राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मलन गरी कुल १ हजार ६ सय ७७ मतदातामा ८ जनामात्र अनुपस्थित रहेको जानकारी दिएको छ । निर्वाचनमा १ हजार ६ सय ६८ जनाले मतदान गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । प्रदेश ३ र ४ मा भने शतप्रतिशत मतदान भएको छ ।
मतदानका लागि आयोगले प्रदेशसभाका सदस्य र स्थानीय तहका मतदातालाई अलग अलग मतदान केन्द्रको व्यवस्था गरेको थियो । कुल ५६ पदका लागि भएको निर्वाचनमा २४ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए भने ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा थिए । बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम समेत आउन थालेको छ भने केही स्थानमा मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्ममा सबै मतपरिणाम आइसक्ने छ ।
निर्वाचनमा अधिकांश स्थानमा एमाले र माओवादकिो बाम गठबन्धन अगाडि देखिएको छ । प्रदेश १ मा चुनावी प्रतिस्पर्धाबाट थप २ जना विजयी भएका छन् । दलित र अपागंता भएका व्यक्ति वा अल्पसंख्यक समूहका लागि निर्वाचन भएको थियो । जसमा एमालेका खेम नेपाली र अगमप्रसाद बान्तवा निर्वाचित भए । ८ मध्ये ६ जना निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नैनकला ओझा (एमाले),बिना पोखरेल (माओवादी),सरिता प्रसाईं (कांग्रेस),पर्शुराम मेघी गुरुङ (एमाले),रमेशजंग रायमाझी (कांग्रेस) र हरिचरण शिवाकोटी (एमाले) रहेका छन् ।
त्यस्तै, प्रदेश ७ मा बद्री पाण्डे (कांग्रेस), शेरबहादुर कुँवर (एमाले)हरिराम चौधरी (माओवादी), तारादेवी भट्ट (कांग्रेस), इन्दु कडरिया (एमाले) र कमलाकुमारी ओली (एमाले) निर्विरोध भएका छन् । यो प्रदेशमा २ पदका लागि मात्र निर्वाचन भएको हो । जसमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन । एक दलित र एक अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यहरूको लागि भएको निर्वाचनमा दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यमा नेकपा माओबादी केन्द्रका महेश कुमार महरा निर्वाचित भए ।
जो मतदानबाट बञ्चित भए
निर्वाचनमा सहभागि नभएका ८ मध्ये १ जनाको निधन भएको थियो भने अन्य ७ जना मतदान प्रक्रियामा सहभागी भएनन् । संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको गत महिना दुर्घटनामा परी मृत्यु भएको थियो । त्यस्तै, प्रदेश १ मा ३ जना मतदानमा सहभागि भएनन् । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष कांग्रेसका रुद्रकुमारी साँवा र ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फे मतदानमा सहभागि भएनन् । त्यस्तै, प्रदेश ४ मा मनाङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ ( दीपक मनाङे), प्रदेश ५मा राजपाबाट प्रदेश सभामा समानुपातिक सदस्य निर्वाचित बीना पन्त र संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष जितेका इश्तियाक अहमद शाह मत हाल्न गएनन् । त्यस्तै, प्रदेश ७ मा राजपाका प्रदेश सांसदहरू मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा सहभागि भएनन् ।
प्रदेश १ को दुवै पदमा बाम गठबन्धन विजयी |