स्वास्थ्य चौकी भवन अलपत्र «

स्वास्थ्य चौकी भवन अलपत्र

ताप्लेजुङ-जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा ठेकेदारको चरम लापरबाहीले २ वटा स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र परेको हो ।
निर्माण सुरु भएको २ वर्षमा पूरा गर्नुपर्ने सम्झौता थियो । तर ६ वर्ष बितिसक्यो सम्पन्न हुने टुंगो छैन । दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो । निर्माणकार्य २०७२ देखि सुरु गरिएको थियो । हिमालयन विल्डर्स प्रालि जोरपाटी काठमाडांै र कविर कन्ट्रक्सन प्रालि काठमाडौं (जेभी)ले ठेक्का पारेको थियो । हाङपाङ स्वास्थ्य चौकी भवनको २ करोड ९५ लाख र चाँगे स्वास्थ्य चौकीको १ करोड ९१ लाखको ठेक्का थियो । प्रालिका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए । कार्की तेह्रथुम सदरमुकामस्थित सिंहबाहिनी उच्च माविमा कार्यरत शिक्षकसमेत हुन् । कार्कीले तेह्रथुम इसिबु निवासी डिल्ली फम्बोलाई निर्माणकार्यको रेखदेख तथा कामदार परिचालनको जिम्मेवारी दिएका थिए । तर अहिले न कार्की न फम्बो दुवैजना निर्माणस्थलमा छैनन् ।
दुवै भवनका लागि बालुवा, सिमेन्ट, ढुंगा र काठपात ढुवानीवापत आफूले २४ लाख रुपैयाँ भुक्तानी नपाएको स्थानीय अर्जुन आङ्बुहाङले बताए । दोभान–चाँगे प्रतिकेजी ढुवानी ५ रुपैयाँ भए पनि आफूले चाँगे र हाङपाङ दुवै भवनका लागि प्रतिकेजी ३ रुपैयाँ ५ पैसामा ढुवानी समझदारी गरेर काम गरेको उनले बताए । आङ्बुहाङले भने, “कहिलेकाहीं सम्पर्क हुँदा दिन्छौं भनेका छन् । यतिका वर्ष भवन त नबनाउनेले अब कहिले देला ?” उनका अनुसार कार्कीले जिम्मा दिएका व्यक्ति फम्बोले पनि २०७३ अन्त्यतिर काम छाडेका हुन् । फम्बोले आफूहरूसँगको कुराकानीमा भुक्तानी रकम कार्कीकै खातामा जम्मा हुने तर आफूलाई नदिएकाले काम छाडेको बताउने गरेका थिए । चाँगेका स्थानीयबासीसँग सापट लिएको पैसा तथा खाना खाजावापतको गरी करिब ४ लाख तिर्न बाँकी छ । स्थानीय ओमनाथ मैनालीसँग सापट स्वरुप लिएको २० हजार फिर्ता गरेका छैनन् ।
यता सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्पनीलाई कालोसूचीमा राखेर भए पनि निर्माणकार्य अघि बढाउने मनसाय बनाएको छ । आयोजना प्रमुख विदुर खड्कासँग असार २९ गतेको छलफलमा विभागले कालोसूचीमा राखेर निर्माणको काम अघि बढाउने परिपत्र गरेको जानकारी पाएको प्रदेश नं. १ सांसद टंक आङ्बुहाङका स्वकीय सचिव प्रजिन हाङवाङले जानकारी दिए । आयोजना प्रमुख खड्कालाई उद्धृत गर्दै हाङवाङले भने, “२ वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म अधुरै पाइयो । म्याद नथपिएको पनि होइन । अब पक्रिया बढाउँछौ ।” चाँगेको तुलनामा हाङपाङमा धेरै काम भएकाले कानुनबमोजिम हाङपाङको हकमा हर्जना तिराएर निर्माण पूरा गर्ने आयोजनाको मनसाय छ । तथापि कार्यान्वयनमा फरक पर्नसक्छ । हाङपाङमा टिन लगाएको छ भने चाँगेमा गारोमात्र लगाइएको छ । दुवै भवनमा वेयरिङ र टायल लगाउनेदेखि फिनिसिङका काम बाँकी नै छन् । गाउँपालिका–४ वडा सदस्य तथा सामाजिक विकास शाखा संयोजक ललित राईले आयोजना प्रमुखसँग गरिएको विस्तृत कुराकानीमा भवन चाँडो बनाउनका लागि तदरुकता देखाउन आग्रह गरेको बताए । राईले भने, “स्थानीयबासी रुष्ट छन् । साँच्चै भन्ने हो भने ठेकेदारले गर्ने लापरबाही हद भयो ।” गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाका अनुसार स्थानीयबासी र कामदार तथा स्थानीय ठेकेदारले पाउनुपर्ने रकम र काममा भएको ढिलाइप्रति प्रशासनमा जाने तयारी छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जो कोही संवेदनशील हुनुपर्नेमा ठेकेदार चुकेको अध्यक्ष सिटौलाले बताए ।
ठेकेदार कार्कीका अनुसार असार १५ सम्म फिल्डमा काम गर्ने कामदार थियो । तर स्थानीयबासीले कामदार भएको भए देखिने गरिको काम हुने बताएका छन् । अन्तिम पटक थपिएको म्यादअनुसार २०७४ चैतमा काम सम्पन्न गर्नुपर्ने थियो । तर आफूलाई निर्माण कम्पनीले असहयोग गरेकाले समस्या भएको दाबी गरे । उनले भने, “दुवै आयोजनाको गरी ३८ लाख जति बैंक ग्यारेन्टी राखेको छु । त्यही भएर पनि अब म्याद थप मागको निवेदन दिएका छौँ । यो वर्षभित्र निर्माण पूरा गर्छौं ।” निर्माण व्यवसायीको माग सम्बोधन गर्ने गरी नेपाल सरकारले गत जेठ २३ गते खरिद नियमावलीको सातौ संशोधन भएकाले त्यसैलाई टेकेर म्याद थपका लागि निवेदन दिएको उनले बताए । खरिद नियमावलीको सातौ संशोधनको दफा १२० को उपदफा ४ को ‘छ’ बमोजिम आफूहरु म्याद थपका लागि आग्रह गर्न हकदार रहेको दाबी गरे ।
सम्झौताअनुसार अब चाँगेको ८० लाख र हाङपाङको ७० लाख भुक्तानी बाँकी हुनसक्ने गाउँपालिकाको आर्थिक वर्ष ०७५-७६ को सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले बताएका छन् । स्थानीयबासीले आफूहरूको भुक्तानीको पहल गरिदिन गाउँपालिकासँग आग्रहसमेत गरेको छ । भवन नहुँदा चाँगेमा साविकको गाविस भवन र हाङपाङमा पुरानै भवनबाट सेवा प्रवाहमा समस्या भएको छ ।

 देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्