Logo

जुम्लामा एक पालिका, एक कोल्ड स्टोरको माग

जुम्लाको आर्थिक समृद्धि र विकासको मुख्य मेरुदण्ड नै स्याउखेतीलाई मानिन्छ । जुम्लाका १६ हजार घरधुरी किसान स्याउखेतीमै निर्भर छन् । गत वर्ष जुम्लामा अहिलेसम्मकै बढी १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो भने करिब ५० करोड बढी आम्दानी हुने अनुमान गरिए पनि सोअनुसार आम्दानी हुन सकेन ।

जुम्लामा स्याउखेती क्षेत्र विस्तार भए पनि उत्पादन भने अपेक्षित रूपमा बढ्न सकेको छैन । हाल जुम्लाको चार हजार २५० हेक्टर जमिनमा स्याउखेती विस्तार भए पनि उत्पादन ३२ सय हेक्टरमा मात्रै भइरहेको छ । उचित भण्डारणका लागि कोल्डस्टोर नहुनु, परिपक्क नहुँदै काँचो स्याउ बाहिरी जिल्लामा निर्यात गर्नु, ग्रेडिङ, लेबलिङ, प्याकेजिङ नहुुनुलगायतका कारणले जुम्ली स्याउको बजारीकरणमा चुनौती छ ।

जिल्लामा व्यवस्थित कोल्डस्टोर नहुँदा वर्षेनी लाखाैंको स्याउ घरमै कुहिँदै गएको छ । गत वर्ष मात्रै ५/६ लाखको स्याउ घरमै कुहियो गाईभैंसीलाई खुवाउन बाध्य भए । किसान सर्पानन्द हमालले भने, “जिल्लामा उपयुक्त कोल्डस्टोर छैन । अधिकांश किसान परम्परागत शैलीमै जमिनमुखी भण्डारण गर्दा स्याउ कुहिएर खेर जान्छ । जिल्लामा प्रशोधन उद्योग पनि छैन । कोल्डस्टोर नहुँदा पछि कुहिने डरले साउन भदौमा काँचो स्याउ बेच्न किसान बाध्य छन् । त्यसैले आगामी वर्षको बजेटमा एक स्थानीय तह एक कोल्डस्टोर स्थापनामा लगानी बढाउन आवश्यक छ ।”

त्यस्तै गुठिचौर गाउँपालिका–३ का व्यावसायिक स्याउ किसान टंक गिरिले जिल्लामा उचित प्रविधिसहितको कोल्डस्टोर नहुँदा वर्षेनी लाखौंको स्याउ कुहिएर गाईलाई दिनुपर्ने बाध्यता रहेको बताए । उनले भने, “स्थानीय तहको लगानी सडक विकासमा मात्रै बढी देखिन्छ । उत्पादनमूलक क्षेत्रमा तीनै तहका सरकारको लगानी न्यून छ । जुम्लाको स्याउलाई आर्थिक समृद्धिसँग जोड्न उचित भण्डार बिना सम्भव छैन । त्यसैले आगामी आवको नीतिमा जुम्लाका आठै पालिका मध्यम खालको कोल्डस्टोर स्थापनासँगै ढुवानीमा सहुलियतको नीति निर्माणमा प्राथमिकता दिनुपर्छ ।”

किसान गिरिले साढे सात करोड लगानीमा १४ हजार विरुवा रोपेर २२ हेक्टर जमिनमा स्याउखेती गरेका छन् । यसै वर्षबाट उत्पादन हुने भएपछि कोल्डस्टोर नहुँदा उत्पादित स्याउको भण्डारणका लागि गिरि चिन्तित छन् । आगामी आव २०८०÷०८१ को योजना तर्जुमा गोष्ठीमा सहभागी किसानले जुम्ली स्याउको उत्पादन वृद्धि, आर्थिक समृद्धि र जीविकोपार्जनका लागि जुम्लाका आठै स्थानीय तहमा ‘एक पालिका, एक कोल्डस्टोर’ कार्यक्रमलाई प्राथमिकता दिन माग गरेका हुन् ।

सर्पानन्द हमाल र टंक गिरिजस्तै जुम्लाका हजाराैं साना ठूला किसान जिल्लामै व्यवस्थित कोल्डस्टोर नहुँदा मर्कामा छन् । सरकारले वर्षेनी अनुउत्पादन क्षेत्रमा लगानी बढाउने, जुम्ली स्याउको उत्पादन वृद्धि र ब्राण्डका रूपमा बजारीकरण गर्ने कुरा नीतिमै सीमित गर्दा स्याउबाट किसानले अपेक्षित लाभ लिन सकेका छैनन् । जुम्लाका देउऋषि चौलागाईंले व्यक्तिगत लगानीमा १५ लाख मेट्रिकटन क्षमताको बहुउद्देश्यीय कोल्डस्टोर निर्माण गरे पनि बत्ती अभावले सञ्चालनमा आउन सकेको छैन ।

त्यसलाई सञ्चालनमा ल्याउन पहल भइरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले देशमा आर्थिक संकट भइरहँदा आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी आउने बताए । जुम्ली स्याउको उत्पादन वृद्धि, क्षेत्र विस्तार उत्पादित स्याउको भण्डारणका लागि कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले किसानबाट माग भई आएका कार्यक्रम र योजनालाई जस्ताको त्यस्तै पठाउने र एक पालिका एक कोल्डस्टोर निर्माणका लागि पहल गरिने बताए । उत्पादित स्याउको भण्डारण, बजारीकरणमा स्थानीय र प्रदेश सरकारले नीतिमै जोड दिनुपर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले जुम्लामा आठै पालिकामा कोल्डस्टोर निर्माणका लागि माग भई आएको कार्यक्रमलाई स्वीकृत गर्नका लागि पहल गर्ने बताए । जुम्लाको स्याउको ढुवानीमा सहुलियतसँगै सरकारी तवरबाटै अनिवार्य बिमा गरिदिने नीतिमा समेत जोड दिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्