मलेसिया रोजगारी : कोटा पुगेपछि जाने सम्भावना न्यून

नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको मलेसियामा कोटाअनुसार विदेशी कामदार नगएपछि सरकारले नयाँ कोटा स्वीकृति गर्न बन्द भएको छ । कोटा अभावमा मलेसिया जाने मागमा कमी आउने भएकाले तत्कालका लागि मलेसिया जाने सम्भावना न्यून भएको हो । मलेसिया सरकारले आफ्नो मुलुकका लागि आवश्यक विदेशी कामदारको संख्या तोक्ने गर्छ ।
यसअघि मलेसिया सरकारले त्यहाँका रोजगारदातालाई विदेशी श्रमिक ल्याउन १० लाख कोटा स्वीकृत गरेको थियो । रोजगारदाताहरुले अहिलेसम्म आफूहरुले पाएको १० लाख विदेशी कामदार ल्याउन सकेका छैनन् । यही कारण मलेसियाले नयाँ कामदारका लागि कोटा तोक्न बन्द गरेको छ । पुरानो कोटाअनुसारको संख्यामा विदेशी कामदार आएपछि मात्र नयाँ कोटा तोकिने छ । यही कारण अहिले मलेसियाका लागि रोजगारको अवसर न्यून भएको हो ।
अहिले पुरानो कोटाबाट आएको मागअनुसार सीमित संख्यामा मात्र कामदार मलेसिया जान पाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले मलेसिया सरकारले रोजगारदाताका लागि निर्धारण गरेको १० लाख विदेशी कामदार कोटाअनुसार विदेशी श्रमिक आउन बाँकी रहेकाले नयाँ कोटाका लागि स्वीकृति नदिइएको जानकारी दिए । अप्रिलको १४ तारिखदेखि नयाँ कोटा स्वीकृति दिन बन्द गरिएको थियो ।
“मलेसियाका कतिपय रोजगारदाताले सरकारले दिएको कोटा लिने तर विदेशी श्रमिक माग नगर्ने गर्छन्,” उनले भने, “यही कारण स्वीकृत गरेको कोटाअनुसार १० लाखको संख्यामा श्रमिक नजाँदा नयाँ कोटा स्वीकृति रोकिएको हो । यसले नेपालमा आउने मागमा पनि कमी आएको छ ।” पूर्वअध्यक्ष गुरुङले रोजगारदाताले सरकारले निर्धारण गरेको कोटाअनुुसार विदेशी श्रमिक माग गरेर नलैजाँदासम्म माग बढ्न नसक्ने जानकारी दिए ।
मलेसियाको मानव संशाधन मन्त्रालयले छुट्याएको ९ लाख ९५ हजार कुल कोटामध्ये निर्माण क्षेत्रका लागि ३ लाख ४२ हजार १ सय ६ जना हो । यस्तै, सेवा क्षेत्रमा १ लाख ४३ हजार, उत्पादन क्षेत्रमा ३ लाख ८७ हजार र प्लान्टेसनमा ७६ हजार श्रमिक लैजाने भनिएको छ । खनिज उत्खनन् क्षेत्रमा ३ सय ७६ र कृषि क्षेत्रमा ४५ हजार कोटा निर्धारण गरिएको थियो ।
मलेसियाले कोभिड महामारीपछिका ९ महिनामा नेपालसहित अन्य देशबाट ठूलो संख्यामा कामदार माग गरेर लगेपछि त्यहाँ श्रमिक अभाव कम भएको छ । यो पनि अहिले नयाँ कोटा नदिनु र माग घट्नुको अर्को कारण रहेको व्यवसायीहरुको भनाइ छ । यस्तै, पछिल्लो समय उत्पादित सामानको माग घटेका कारण मलेसियाले आर्थिक मन्दीको सामना गरिरहेको छ । आर्थिक मन्दीका कारण त्यहाँका रोजगारदाताले पहिला सरकारले स्वीकृति दिएको करिब १० लाख कोटाअनुसार विदेशी श्रमिक माग गर्न सकेका छैनन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको श्रम स्वीकृतिअनुसार मेनपावर (संस्थागत) रुपमा मलेसिया जाने नेपाली श्रमिकको संख्या पछिल्ला महिना घटेको देखिन्छ । तथ्यांकअनुसार भदौमा मात्र मेनपावरमार्फत ३३ हजार नेपाली मलेसिया गएकोमा चैतमा यो संख्या घटेर १२ हजार १ सय १३ मा झरेको छ । चालु आर्थिक वर्षको भदौबाट मलेसिया जाने नेपाली श्रमिकको संख्या घट्दो क्रममा रहेको देखिन्छ ।
कोभिड तथा अन्य कारण दुई वर्ष मलेसियाको रोजगारी बन्द थियो । एक वर्षअघि मलेसिया खुलेपछि त्यहाँ जाने नेपालीको संख्या अन्य खाडी राष्ट्रको भन्दा बढी हुन पुगेको थियो । एक वर्षअघि मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया गएका थिए ।
विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा ४२ हजार १ सय ४६ मलेसिया गएका थिए । त्यसपछिका वर्षहरुमा क्रमशः ५९ हजार ७ सय १४, १ हजार ३५ थिए । यस्तै, गत वर्ष ३६ हजार ६ सय ४४ युवा मलेसिया गएको तथ्यांक छ । चालु आवको चैतसम्म १ लाख ८७ हजार १ सय ९२ युवा मलेसिया गएका छन् । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो । कोरोना महामारी कम भएपछि एक वर्षअघि खुला गरेको थियो ।
नेपाल र मलेसिया सरकारबीच ४ वर्षअघि श्रमसम्झौता भए पनि दुई वर्षसम्म नेपाली कामदार मलेसिया जाने प्रक्रिया सुरु भएको थिएन । हाल मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् लगभग ४२ हजार रुपैयाँ रहेको छ । यसले नेपाली युवाको मलेसियामा आकर्षण बढ्दै गएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले २०२० मा स्वदेशी तथा विदेशी श्रमिकको तलब १ हजार १ सय रिंगेट रहेकामा केही समयअघि बढाएर १ हजार ५ सय गराएको थियो ।