यात्रा तथा पर्यटन क्षेत्रको विश्वव्यापी योगदान

पर्यटन क्षेत्रले बहुआयामिक पक्षहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ । मानव सभ्यताको आधुनिकीकरणसँगै पर्यटन क्षेत्रको विकास भएको हो । घुमफिरबाट सुरु भएको पर्यटन क्षेत्र हाल आएर मेडिकल पर्यटन, आध्यात्मिक पर्यटन हुँदै अन्तरिक्ष पर्यटनसम्म पुगेको छ । सही योजना र नीति–निर्माणका लागि तथ्यपरक सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । वस्तुनिष्ठ तथ्याङ्कबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रको सही आकलन र प्रक्षेपण गर्ने गरिन्छ । विभिन्न अन्तर्राष्ट्रिय संघ– संस्थाहरूले विश्वव्यापी पर्यटन क्षेत्रलाई नजिकैबाट नियाली मासिक तथा वार्षिक प्रतिवेदन प्रकाशन गर्ने गर्छन् । विश्व पर्यटन संगठन र वर्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लूटीटीसी) को नाम विश्वसनीय सूचना तथा तथ्याङ्क प्रकाशन गर्ने संस्थाहरूको अग्रस्थानमा आउने गर्छ ।
डब्लूटीटीसीले विगत २५ वर्षदेखि पर्यटन क्षेत्रले विश्व अर्थतन्त्र र रोजगारी सिर्जनामा पारेको प्रभावलाई विभिन्न कोणबाट विश्लेषण गरी आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । सरकारी र निजी क्षेत्रहरूबीचको सहकार्यलाई स्विकार्ने यस संस्थामा हाल विश्वभरिका १ सय ५० भन्दा बढी चर्चित र ठूला कम्पनीका कार्यकारी प्रमुखहरू सदस्य छन् । डब्लूटीटीसीले यात्रा तथा पर्यटनसम्बन्धी विवरणहरूको विश्लेषण गरी वार्षिक आर्थिक प्रतिवेदन–२०१७ हालै सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले सन् २०१६ अवधिभरमा विश्वका १८५ मुलुकहरूको पर्यटन र अर्थतन्त्रलाई आधार मानी विश्लेषण गरेको छ ।
यात्रा तथा पर्यटन क्षेत्रले विश्व अर्थतन्त्रमा पार्ने असरलाई विभिन्न सूचकको मापनद्वारा अध्ययन–विश्लेषण गर्ने गरिन्छ । त्यस्ता सूचकहरूमा पर्यटन क्षेत्रको जीडीपीमा योगदान, रोजगारीका अवसर सिर्जना, पर्यटक खर्च, पर्यटन क्षेत्रको विकासमा सरकारको लगानीजस्ता सूचकहरू पर्छन् ।
पर्यटन क्षेत्रले जीडीपीमा पार्ने प्रत्यक्ष योगदान भन्नाले कुनै पनि मुलुकको सरकार, नागरिक तथा गैरनागरिकले पर्यटन सेवा सम्बद्ध क्षेत्रहरूमा गरेको आन्तरिक लगानीलाई सम्झनुपर्छ । त्यस्ता क्षेत्रमा होटल, हवाईसेवा, विमानस्थल, ट्राभल एजेन्ट, मनोरन्जनात्मक सेवाहरू जो प्रत्यक्ष रूपमा पर्यटकसँग सरोकार राख्ने गर्छन् । जबकि पर्यटन क्षेत्रको जीडीपीमा अप्रत्यक्ष योगदानअन्तर्गत पर्यटन बजारको प्रचारप्रसार, प्रशासनिक तथा सुरक्षा सेवाहरू, सरसफाइ तथा पर्यटन जनचेतना कार्यक्रमहरू, होटल–रेस्टुराँबाट खरिद गरिने खाद्यान्न तथा अन्य सेवाहरूमा गरिएको लगानीबाट उक्त मुलुकको अर्थतन्त्र र रोजगारीमा पारेको प्रभावलाई बुझिन्छ । तसर्थ अर्थतन्त्रमा पारेको प्रत्यक्ष र अप्रत्यक्ष योगदानको समष्टिगत योगफल नै कुल योगदान हो । स्वभावतै जीडीपीमा पार्ने कुल योगदानले बृहत् र व्यापक असर र प्रभावलाई समेट्छ । विश्वव्यापी तथ्याङ्कलाई नियाल्दा पर्यटन क्षेत्रले अर्थतन्त्रमा पुर्याएको प्रत्यक्ष योगदानभन्दा अप्रत्यक्ष योगदानको हिस्सा बढी रहेको पाइन्छ ।
डब्लूटीटीसीको वार्षिक आर्थिक प्रतिवेदन–२०१७ अनुसार सन् २०१६ मा विश्वको कुल गार्हस्थ्य उत्पादनमा यात्रा तथा पर्यटन क्षेत्रले ३.१ प्रतिशत प्रत्यक्ष योगदान गरेको थियो । त्यस्तो प्रत्यक्ष योगदान सन् २०१७ मा बढेर ३.७ प्रतिशत पुग्ने आकलन गरिएको छ । वर्ष २०१६ मा यात्रा तथा पर्यटन क्षेत्रको कुल योगदान १०.२ प्रतिशत (७६१३.३ बिलियन अमेरिकी डलर) रहेको थियो, जुन सन् २०१७ मा ३.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०१६ मा पर्यटन क्षेत्रले विश्वभर १०८ मिलियन प्रत्यक्ष रोजगारी प्रदान गरेको थियो, जुन विश्वको कुल प्रत्यक्ष रोजगारीको ३.६ प्रतिशत हिस्सा हो । त्यस्तै विश्वभर कुल रोजगारी योगदान (प्रत्यक्ष र अप्रत्यक्ष) तर्फ उक्त क्षेत्रले सन् २०१६ मा ९.६ प्रतिशत (२ सय ९२ मिलियन रोजगारी) योगदान गरेकोमा सन् २०२७ मा ११.१ प्रतिशत (३ सय ८१ मिलियन रोजगारी) गर्ने प्रक्षेपण गरिएको छ । सन् २०१६ मा विश्वभर यात्रा तथा पर्यटनक्षेत्रमा ८ सय ६ मिलियन अमेरिकी डलर खर्च गरिएको थियो, जुन उक्त वर्षमा विश्वभर गरिएको सम्पूर्ण लगानीको ४.५ प्रतिशत हो ।
विदेशी पर्यटकले अर्को मुलुकमा गई खर्च गर्ने रकमलाई पर्यटन क्षेत्रको प्रत्यक्ष योगदानतर्फको महत्वपूर्ण सूचकका रूपमा लिइन्छ । यसै खर्चका आधारमा विभिन्न देश–विशेषका पर्यटकलाई गुणस्तरीय र खर्चालु पर्यटकको कोटीमा विभाजन गर्ने गरिन्छ । विश्वभर अन्तर्राष्ट्रिय पर्यटकले सन् २०१६ मा १ हजार ४ सय २ बिलियन अमेरिकी डलर खर्च गरेका थिए, उक्त खर्च सन् २०१७ मा ४.५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सन् २०१७ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटकको आगमन संख्या १ हजार २ सय ९० मिलियन रहने र उक्त संख्या सन् २०२७ मा करिब २ हजार ४२ मिलियन पुग्ने अनुमान गरिएको छ । यसरी प्रत्येक वर्ष अन्तरदेशीय भ्रमण गर्ने पर्यटकको संख्या बढ्दो क्रममा छ ।
सन् २०१६ मा विश्वको कुल जीडीपीमा यात्रा तथा पर्यटन क्षेत्रको विषयगत योगदानमध्ये पर्यटन व्यापार क्षेत्रले करिब २३ प्रतिशत र मनोरञ्जन सेवा प्रदायक क्षेत्रले ७७ प्रतिशत हिस्सा ओगटेका थिए । सोही वर्ष विदेशी पर्यटक खर्चले २८ प्रतिशत हिस्सा ओगटेकोमा आन्तरिक पर्यटन खर्चले ७२ प्रतिशत हिस्सा ओगटेको थियो । आन्तरिक पर्यटन खर्चअन्तर्गत सम्बन्धित मुलुकको सरकारले पर्यटन सेवा तथा पर्यटन पूर्वाधार विकासमा गरेको लगानीसमेतलाई समेट्छ ।
पर्यटनसम्बद्ध विभिन्न सूचकबारे विश्लेषण गर्दा सन् २०११ देखि सन् २०१८ सम्ममा पर्यटन क्षेत्रले विश्व अर्थतन्त्रमा पारेको प्रभाव हरेक वर्ष बढ्दो देखिन्छ । यात्रा तथा पर्यटन सेवाप्रदायक संस्था-कम्पनीहरूले खरिद गर्ने सामान-वस्तु-उपकरणको मूल्य हरेक वर्ष बढ्दो नै छ । विदेशी पर्यटकले सन् २०११ मा गरेको खर्च (१ हजार १ सय ४६ बिलियन अमेरिकी डलर) को तुलनामा सन् २०१७ को प्रक्षेपित उक्त खर्च करिब दुई गुणा (२ हजार २ सय २१ विलियन अमेरिकी डलर) ले वृद्धि भएको छ । पर्यटन तथा यात्रा सेवाप्रदायकहरूको आयातित वस्तुको मूल्य गत ८ वर्षको अवधिमा करिब दुई गुणाले वृद्धि भएको पाइन्छ ।
संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्थाका रूपमा कार्यरत विश्व पर्यटन संगठनको सन् २०१७ को प्रतिवेदनअनुसार जनवरी २०१७ देखि अक्टोबर २०१७ सम्ममा विश्वभर १.१ विलियन अन्तर्राष्ट्रिय पर्यटकले घुमफिर गरेका थिए, जुन सन् २०१६ को सोही अवधिको तुलनामा ७ प्रतिशत अर्थात् ७१ मिलियनले वृद्धि भएको हो । विश्वभर विगत आठ वर्षदेखि अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अटुट वृद्धि भइरहेको देखिएको छ, जुन पर्यटक क्षेत्रका लागि राम्रो संकेत हो । सन् २०१७ मा भौगोलिक क्षेत्रगत पर्यटक आगमनको वृद्धिलाई अघिल्लो वर्षको तुलना गर्दा अफ्रिकामा ९ प्रतिशत, युरोपमा ८ प्रतिशत, एसिया प्यासिफिकमा ६ प्रतिशत, मध्यपूर्व एसियामा ५ प्रतिशत र अमेरिकामा ३ प्रतिशत रहेको छ । एसिया महादेशभित्र सबैभन्दा बढी वृद्धि दक्षिण एसियाले १० प्रतिशत प्राप्त गर्दा एसिया प्यासिफिक क्षेत्रले ६ प्रतिशत वृद्धि हासिल गरेका छन् । पर्यटक आगमनदरको वृद्धिलाई नियाल्दा आगामी दिनहरूमा दक्षिण एसिया उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुने देखिन्छ ।
पर्यटन त्यस्तो क्षेत्र हो, जसको विकासले आर्थिक वृद्धि, रोजगारी सिर्जना, व्यापारमा बढोत्तरी मात्र नभई वातावरण संरक्षण, संस्कृतिको जगेर्ना, विश्व शान्ति र भ्रातृत्व कायम गरी स्वतन्त्र अन्तरदेशीय आवतजावतलाई प्रश्रय दिन्छ । विश्व समुदायले अंगीकार गरेको दिगो विकास लक्ष्यका १७ वटा विश्वव्यापी लक्ष्यमध्ये लक्ष्य ८ सम्मानजनक रोजगारी र आर्थिक वृद्धि, लक्ष्य १२ मितव्ययी खपत र उत्पादन तथा लक्ष्य १७ पानीमुनिको जीवनले पर्यटनक्षेत्रसँग परोक्ष सरोकार राख्छन् भने अन्य १४ वटा लक्ष्यले पर्यटनसँग अप्रत्यक्ष तर महत्वपूर्ण सम्बन्ध राख्छन् । अतः सन् २०३० सम्ममा प्राप्त गर्ने उपरोक्त लक्ष्य तथा सोअन्तर्गतका सहायक लक्ष्यहरूको प्राप्तिसँगै विश्व पर्यटन क्षेत्रले थप उचाइ प्राप्त गर्नेमा कुनै द्विविधा छैन ।