Logo

‘अर्थतन्त्र संकटमा परेको बेला अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा भएको विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै डा. वाग्लेले अर्थमन्त्री महतले विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा समस्याग्रस्त अर्थतन्त्र भएर लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको बताएका हुन् ।

उनले अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको नीति तथा कार्यक्रममा पनि स्थायित्व र स्थिरताका कुरा गरिएको स्मरण गर्दै अर्थतन्त्र त्यतिबेला लयमा भएकाले स्थिरता कुरा गर्न सुहाएपनि वर्तमान अवस्थामा असान्दर्भिक भएको टिप्पणी गरे । उनले सरकारले आइतबार रातिसम्म ७३३ अर्बको राजश्व संकलन र खर्च १ हजार १६ अर्ब गरेको भन्दै राजश्व संकलन र खर्चको बीचको त्यति ठूलो खाडल पूरा गर्न सजिलो नभएको बताए ।

उनले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ परेको उल्लेख गरे । उनले कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको भन्दै अर्थतन्त्रको गतिसँग सम्मान नदेखिरहेको बताए । उनले वस्तु सेवाबीचको आयात र निर्यात, उत्पादन र उपभोगको खाडल भर्नको लागि बजेटमार्फत फरक ढंगले तत्काल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर पुनः मूल्यांकन गर्न सरकारसँग आग्रह गरे ।

यस्तै डा. वाग्लले सरकारले अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले सिद्धान्त र प्राथमिकतामा शिक्षा, स्वास्थ्य खानेपानीका कुराहरु आए पनि विगत ३२ वर्षमा ठूलो परिवर्तन आएको बताए । उनले अब सडक, विद्यालय भन्दा पनि विद्यालयमा सिकाई र अस्पतालामा गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताए । उनले नेपालका कुपोषणको महामारी रहेको भन्दै कुपोषणले सिङ्गो पुस्ताको एक तिहाईलाई प्रताडित गरिरहेको बताए ।

सांसद वाग्लले पहिलो पुस्ताको विकासको चुनौतीबाट दोस्रो पुस्ताको विकास गर्नुपर्ने चुनौतीमा रहेका बताए । सांसद वाग्लले अर्थमन्त्री महतले वित्त नीतिमा ठाउँ छैन भन्दै मौद्रिक नीतिका उपकरणहरुबाट अगाडि जानुपर्ने कुरा गर्नु गलत भएको बताए । उनले सरकारको नीति तथा कार्यक्रमको लागि ठाउँ खोज्नसक्ने हो धेरै स्थान रहेको बताए । उनले सरकारले जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट अगाडि बढ्न सक्नुपर्ने बताए ।

उनले निजी क्षेत्रको मनोवलका कुरा गर्नु स्वागतयोग्य रहेको बताए । उनले आफूले काँग्रेसको घोषणापत्र लेख्न सहयोग गरेको भन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे । उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग माग गरे । उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको यो दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्