Logo

कालीगण्डकी प्रसारणलाइन असारमै सकिने

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यको साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले बताएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङजा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिले खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

यो खण्डमा पर्ने २३५ वटा टावरमध्ये पर्वतमा तीन वटा, पाल्पामा एकवटा, रुपन्देहीमा पाँचटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरहरुमा तार तानिसकिएको छ । नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट लाइनमा पर्ने १७ टावरहरु निर्माण सम्पन्न भइसकेको छ । ५.६ किलोमिटर मल्टी सर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी रहेको छ । बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि १ हजार १ सय ५० रुख कटान गर्नु पर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माण स्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेटी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइनको निर्माण सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको पनि बताए । ‘‘यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत आयोजनाबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउछ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभई देशकै लागि घाटा हो’’ उनले भने ।

आयोजना प्रमुख प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने पनि प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्