Logo

करोडौं खर्चेर सडक काटियो पिठ्युँमा भारी बोक्ने दुःख काटिएन

तिला गाउँपालिका–६ दुर्गम घोडे निवासी ७० वर्षीय वृद्ध पुरुने रोकायाले काँधमै भारी बोक्न थालेको करिब साढे ६ दशक बित्यो । एक बोरा चामल, नुन तेल ल्याउन महिना दिनसम्म हिँडेर सुर्खेत नेपालगन्ज पुग्थे । कर्णाली राजमार्ग सञ्चालनपछि महिना दिन हिँड्नुपर्ने बाध्यताले छुटकरा पाए पनि पिठ्युँको भारी छुटेन । नाग्म र रारा बजारबाट दैनिक उपभोग्य सामान पिठ्युँमा बोकेरै लिन्थे ।

२०७४ यता स्थानीय सरकार सञ्चालनपछि गाउँगाउँमा सडक निर्माण भए । रोकायाले भने, “गाउँगाउँमा सडक निर्माण हुँदै गर्दा दुर्गम घोडेमहादेव गाडी पुग्ने । पिठ्युँमै भारी बोक्नुपर्ने दुःखले मुक्ति पाउने आशा पलाएको थियो । तीनै तहका सरकारको लगानीमा करोडौं खर्चेर सडक काटियो, तर नागरिकका दुःख काटिएनन् ।”

पिठ्युँमै भारी बोकेर साढे ६ दशक समय बिताइसकेका ७० वर्षीय पुरुने रोकायाले संघीयतापछि पनि छोरा नातिलाई पिठ्युँमै भारी बोक्नुपर्ने बाध्यता कायमै रहेको दुःखेसो पोखे । गाउँमा सडक काटिए पनि पिठ्युँमा भारी बोक्नुपर्ने बाध्यता हटेको छैन । कर्णाली राजमार्गदेखि झण्डै ११ किलोमिटर टाढा दुर्गममा अवस्थित तिला–६ का घोडेमहादेव, रिपी र सुडी गाउँमा सडक पुगे पनि अझै यातायात पुग्न सकेको छैन ।

त्यस्तै तिला–६ कै अलि रोकाया विगत १५ वर्षयता पिठ्युँमै भारी बोक्दै आएका छन् । दैनिक उपभोग्य सामानदेख निर्माण सामग्रीसम्म पिठ्युँमै बोक्नुपर्ने कष्टले मुक्ति नपाएको रोकायाले बताए । मुलुक संघीयतामा गएसँगै गाउँगाउँमा सडक सञ्जाल त पुग्यो वृद्धवृद्धादेखि युवाले भारी बोक्नुपर्ने बाध्यतामा फेरबदल आएन ।

उनले भने, “संघीयतापछि स्थानीय सरकारले करोडौं खर्चेर गाउँगाउँमा सडक निर्माण भएका छन् । विडम्बना, दिनहुँ सानो काममा घण्टौँ हिँडेर भारी बोक्ने दुःख कायमै छ । नत गर्भवती अवस्थामा भारी बोक्नबाट मुक्ति पाइन्छ । नत सुत्केरी हुँदा, सारो गाह्रो पर्दा अस्पताल लिन सहज हुन्छ । गाउँमा सडक पुगेको करिब पाँच वर्ष बढी भयो । तर गाडी नपुग्दा ४५/४० किलो भारी बोकेर रातोपिरो अनुहारमा शिरबाट पसिना चुहाउँदै उकालो ओरोलो हिँड्ने बाध्यता हटेको छैन ।”

पुरुने र अलि रोकाया उदाहरणमात्र हुन् । सडक काटेर गाडी नपुग्दाका कष्ट सबै तिलाबासीका उस्तै छन् । गाउँगाउँमा सडक पुगे पनि कर्णाली राजमार्गसँंग जोड्ने तिला नदीमाथि मोटरेवल पक्की पुल निर्माण नहुँदा तिला ६, ७, ८ र ९ नम्बर वडाका तुही, गोठीगाउँ पोख्री, घोडमहादेव, सुडी, रिपी, रासा, मालापानी, खोप्री, जुम्लाकोट र पुरु दर्जनौं बस्तीका नागरिक खच्चर र पिठ्युँकै भरमा भारी बोक्न बाध्य छन् ।

गाउँगाउँमा सडक पुगे पनि नागरिकले सुखको अनुभूति गर्न नसेकको तिलाका स्थानीय सन्देश रोकाया बताउँछन् । उनले भने, “सडक पुग्न वर्षौं लाग्यो, अब गाडी पुग्न कति समय लाग्ने हो ? कहिले गाउँमा गाडी पुग्ने हो ? भन्दै रित्ता सडक हेरेर दिन गन्दै बसेका छौं । बनेका सडक जीर्ण हुने र स्तरवृद्धि हुने काम भए पनि गाडी नगुड्दा समस्या ज्यूँका त्यूँ छन् । पिठ्युँमा भारी बोक्ने बाध्यता हटेको छैन ।”

जिल्लाकै भौगोलिक हिसाबले दुर्गम तिला गाउँपालिकाका बस्तीमा यातायातको पहुँच विस्तार गर्न तिला नदीमाथि पक्की निर्माणको विकल्प छैन । यद्यपि १५ करोड लगानीमा तिलाका दुर्गम बस्ती जोड्ने पक्की पुल निर्माण थालिएको छ ।

तिलामा पक्की पुल बन्दै

जुम्लाको तिला गाउँपालिका भौगोलिक हिसाबले जिल्लाकै विकट पालिका हो । २०७४ पछि स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर हालसम्म पनि तिलानदी माथि पुल नहुँदा तिलाका ६, ७, ८ र ९ का ग्रामीण बस्तीलाई राजमार्गसँंग जोड्ने पुल निर्माण नभएकै कारण त्यहाँका नागरिक भारी बोक्न अहिले पनि खच्चड र पिठ्युँकै भरमा छन् । तिलाबासीको समस्यालाई मध्यनजर गर्दै १५ करोड लगानीमा पक्की पुल निर्माण थालिएको छ ।

तिलाका दुर्गम गाउँलाई राष्ट्रिय सडक संजालसँंग जोड्नका लागि तिला गाउँपालिका–१ रारालिहीमा पक्की पुल निर्माण भइरहेको छ । रारालिहीमा तीन वर्षभित्र पक्की पुल निर्माण हुने गरी प्रक्रिया अघि बढाएको सडक डिभिजन जुम्लाले पुल निर्माण गरिररहेको छ । एकतर्फको पिल्लर खडा भइसकेको र अर्कोतर्फको पिल्लर खडा गर्ने तयारी भइरहेको छ । करिब ५५ मिटर लामो पुल निर्माणका लागि १५ करोड ४१ लाखको स्टिमेट गरिएका भए पनि ठेक्का सम्झौता भने १४ करोड ८४ लाखमा भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

यसैगरी पुल निर्माणले तिलाका दुर्गम बस्तीलाई आर्थिक आयआर्जनसँंग जोडिने अपेक्षा गरिएको छ । पुल निर्माणसँंगै गाउँमा गाडी पुग्ने कुराले तिलाबासी खुसी छन् । तिला–८ का वियज बुढा भन्छन्, “गाडी गुड्ने सडकमा स्थानीयवासीले दैनिक भारी बोकी हिँड्नुपर्छ भने गाउँगाउँमा सडक पुर्‍याउनुको अर्थ छैन । सबै सडक भत्किएर साँघुरा हुँदै गएका छन् । गाडी गुड्ने भए शायद बिग्रेको सडक सुधार हुन्थ्यो । त्यसैले पुल निर्माण सबैको ध्यान आकर्षण हुन जरुरी छ ।”

तिला–६ का वडाध्यक्ष जंग रावलले आफ्नो पहिलो प्रथामिकता नै वडाबासीलाई यातायात पहुँचमा पुर्‍याउने भन्दै आगामी २०८१ सम्म तिलाका दुर्गम गाउँमा गाडी पुग्नेगरी काम भइरहेको बताए । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले तिलाका दुर्गम बस्तीमा गाडी पुर्‍याउन र कर्णाली राजमार्गसँग जोड्न पक्की पुल निर्माण भइरहेको बताए । संघीय सरकारको लगानीमा सडक डिभिजनमार्फत् तिला नदीमाथि पुल निर्माण भइरहेकाले केही वर्षमा तिलाका दुर्गम गाउँमा गाडी पुग्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्