स्थानीय तहलाई जग्गा दिने होडबाजी «

स्थानीय तहलाई जग्गा दिने होडबाजी

गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर तोकिनुअघि नै प्रतिहात एक लाख रुपैयाँमा जग्गा किनबेच हुन्थ्यो । अहिले जग्गाको भाउ बढेर दोब्बर भएको छ । सिंगो गाउँपालिकाको पूर्वाधार र भवन निर्माणलाई अहिले पनि जग्गा अभाव छ । ‘किसानका लागि उन्नत बिउबिजन’ कार्यक्रमले भवन निर्माणका लागि रकम उपलब्ध गराएपछि गाउँपालिकाले तत्काल जग्गाको खोजी गरेको थियो ।
स्थानीय मूमिश्वर गौतम, लालमणि गौतम, ध्रुब गौतम र विष्णु गौतमले चार रोपनी जग्गा उपलब्ध गराए । शान्तिपुरमा चार रोपनी जग्गाको मूल्य एक करोडभन्दा बढी पर्छ । उपलब्ध जग्गामध्ये एक रोपनीमा पशु सेवा केन्द्रको भवन, अर्को एक रोपनीमा आँखा उपचार केन्द्र र थप दुई रोपनीमा अन्य कुनै भवन निर्माण गरिने गाउँपालिका अध्यक्ष द्रोण खत्रीले बताए । “सिंगो गाउँपालिकाको भवन निर्माणका लागि भने जग्गा खोजी भइरहेको छ,” उनले भने, “सबै कार्यालय एकीकृत रुपमै राख्ने गरी व्यवस्थापन गर्दै छौं ।”मदाने गाउँपालिकाको केन्द्रका लागि पनि स्थानीय टीकाबहादुर थापाले पाँच रोपनी जग्गा दिए । झन्डै ८० लाख रुपैयाँ मूल्य बराबर उक्त जग्गा आफ्ना लागि नराखी उनले दिएको स्थानीय तोकम कुँवरले बताए ।
सालझन्डी–सन्धीखर्क–ढोरपाटन सडकले छोएका कारण अहिले पनि त्यस क्षेत्रमा पर्ने जग्गा प्रति हात ८० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ । “तर टीकाजीको परिवारले आफ्नो बाटोमा पर्ने सबै जग्गा दानको रुपमै दिनुभएको छ,” उनले भने, “अहिले उहाँसँग बाटोमा कुनै जग्गा नै छैन ।” टीकाबहादुरले भने स्वास्थ्य केन्द्रको भवन निर्माण गर्नका लागि जग्गा दिएको बताए । “कसैले नदिई त बन्दैन,” उनले भने, “त्यसैले मैले भएको सबै दिएँ ।” थापासँगै अहिले स्थानीय गोविन्द कुँवरसहित अन्य पनि आवश्यक जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ ।
सत्यवती गाउँपालिका–४ लिम्घामा स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा अभाव भएपछि स्थानीय समाजसेवी लिलादेवी पल्लीले एक रोपनी जग्गा उपलब्ध गराइन् । भवन निर्माणका लागि एक रोपनी जग्गा अपूग भएपछि उनका छोरा होमबहादुर पल्लीले नजिकैको अर्को जग्गा खरिद गर्न १ लाख २० हजार रुपैयाँ नगदसमेत सहयोग गरे । “भएको जग्गा दियौं,” उनले भने, “थप जग्गा नहुँदा भवन नै नबन्ने भएपछि थप जग्गा खरिदका लागि नगद पनि सहयोग गर्यौं ।”
पल्लीले केही दिन अघि सञ्चालनमा आएको बर्थिङ सेन्टरलाई झन्डै २ लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेका छन् । वडा अध्यक्ष दानबहादुर रानाले भवन निर्माणका लागि जग्गा अभाव भएकै बेला पल्ली परिवारले समाजसेवी भावनाबाटै ठूलो सहयोग गरेको बताए ।
स्थानीय तह बन्नु पहिले नै बिस्तारित बजारको रूपमा रहेको मुसिकोट नगरपालिका केन्द्रमा रहेको वामीटक्सार बजारका स्थानीय जग्गा दिन हानथाप गरिरहेका छन् । केन्द्र रहेको ७ नं. वडामा प्रतिरोपनी जग्गाको ३० लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
नगरपालिकाले आह्वान गरेपछि १५ रोपनीसम्म जग्गा निःशुल्क दिन दाता तयार भएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । “अहिलेसम्म खेल मैदानका लागि ६, बसपार्कका लागि ८ रोपनी जग्गा चाहिएकोमा ९ रोपनी नै पाइएको छ, पार्क निर्माणका लागि १४ रोपनी जग्गा प्रस्ताव आएको छ,” उनले भने । अहिलेसम्म मुसिकोटको कार्यालय र सभाहल निर्माण गर्न जग्गा निश्चित भइ नामसारी पनि भइसकेको छ ।
मुसिकोट नगरपालिकाको कार्यालय बस्ने भवन मुसिकोट नगरपालिका–७ कृष्णहरी सापकोटा आँखा उपचार केन्द्रको केही पर क्याम्पसको गुठी जग्गा नजिकै बन्ने भएको छ । गुठी नजिकै नरबहादुर काफ्ले, लोकबहादुर पन्थ र शोभाखर सापकोटाको पहलमा उनका भाइ कृष्ण सापकोटाले ९ रोपनी २ आना जग्गा दिएका छन् । सो जग्गामा अब नगरपालिकाको भवन बनाइने वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । सो क्षेत्रमा करिब २ रोपनी जग्गा आउने प्रक्रिया चलिरहेको समेत उनले बताए । त्यसैगरी नगरपालिकाका लागि सभाहल निर्माण गर्न हाल क्याम्पस रहेको भवनको साइडमा मछिन्द्र शाक्य, चुडामणी सापकोटा, राजकुमार शाक्य र बिष्णु शाक्यले ४ रोपनीभन्दा केही बढी जग्गा प्रदान गरेका छन् ।यस्तै बसपार्क निर्माण गर्न पनि जग्गाको खोजी भइरहेको छ । रेडियो पुष्पाञ्जली रहेको कार्यालयभन्दा केही मुनि बसपार्क निर्माण गर्न जग्गाको प्रक्रिया चलिरहेको तर नगरपालिकाको नाममा पास भने भइनसकेको बताइएको छ । सो क्षेत्रमा बिजय बौद्धाचार्य, दुर्गा कक्षपति, बिरन शाक्य तथा शाक्य परिवारले समेत ५ रोपनी जग्गा प्रदान गरेका छन् ।
नगरपालिकामा खेलमैदान निर्माण गर्न हालको बसपार्कबाट केही माथीपट्टी रहेको ८ रोपनी सार्वजनिक जग्गा र डिबी जिसीले दिने १ रोपनी जग्गामा प्रक्रिया चलिरहेको छ ।
त्यसैगरी नगरपालिकाको लागि रुद्रावती बहुमुखी क्याम्पस मुनिपट्टी बाङ्गे भन्ने स्थानमा ९ रोपनी जग्गाको दिने औपचारीक पत्र नगरपालिकामा आइसकेको भए पनि कुन कार्यालय राख्ने भन्ने यकिन हुन नसक्दा पास हुन सकेको छैन । अन्य स्थानीय तहको पूर्वाधार निर्माणका लागि पनि सरकारलाई जग्गा दिन दाता तयार रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रलेले गाउँपालिकाका लागि १८ रोपनी जग्गा प्राप्त भएको बताए । गाउँपालिकाका नाममा भर्खरै जग्गा पास भएपछि पूर्वाधार निर्माणका काम सुरु भएको उनले बताए ।
भौतिक पूर्वाधार निर्माणका लागि स्थानीय तहलाई निःशुल्क जग्गा दिने दाताको संख्या बढ्दो छ । बजार विस्तारले कतै जग्गाको मूल्य बढ्ने आशा त कतै समाजसेवी उद्देश्यले पनि जग्गा दिनेको होड चल्ने गरेको छ ।
स्थानीय तहका दुई नगर र १० गाउँपालिका मध्ये सदरमुकाममा रहेको रेसुंगा नगरपालिका बाहेक अन्य सबै क्षेत्रमा सरकारी भवन निर्माणका लागि जग्गा अभाव छ । अधिकांश केन्द्र यसअघिकै व्यापारिक केन्द्र भएका स्थानमा तोकिएकाले पनि पूर्वाधार निर्माणमा जग्गा अभाव हुन सक्ने धेरैको आशंका थियो । तर, धमाधम जग्गा दाता बढ्दै गएका छन् ।

भौतिक पूर्वाधार नै प्रमुख चुनौती
नगर तथा गाउँपालिकालाई अहिलेको प्रमुख चुनौती भौतिक पूर्वाधार बनेको छ । भर्खरै कर्मचारी र कार्यालय गएपछि कहाँ बस्ने र कार्यालय कसरी सञ्चालन गर्ने समस्या छ । कतिपय साविकका गाविसका कार्यालय पनि नभएका ठाउँमा अझ समस्या भएको छ ।
जिल्लाका केही गाउँपालिका व्यक्तिले बनाएका घरमा भए पनि धेरै स्थानीय तह साँघुरो र असहज अवस्थामा काम गरिरहेका छन् । मदाने गाउँपालिकाको पुर्कोटदहमा ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालय, स्वास्थ्यचौकी, कृषि तथा पशु सेवा केन्द्र, बहुमुखी क्याम्पस छ । तर, मालिका गाउँपालिको अर्खबाङमा निर्माण गर्नेबाहेक कुनै पूर्वाधार राम्रो छैन ।
तत्कालिन गाविसको पनि आफ्नै कार्यालय भवन थिएन । अहिले मालिका गाउँपालिकाको कार्यालय महिला समूहको अत्यन्तै पुरानो र साँघुरो भवनबाट सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।
बैठक तथा तालिम सञ्चालन गर्नुपरे चौरमा जानुपर्ने अवस्था रहेको उनले बताए । धुर्कोट गाउँपालिकाको जैसीथोक वरबोट केन्द्र बस्ती विकास नै नभएको ठाउँ हो । त्यहाँ पनि सबै संरचना निर्माण नभएसम्म निकै समस्या परिरहेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्