क्रिकेट रंगशाला निर्माण अलपत्र «

क्रिकेट रंगशाला निर्माण अलपत्र

पछिल्लो समय नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरका खेलमा एकपछि अर्को सफलता हात पार्दै जाँदा देशभित्र क्रिकेट पूर्वाधारको अवस्था भने दयनीय छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला नहुँदा खेलाडीले सोचेजस्तो तयारी गर्न पाएका छैनन ।तर नेपालमा त्यस्ता थुप्रै क्रिकेट मैदान छन् जहाँ न्यूनतम पूर्वाधार निर्माण गरेर पनि अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन सकिन्छ । त्यसैमध्यको एक हो, कोहलपुरको क्रिकेट मैदान ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कोहलपुर चोकबाट करिब १ किलोमिटर दक्षिण पूर्वमा अवस्थित यस मैदानलाई सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण गर्ने योजनाका लागि ३ करोड रूपैयाँ विनियोजन गरेको घोषणा गर्‍यो । तर हालसम्म रंगशाला निर्माण योजना अलपत्र छ ।

आर्थिक वर्ष सकिन अढाई महिना मात्र बाँकी रहँदा उक्त बजेट कार्यान्वयन हुने नहुनेमा अन्यौलता छ । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य संघीय सरकारवाट कोहलपुरमा महिला क्रिकेट एकेडेमीको संरचना निर्माणका लागि तीन करोड बजेट छुट्ट्याएको सुनेको तर हालसम्म बजेटबारे औपचारिक जानकारी नपाएको बताउँछन् ।

संघबाट विनियोजन भएको रकमबाट काम हुने सम्भावना नदेखेपछि नगरपालिकाले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरेर क्रिकेट मैदानमा संरचना निर्माणको काम गरेको उनको भनाइ छ । “पश्चिम क्षेत्रमा खेलाडी उत्पादनका लागि राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न ३० लाख बजेट विनियोजन गरेको छौं” उनले भने, “जसमध्य अहिले पिँच निर्माणको काम हुँदैछ ।”

नगर खेलकुद विकास समिति कोहलपुरका अध्यक्ष बुद्धिबहादुर थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने ठूलो सम्भावना रहेको कोहलपुरमा सरकारी उदासीनताका कारण संरचना निर्माण हुन नसकेको बताउँछन् । कोहलपुर नगरपालिकाले क्षमताले भ्याएसम्म बजेट विनियोजन गरी सानातीना काम गरेपनि ठूलो बजेट आवश्यक पर्ने हुँदा त्यो पया्र्रप्त नभएको उनको भनाइ छ ।

“स्थानीय तहको बजेट पर्याप्त छैन” उनले भने, “संघीय सरकारवाट विनियोजन भएको बजेटको आर्थिक वर्ष सकिन लाग्दा समेत अत्तोपत्तो छैन ।” राष्ट्रिय खेलकुद परिषदका पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख राजु श्रेष्ठ कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण गर्न टेण्डर आह्वान भएर निर्माण कम्पनी छनौटको आवश्यक प्रकृयामा रहेको बताउँछन् ।

श्रेष्ठका अनुसार रंगशालालाई एकेडेमीको रुपमा विकास गर्न एक अर्ब भन्दा बढी बजेटको डीपीआर तयार गरीएको थियो । तर चालु आर्थिक वर्षको बजेटमा थोरै मात्र बजेट विनियोजन भएपछि निर्माणमा समस्या हुने देखिएको उनको भनाइ छ । “गुरुयोजना अनुसार एकैपटक टेण्डर आह्वान गर्न बहुवर्षिय योजना र स्रोत सुनिश्चितताका लागि मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सहमति लिने प्रयासमा राखेप थियो” उनले भने, “अर्थमन्त्रालयले सहमती नदिएपछि अहिले तीन करोडकै टेण्डर आह्वान गरीसकेका छौं ।”

हाल प्राविधिक प्रस्ताव स्वीकृत भएको र आर्थिक प्रस्ताव स्वीकृत गर्ने प्रकृयामा रहेको पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख श्रेष्ठको भनाइ छ । कोहलपुरमा कुल ४ बिघा, १८ कट्ठा १८ धुर क्षेत्रफलमा फैलिएको मैदानमा सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माणका लागि स्थान पर्याप्त छ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटका सबै खेलहरू यही मैदानमा भएका थिए ।

राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने पर्याप्त सम्भावना हुँदा हुँदै पनि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयारमै रंगशाला सीमित भएको छ । सरकारी उदासिनताका कारण पूर्वाधार निर्माणका काम नबन्दा देशभित्र र अन्तर्राष्ट्रिय मञ्चमा क्रिकेटको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि हुन कठिनाई भएको छ ।

कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्ने चर्चा चलेको लामो समय भइसकेको छ । तर बजेट विनियोजन भएर पनि काम नगरी फ्रिज हुने गरेको छ । सम्बन्धित निकायको गैरजिम्मेवारीका कारण रंगशालाको स्तरोन्नती नहुँदा यहाँका क्रिकेट प्रेमीहरुको सपना पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्