उत्पादन बढाउन सिँचाइ योजना निर्माण

सिँचाइ अभावकै कारण कर्णाली प्रदेशमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । यूवा पलायन बढ्नु, सिँचाइ सुविधा नहुनु र उत्पादनमैत्री नीति नहुनुले कर्णालीमा खेती योग्य जमिन बाँझिदै गएको हो ।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा खेतीयोग्य जमिन मात्रै १२ हजार बढी हेक्टर बाँझो रहेका छन् । जुम्लाका आठै पालिकाका लेकदेखि बेसीको जमिन उत्पादनका हिसाबले उर्वर मानिाएको छ । बेसीमा गौ, जौ, धान मकै देखि लेकमा कोदो पापर, लेकाली जौ गौ, स्याउ, ओखर खेती लगायतको सम्भावना उच्च छ । तर पर्याप्त सिँचाइ सुविधा नहुँदा उर्वर जमिन भएर पनि उत्पादन वृद्धि हुन सकेको छैन ।
सिँचाइ सुविधा अभावकै कारण घट्दो उत्पादनलाई बढाउन, बाँझो खेती योग्य जमिनलाई उत्पादनमुखी बनाउन कृषि विकास कार्यालय जुम्लाले सिँचाइ सुविधा विस्तार काम गर्दै आएको छ । जस अन्तरर्गत जुम्लाका आठै पालिकाकाको गाउँगाउँमा सिँचाइ योजना निर्माण गरेको छ । बाँझो जग्गा सिंचित हुने, उत्पादन वृद्धि हुने, सबै किसानमा कृषिको पहुँचमा पुग्ने आशासहित गाउँगाउँमा दर्जनौ सिँचाइ आयोजना निर्माण गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार जिल्लाभर चालू आवमा मात्रै १ सय ३ वटा सिँचाइ योजना निर्माण भएका छन् । अधिकांश योजना सम्पन्न भइसकेका छन् । केही अधुरा योजना अन्तिम चरणमा छन् । निर्माण सम्पन्न भइसकेका सिँचाइ योजनाको अनुगमन समेत सुरु हुन थालेको छ । पहिलो दिन गुठिचौर, चन्दननाथ र तातोपानीमा निर्माण भएका ७ वटा सिँचाइ योजनाको अनुगमन गरिएको हो ।
जसअन्तरर्गत गुठिचौर गाउँपालिकामा ५ कुम्डीमा ६ लाख रुपैँयाको लागतमा १६६ मिटर लामो कुम्डि ज्युला सिँचाइ कुलो, देपालगाउँमा ५ लाख लगानीमा ९५ मिटर लामो कूलो, कालिका प्रावि सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । त्यस्तै चन्दननाथ नगरपालिका २ मा ८ लाख लगानीमा २२४ मिटर कालेखोली सिँचाइ कुलो निर्माण भएकोमा स्टमेट अनुसार ८ मिटर कुलो निर्माण अपुग भएकोले पुनः निर्माण गर्न लागिएको छ ।
त्यस्तै चन्दननाथ ३ मै पुदालादेखि घट्टा ज्युलासम्म ६९ मिटर सिँचाइ कुलो ५ लाखमा निर्माण भएको छ । उता तातोपानी गाउँपालिका १ राँकामा ५ लाख लागतमा खाल्मी ज्युला सिँचाइ कुलो निर्माण भएको छ । उक्त योजनाबाट ६२५ किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । गत असोजको बाढीले कुलो भत्किएर रोपाई अनिश्चत हुने अवस्थामा कृषि कार्यालयको अग्रसरतामा गाउँमा सिँचाइ कुला बनेपछि किसान उत्पाहित भएका छन् ।
तातोपानी १ राँका खाल्मी ज्युला सिँचाइ कुलो निर्माण उपभाक्ता समितिका अध्यक्ष कर्णबहादुर नेपालीले बताए । उनका अनुसार राँका कृषि विकासको योजना संगै पालिकाले कुलोमा भरिएको वालुवा फालेपछि रोपाई सहज हुने भएको हो । तातोपानी ५ श्रीनगरको ज्युलोमा ७ लाख २५ हजार लागतमा चुकबाडिदेखि ठाँडो गोहोसम्म सिँचाइ कुलो निर्माण भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले गाउँगाउँमा निर्माण भएका सिँचाइ योजनाले उत्पादन वृद्धिसँगै किसानको जीविकोपार्जनमन सुधार ल्याउने आशा व्यक्त गरे । निर्माणका क्रममा गुणस्तर र पछि संरचना संरक्षणमा उपभोक्ताले ध्यान दिनु पर्ने उनको सुझाव छ । चन्दननाथका उपमेयर रामदेवि खड्का र तातोपानीका उपाध्यक्ष रेवती रावलले जुम्लाको प्रथामिकतानै कृषि क्षेत्र भएकोले स्थानीय सरकारदेखि विषायगत कार्यालयले सिँचाइ सुविधा विस्तारमा अझै लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले निर्माण सम्पन्न भएका सिँचाइ योजनाको अनुगमन भइरहेकोले स्टमेट अनुसार काम भएका योजनाको तुरुन्त भुक्तानी दिईने बताए । स्टमेट अनुसार काम नभएका योजनाको काम पुनः गर्न लगाएर मात्रै भुक्तानी दिइने छ । सिँचाइ योजजना निर्माण उत्पादन वृद्धिसँगै बाँझो जमिनमा पनि खनजोत हुने र यूवा कृषिमा आकर्षित हुने आशा गरिएको प्रमुख अधिकारीले बताए ।