खोप खरिदमा एक महिनाको पारिश्रमिक «

खोप खरिदमा एक महिनाको पारिश्रमिक

लाममा “लम्पी स्किन डिजिज” फैलिएपछि जिल्लाका किसानले पालेका गाई मर्नेक्रम बढेपछि इलाम नगरपालिकाका जनप्रतिनिधिहरूले १ महिनाको पारिश्रमिक गाईको खोप खरिदमा लगाउने भएका छन् । उनीहरुले वैशाख महिनाको मासिक पारिश्रमिक खोप खरिदमा खर्च गर्ने बताएका हुन् ।

दुध बेचेर खर्च चलाउन र बालबच्चा पढाउँदै आएका किसान परिवार गाईमा आएको रोगका कारण यतिखेर समस्यामा छन् । लैनो गाई मर्न थालेपछि जनप्रतिनिधिको पारिश्रमिकले केही राहत राहत मिल्ने आँकलन गरिएको छ । नगरपालिकाले नगरको १२ वटै वडाहरुमा लम्पी स्किन डिजिजको खोप लगाउन सुरु गरेको छ ।

इलाम नगरपालिकाका मेयर केदार थापाको अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि खोप लगाउने निणर्य गरेको थियो । सोही अनुसार खोप लगाउन सुरु गरिएको मेयर थापाले जानकारी दिए । उनका अनुसार किसानलाई समस्या भएको भन्ने जानकारी प्राप्त भएपछि नगरभित्रका किसानले पालेका गाईलाई खोप लगाउन सुरु गरिएको हो ।

यसअघि नगर उपप्रमुख विष्णु दहाल लिम्बुको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नकोलागि नगरका सबै जनप्रतिनिधिहरूले १ महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा १६९ भायल खोप आइपुगेकोले करिब ४ हजार ७ सय २५ गाईवस्तुलाई खोप लगाइनेछ । त्यस्तै दोस्रो चरणमा करिब ५ हजार गाईवस्तुलाई खोप लगाइने कार्यतालिका रहेको छ ।

यो खोप लम्पी स्किन डिजिजबाट संक्रमित भएको पशुलाई लगाउने नभई उक्त रोग प्रतिरोधी खोप भएको नगर पशु स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमले जानकारी दिए । पहिलो चरणमा गर्भवती गाई, लैनो गाई, १ वर्ष माथिका कोरली गाईलाई मात्र भ्याक्सिन लगाई अन्य गाईगोरुलाई दोस्रो चरणमा लगाइनेछ । हाल किसानका घरघरमा पुगेर पशु प्राविधिकले खोप लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्