२ नम्बर प्रदेशमा फागुन ७ गते मन्त्रीको पदवहाली

जनकपुर- प्रदेश नं. २ मा फागुन ७ गतेभित्र मन्त्रीको पदवहाली हुने भएको छ । राष्ट्रियसभामा ८ वटै राष्ट्रियसभाका उम्मेदवारहरू सर्वसम्मतिले चयन भएको हुँदा फागुन ७ गतेभित्र मन्त्रालयका मन्त्रीको पदावहाली हुने भएको हो ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम तोकिएसँगै प्रदेश कार्यालयको स्थापना भएको छ र बुधकार मुख्य सचिवमा राजेश्वरमान सिंहले पदभार ग्रहण गरेका छन् । ७ गतेभित्रै मन्त्रीपरिषद्को स्थापना हुने र तत्काल भवनको अभावमा धनुषाका विभिन्न सरकारी कार्यालयहरूलाई प्रयोग गरिने उनले बताए । धनुषाका कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै उनले प्रदेश नं. २ लाई समृद्ध प्रदेशको रुपमा विकास गर्न कृषि, पर्यटन तथा उद्योगको प्रचुर सम्भावना रहेकोले तत्काल यी विषयवस्तुमाथि केन्द्रित रही कामकाज अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ तथा योजना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुर चुरोट कारखानामा राख्ने तयारी भइरहेको छ भने तत्कालका लागि जनस्वास्थय कार्यालयमा सामाजिक विकास, सहरी डिभिजन कार्यालयमा भूमि तथा कृषि सहकारी, महिला तथा बालबालिका कार्यालयमा उद्योग पर्यटन, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय राख्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले प्रमुख सचिव सिंहलाई जानकारी गराए ।
मन्त्रीपरिषद् गठनसँगै ३५ वटा गाडीको आवश्यकता रहेका कारण १४ वटा केन्द्रले पठाउने र अन्य गाडीहरूको व्यवस्था तत्कालका लागि स्थानीय स्तरमै मिलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी चापागाईले जानकारी दिए ।