हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरू, चुक्तापुँजी ८ अर्ब २ करोड

साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।
एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरे । उनले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिए । तीनवटा कम्पनी एकआपसमा गाभिँदा धेरै चुक्ता पुँजी भई कम्पनी थप शक्तिशाली बनेको उनले बताए । मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले देशकै ठूलो कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गत वर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने नीति ल्याएपछि जीवन बीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलोपटक मर्जर सम्झौता गरेका थिए । यी कम्पनीले तीनवटा संस्था गाभ्ने चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा सूचकमा अगाडि पुगेको छ । जीवन बीमा क्षेत्रमा चुक्ता पुँजीका हिसाबले हिमालयन दोस्रो ठूलो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा धेरै रहेको छ । मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ ।
जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।