रित्तिँदै गाउँ, बाँझिँदै खेतीयोग्य जमिन
विकासले रोकिएन बसाइँसराइ

संखुवासभा खाँदबारीका वीरेश राई व्यवस्थित बासका लागि सपरिवार मोरङको सुन्दरपुर झरे । पुख्र्यौली सम्पत्ति बेचेर तराई झर्ने उनी एक्ला होइनन्, कानुनी रीत पुर्याएर बसाइँ सर्नेको संख्या दिनदिनै बढेको छ । अझ पछिल्लो समय पहाडका जमिन बिक्री हुन छाडेका छन् । बिक्री नभएपछि त्यतिकै छाडेर हिंडिरहेका छन् ।
“बिरामी हुँदा पैसा हुनेले पनि बेलैमा उपचार पाइँदैन,” राईले भने, “आफ्नोभन्दा सन्तानको सुरक्षित भविष्यको खोजीले मान्छे आफ्नो पुरानो थलो छाड्दो रहेछ ।” राई त प्रतिनिधि पात्रमात्रै हुन् । संखुवासभा मात्रै होइन पूर्वी पहाडी जिल्लाबाट बसाइँ सर्नेको ताँती नै लागेको छ पछिल्लो समय । त्यसो त भोजपुर भुल्केका कृष्ण भट्टराई पनि विकासले रोक्न सकेन । उनी गत वर्ष इटहरी झरे ।
गाउँबाट धेरैजसो बाहुन–क्षेत्री परिवार बसाइँ गएका छन् । पूर्व शिक्षक, दलका अगुवा र जनप्रतिनिधि पनि छन् । दशकअघि २ सय २० घरपरिवार रहेका भुल्केका भट्टराई समुदाय ५८ मा सीमित भएका छन् । भुल्केसँगै जोडिएको धोदलेखानी ५ को नेपालटोलका सबै बसाइँ गए । छिमेकी र दाजुभाइले छाडेर गएपछि एक्लिएका मणिराम नेपाल पनि इटहरी झरे ।
उनका अनुसार गाउँबाट १२ घर बाहुन, १० क्षेत्री, ३ राई र २ घर तामाङ बसाइँ गए । हङकङ, सिंगापुर र बेलायती सेनामा नोकरीवालाको बसोबास रहेको धोद्लेखानी ३ को कटुन्जे गाउँमा केही पेन्सनवालाबाहेक अरूले पुरानो थलो छाडिसके । पूर्वी पहाडबाट तराईका जिल्लामा बसाइँ सर्नेको लर्को पछिल्ला समय अझ बढेको छ । वैदेशिक रोजगारीले पनि पुरानो बाबुबाजेको थलो छाड्ने क्रम बढाएको छ । धेरै सुविधा भएको मानिने जिल्लामा बसाइँसराइको लर्को लागिरहने हो भने चाप थेग्नलाई हम्मे हुने अवस्था आउँछ ।
कोशीका पहाडी जिल्लाबाट निकै अघिदेखि विराटनगर बसाइँ आउनेको भनाइमा मूल कारण उद्योगधन्दामा काम पाइने, औषधोपचारका लागि ठूला अस्पताल र केटाकेटी पढाउन स्कुल–कलेजको पहुँच सहज हुनु हो । गाउँबाट अलि सजिला बजार र त्यहाँबाट अन्य सजिला ठाउँ बसाइँ जाने क्रम सहरीकरणले तीव्रता पाएका क्षेत्रमा सामान्य प्रक्रियाभित्र पर्छ । तर, लर्को थामिएन भने सहरी पूर्वाधारको पहुँचले बसाइँ अप्ठेरो हुन्छ ।
एक दशकयता पूर्वमै सबैभन्दा धेरै जमिन प्लटिङ भएको इटहरीमा स्थानीयवासी अहिले जनघनत्वको तुलनामा सडक, ढल र खानेपानीका लागि सम्बद्ध निकायसँग कार्यक्रम मागिरहेका छन् । कसैले पानी, आफू सुहाउँदो समाज, अस्पताल, स्कुल–कलेज र कतिपयले जीवनयापन सहज बनाउने आधारभूत सुविधाको अभावलाई कारण भन्दै पुरानो थातथलो छाड्ने गरेको पाइएको छ । जसले गर्दा हिमाल, पहाड र तराईको जनसंख्यामा निकै उतारचढाव आएको देखिन्छ ।
खोटाङ दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ रात्माटाका का ९० वर्षीय रत्नमान श्रेष्ठ गाउँका पुराना मान्छेहरू सबै हिंडिसकेको भन्दै चिन्ता व्यक्त गर्दछन् । घरभन्दा पारिपट्टीको आलडाँडामा एक दशकअघिसम्म ५ मुरी कोदो र एक थाँक्रो मकै उत्पादन गरेको स्मरण गर्दछन् । तर अहिले सबै बाँझो भएको छ । वनमारा र घँघरुले ढाकेको छ । गाउँमा गाडी र विद्युत पुगेको छ । र, पनि बसाइँ सर्नेहरू मन ती गाडी र बिजुलीले रोक्न सकेन ।
रात्माटा मात्रै होइन आसपासका सबै गाउँका आधाभन्दा बढी मानिसहरू आफ्नो थाकथलो छाडेर हिंडिसकेका छन् । “म त मृत्यु कुरेर बसिरहेको छु,” श्रेष्ठले भने, “बूढी पनि यही मरि म पनि यही मर्छु ।” उनका छोरा र नातिहरू कोही विदेश, कोही काठमाडौं त कोही इटहरीतिरै बस्छन् । उनी भन्छन्, “हेर्दाहेर्दै अन्न उत्पादन हुने जमिन जंगल भएको देख्दा मनै कटक्क खान्छ ।”

चुरेक्षेत्र बसाइँ सर्नेको रोजाइमा
पहाडको जनसंख्या तराई मधेसमा सर्ने क्रम बढे पनि झापादेखि उदयपुरसम्मको ट्रेण्ड हेर्दा मानिसहरूको बसोबास पूर्वपश्चिम राजमार्गभन्दा धेरै दक्षिणतिर हुने गरेको पाइँदैन । राजमार्ग आसपास विगत एक दशकयता सहरीकरण ह्वात्तै बढेको छ । सरकारले घोषणा गरेका नगरपालिकाहरूको सूची देखाए पनि पहाड र तराई जोडिएको उपल्लो तराई क्षेत्रमा जनसंख्या तीव्र गतिमा बढेको देखिन्छ ।
झापाको काँकडभिट्टादेखि सुनसरीको इटहरीसम्मको राजमार्ग आसपास सहरीकरण अत्यधिक बढेको छ । दक्षिणमा रहेको झापाको सदरमुकाम चन्द्रगढी सुक्दै गएको छ । दक्षिणी झापामा झोडा फाँडेर बस्नेहरू विर्तामोडतिर बसाइँ सरिरहेका छन् । पहाडबाट झर्नेहरूको रोजाइ पनि राजमार्ग आसपास र सकेसम्म उत्तरतिर हुने गरेको छ । मधेश आन्दोलनपछि पहाडबाट बसाइँ सर्नेहरू पूर्व–पश्चिम राजमार्गमै बढी केन्द्रित भएका छन् ।
अझ राजमार्गभन्दा उत्तरतर्फ बसाइँ सरेर झर्नेहरूको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ । झापामा देखिएको यो ट्रेण्ड मोरङको उर्लाबारी, विराटचोक हुँदै सुनसरीको इटहरीदेखि कोशीब्यारेजसम्म देख्न सकिन्छ । यो क्षेत्रमा पहाडे समुदायको जुन ढंगले बस्ती विकास भइरहेको छ, त्यसले पहाडको जनसंख्याको रोजाइ झापा, मोरङ र सुनसरीमा बढी केन्द्रित भएको देखाउँछ । हिमाली र पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति परम्परा जस्तै बनेको छ ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती रित्तिँदै गएका छन् । जनसंख्याको असमान वितरणले हिमाल र पहाड खाली हुने तथा तराईमा बसोबासको क्रम बढेको छ । दश वर्षअघिसम्म ७० भन्दा बढी परिवारको बसोबास रहेको धनकुटाको साविक तेलिया गाविस वडा नम्बर ६ मा बसाइँ–सराइका कारण अहिले जम्मा ९ घर मात्र बाँकी छन् । यहाँबाट हिंडेका सबै तराईका झापा, मोरङ र सुनसरी झरे ।
यो तथ्यले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्ने प्रवृत्तिको प्रतिनिधित्व गर्छ । पहाडका खेतीयोग्य भू–भाग जंगलमा परिणत भएका बेला तराईको उर्बर जमिन घरघडेरीमा परिणत भएको छ । जसले खाद्य संकट, वन र वातावरण विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र स्रोतको प्रयोगमा अस्वस्थ प्रतिस्पर्धा बढाएको स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक डा. टुनराज भट्टराई बताउँछन् ।
“एकातिर पहाडका खेतीयोग्य जमिन जंगलमा परिणत भएका छन् भने तराईका उर्बर भूमिहरू घरले ढाकिँदै गएका छन्,” प्राध्यापक भट्टराईले भने, “यसले मुलुकको व्यापार घाटा वृद्धिमात्रै भएको छैन भविष्यका खाद्य संकट निम्तिन सक्ने सम्भावना पनि बढेर गएको छ ।” अव्यवस्थित बसोबास, सहरी सडक, ढलनिकास, बेरोजगारी र असुरक्षा सहरी जनसंख्या वृद्धिका चुनौती बनेका छन् ।
अवसर र सुविधाको असमान वितरणले खाली हुँदै गएका हिमाल, पहाड र तराईमा अनियन्त्रित बन्दै गएको जनसंख्या व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सोच्न ढिलाइ गर्न नहुने विकासविज्ञ चन्द्रप्रसाद भट्टराईको सुझाव छ । “तीनै तहको सरकारले बसाइँसराइ रोक्ने नीति तत्काल ल्याउनुपर्छ,” भट्टराईले थपे, “खानेपानी, शिक्षा र स्वास्थ्यको सहज पहुँच हुने हो भने अहिलेको समस्या आउँदैन ।”
संघीयता र विकासले रोकिएन बसाइँसराइ
डेढ दशकअघिसम्म पहाडी जिल्लाका बासिन्दाका लागि नुन बोक्न तराई झर्नुपर्ने बाध्यता थियो । पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगाका बासिन्दा नुन, मट्टितेल, चिनीलगायतका सामान लिन हप्ता दिन हिंडेर तराईका बजार झर्थे । तर, अब त्यो बाध्यता रहेन । पहाडका गाउँ–गाउँमा सडक पुगेको छ । बिजुली बत्ती पनि पुगिसकेको छ । ढाकर र टेगान लगाएर नुन ओसार्नु पर्दैन ।
ट्याक्टरले घर–घरमै पुर्याइदिन्छ अडरअनुसारका सामान । सुविधा पुगे पनि बसाइँसराइ भने रोकिएन । झन् बसाइँ सराइको क्रम बढ्दै गएको छ । पहाडका सबैजसो गाउँपालिकामा कच्ची सडक सञ्जालको विस्तार भइसकेको छ । यसरी निर्माण गरिएका सडक केहीलाई छाडेर वर्षा लागेपछि अवरुद्ध हुन्छन् ।
पहाडमा सडक र बिजुलीको सुविधा पुगेर पनि बसाइँसराइ नरोकिनुको कारण खानेपानीको अभाव, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको कारण मान्छन् स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापक अनिल पोखरेल । “बरु एक छाक खाने तर सहरमै बस्ने मनोवृत्ति बढ्दै गएको छ,” प्राध्यापक पोखरेलले भने, “यसले नेपाली समाजलाई भताभुंग बनाएको छ ।”
बसाइँसराइले परम्परागत संस्कृति, भाषा, जातीय रहनसहनलाई असर पुगेको उनको कथन छ । जनप्रतिनिधि गाउँमा विकासको लहर चलिरहेको दाबी गर्छन् । सबै सुविधा गाउँमा पु¥याइएको भन्दै सांसद्हरू चर्को भाषण गर्छन् । तर, स्थानीयलाई भने गाउँको त्यस्तो विकासले गाउँमै अड्याउन सकेको छैन । बसाइँसराइलाई संघीयताले समेत छुन नसकेको खोटाङ दिप्रुङ–चुइचुम्मा–४ स्थित श्रीराम्चे माविका प्रधानाध्यापक ईश्वर लम्सालले बताए । पहाडमाा संघीयता आएसँगै विकासले गति लिए पनि बसाइँसराईलाई नरोकेको उनको कथन छ ।
उत्पादकत्वमा ह्रास
बसाइँ हिंड्नेहरू केहीले बाहेक अधिकांशले खेतबारी त्यतिकै छाडेर हिंड्ने गरेका छन् । पहाडका उर्बर मानिएका जमिनसमेत बिक्री हुन छाडेको छ । बसाइँ हिंड्ने हरेक परिवारका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्छन् । उनीहरूले कमाएको पैसाले तराईको गाउँमै भए पनि १०–१५ घुर जग्गा खरिद गर्छन् र त्यहीं सानो घर बनाएर बसाइँ सर्छन् । उता उनीहरूले छाडेको पहाडको जग्गा बाँझै हुन्छ भने तराईका उर्बर जमिनमा समेत घरहरू ठडिने क्रम बढ्दै गएको छ ।
पहाडका जमिन बाँझो बस्ने र तराईका उर्बर जमिनमा घर बन्दा उत्पादनमा गम्भीर असर परेको महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा. बाबुराम तिम्सिनाको भनाइ छ । बसाइँ सराइलाई नरोके मुलुक सामाजिकसँगै आर्थिक रूपमा समेत जर्जर हुने जोखिम बढेर गएको तिम्सिना बताउँछन् । स्थानीय तहहरूले बसाइँ सराइ रोक्न नयाँ योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।
पहिलो रोजाइ विराटनगर
महानगरसँगै प्रदेशको राजधानी भएपछि विराटनगरमा बसाइँ सरेर आउनेको चाप ह्वात्तै बढेको छ । विराटनगरमा पहाडी जिल्लासँगै तराईका सिरहा र सप्तरीबाट समेत स्थायी बसोबास गर्न आउनेको संख्या ह्वात्तै बढेको देखिन्छ । महानगरपालिकाका अनुसार नक्सा पास गरेर बर्सेनि एक हजारभन्दा बढीले घर बनाउँदै आएका छन् । स्वीकृति नलिई घर निर्माण गर्नेको संख्या पनि त्यति नै छ ।
पूर्वी नेपालकै पुरानो सहर तथा सुविधासम्पन्न सहरका रूपमा विराटनगर विकसित भएपछि बाहिरी तथा सोही जिल्लाबाट मानिस बसाइँ सर्ने क्रम बढेको पाइएको छ । महानगरपालिकाभित्र बसाइँ सरेर आउनेमा पूर्वी पहाड ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम र धनकुटाका धेरै छन् । त्यस्तै तराईका सप्तरी, सिरहा, सुनसरी, झापाका मानिस पनि बसोबासका लागि यहाँ आउने गरेका छन् । महानगरपालिकाका अनुसार नगरक्षेत्रमा बसाइँ सरेर आउनेहरूले निर्माण गर्ने घरमध्ये करिब ९० प्रतिशत पक्की छन् ।
तथ्यांकअनुसार प्रत्येक वर्ष महानगर क्षेत्रमा १ हजारभन्दा बढी नयाँ घर निर्माण हुने गरेका छन् । महानगरपालिकामा उपलब्ध सबैजसो सेवासुविधा उपलब्ध रहेकाले विराटनगर बसोवासका लागि कोशी प्रदेशकै ‘हब’ बन्दै गएको छ । महानगरपालिकालाई आकर्षक र थप सुविधासम्पन्न बनाउन विभिन्न ठूला परियोजना सञ्चालनमा रहेको मेयर नागेश कोइरालाले बताए ।