले कामसमेत सुरु गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, “आन्तरिकमा ३ साना विमान खरिदका लागि निगमले प्रक्रिया अगाडि बढाएको छ । चाँडै निगमको बोर्ड बैठकले पास गरी नागरिक उड्डयन मन्त्रालयसँग सैद्धान्तिक सहमति लिएर बोलपत्र आह्वान गर्छौं ।”

५६ देखि ७३ सिट क्षमताका २ विमान खरिद गर्नेबारे राई संयोजकत्वको उपसमितिले २१ दिनभित्र प्रतिवेदन बुझाएपछि कस्तो खरिद गर्ने भनेर तय हुने निगमले जनाएको छ । दुर्गम र सुगमका गन्तव्यमा आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन विमान खरिद गर्ने योजना अगाडि सारिएको प्रवक्ता पौडेलले बताए । निगमले आफ्नै आन्तरिक स्रोतबाट विमान खरिद गर्न लागेको हो ।

“कोभिड महामारीपछि निगमको आयमा क्रमशः सुधार हुँदै गएकोले सञ्चित रकमबाट नयाँ विमान खरिद गर्न लागिएको हो,” प्रवक्ता पौडेलले भने, “पछिल्लो समय निगमको दायित्व रहेको किस्ता पनि नियमित भुक्तानी गर्दै आएका छौं । करिब ३ अर्ब भुतmानी भएको र अघिल्लो आर्थिक वर्षमा १ अर्ब सञ्चालन नाफा कमाएकोले खरिद गर्न सक्ने आधार बनेको हो । हाल निगमसँग ३ अर्ब रुपैयाँ सञ्चित रकम रहेको छ ।”

हाल २ साना विमान रहेको र त्यसमा पनि एउटा बिग्रिरहने समस्याका कारण एउटाले मात्र निगमको आन्तरिक उडानको साख जोगाउँदै आएको छ । सञ्चित रकम भएकाले यो पटक भने विमान खरिद हुने निगमले दाबी गरेको छ । तालुकदार मन्त्रीले पनि चासो देखाएकाले विमान खरिदको प्रक्रिया अगाडि बढेको निगम प्रवक्ता पौडेलले बताए । निगमले विगतमा पनि पटक–पटक विमान खरिद गर्ने प्रयास गरे पनि पूरा हुन सकेको थिएन । “विगतमा आय राम्रो नहुँदा सरकारको मुख ताक्नुपर्ने अवस्था थियो,” प्रवक्ता पौडेले भने, “अहिले निगमको आयमा सुधार भएको र सञ्चित रकम पनि भएकाले निगम आफैं सक्षम छ । योपटक विमान खरिद हुने सम्भावना छ ।”

विमान खरिदपछि निगमले अन्तरप्रदेश उडान भर्ने योजना बनाएको छ । काठमाडौंबाट मुलुकका विभिन्न विमानस्थलका अलावा धनगढी–पोखरा, भैरहवा–पोखरा, विराटनगर–पोखरालगायत गन्तव्यमा उडान गरिने प्रवक्ता पौडेलले बताए । निगम सक्षम भए बजार प्रतिस्पर्धी भई यात्रुलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

आन्तरिक उडानका लागि चीन सरकारको अनुदान र ऋण सहयोगमा दुई एमए–६० र चार वाई–१२ ई विमान खरिद गरेको भए पनि मर्मत तथा सञ्चालन खर्च बढेपछि निगमले लामो समयदेखि ती विमान ग्राउन्डेड गरेको छ । अहिले निगमले दुई न्यारोबडी र दुई वाइडबडी विमानबाट अन्तर्राष्ट्रिय उडान र दुई ट्विनअटरबाट आन्तरिक उडान भरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्