वैदेशिक रोजगार बीमामा उछाल, आर्थिक समस्याले खुम्चियो निर्जीवन बीमा

पछिल्ला महिनाहरूमा वैदेशिक रोजगार बीमामा अत्यधिक वृद्धि देखिएको छ । कोरोना महामारीबाट तंग्रिएपछि विभिन्न मुलुकमा नेपालबाट रोजगारीका लागि जानेको संख्या बढ्दै जाँदा बीमामा पनि उत्साहजनक वृद्धि देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा १४ लाख ५९ हजार ३ सय १५ वटा वैदेशिक रोजगार बीमालेख जारी भएको छ । गत आर्थिक वर्षको चैतसम्मको तुलनामा यो बीमालेख ७१.१२ प्रतिशतले बढी हो । बीमा कम्पनीहरूले गत आवको चैतसम्ममा ८ लाख ५२ हजार ८ सय २७ वटा बीमालेख जारी गरेका थिए । यी कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट चालु आवको चैत मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
पछिल्लो समय बीमा कम्पनीहरूले डिजिटल प्रविधिलाई आत्मसात् गर्दै जाँदा कतिपय झन्झटिला प्रक्रियामा सेवाग्राहीहरू अलमलिन पर्दैन । यसरी कम्पनीहरूले अनलाइनबाट बीमालेख किन्न सक्ने व्यवस्थालाई बढावा दिँदा सेवाग्राहीहरूले पनि यसप्रति चासो देखाउने गरेका छन् । सोही कारण वैदेशिक रोजगारीमा जानेहरूले सक्रियतापूर्वक बीमामा सहभागी हुने गरेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ ।
उनले भने, “वैदेशिक रोजगार बीमालेख वृद्धि हुनुको कारण डिजिटाइजेसन पनि एक हो । यसबाहेक कोरोना महामारीपछि विभिन्न मुलुकमा रोजगारीका लागि जानेको संख्या बढ्दा बीमा गर्नेको संख्या पनि बढेको हो ।”
आर्थिक सुस्तताका कारण मानिसमा क्रयशक्ति नै नभएकाले बीमा क्षेत्रमा पनि यसको असर परेको उनले बताए । आगामी असार मसान्तसम्ममा भने निर्जीवन बीमातर्फ पनि केही वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ । यसबाहेक जीवन बीमालेख १७.०५ प्रतिशतले बढ्दा म्यादी तथा लघु म्यादी जीवन बीमालेखको संख्या गत वर्षको चैत मसान्तको तुलनामा १५.४७ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको चैतसम्ममा ४७ लाख ६० हजार ३०९ वटा जीवन बीमालेख जारी भएकोमा चालु आवको चैतसम्ममा ५५ लाख ७२ हजार ५२ बीमालेख बिक्री भएका छन् ।
यस्तै, गत आवको चैत मसान्तमा ६१ लाख ७८ हजार ५६२ वटा म्यादी र लघु म्यादी जीवन बीमालेख जारी भएकोमा चालु आवको चैतसम्ममा ७१ लाख ३४ हजार ६३१ वटा बीमालेख बिक्री भएका छन् । जसअनुसार चालु आवको आठ महिनासम्ममा जीवन बीमातर्फ २०.१४ प्रतिशतको वृद्धि देखिएको छ । चालु आवको आठ महिनासम्ममा १ करोड ४१ लाख ६५ हजार ९९८ वटा जीवन बीमालेख जारी भएको बीमा प्राधिकरणले जनाएको छ । गत आवको आठ महिनासम्ममा १ करोड १७ लाख ९१ हजार ६९८ वटा जीवन बीमालेख जारी भएको थियो ।
जीवन बीमातर्फ २० प्रतिशतभन्दा बढीको बीमालेख जारी हुँदा निर्जीवन बीमा भने सामान्य गिरावट आएको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण निर्जीवन बीमा खुम्चन पुगेको जानकारहरू बताउँछन् । बीमा प्राधिकरणका अनुसार चालु आवको चैत मसान्तसम्ममा निर्जीवन बीमातर्फ गत वर्षको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले गिरावट आएको छ । अर्थात् निर्जीवन बीमा गर्नेको संख्या घटेको देखिन्छ । गत आवको चैत मसान्तसम्ममा २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी भएकोमा चालु आवको चैत मसान्तसम्ममा २१ लाख ६६ हजार ३२८ वटा निर्जीवन बीमालेख जारी भएको छ ।
चालु आवको चैत मसान्तसम्ममा जीवन बीमाशुल्क संकलन २.१४ प्रतिशतले बढ्दा निर्जीवन बीमाशुल्क संकलन ४.५८ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणका अनुसार गत आवको चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमाशुल्क संकलन भएको थियो । चालु आवको चैत मसान्तसम्ममा २.१४ प्रतिशतले बढ्दै १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ जीवन बीमाशुल्क संकलन भएको छ ।
सोही अवधिमा ३० अर्ब १ करोड रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको छ । निर्जीवनतर्फ यो ४.५८ प्रतिशतको वृद्धि हो । गत आवको चैत मसान्तसम्ममा २८ अर्ब ७० करोड रुपैयाँमात्रै निर्जीवन बीमाशुल्क संकलन भएको थियो ।
बीमा प्राधिकरणका अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिसम्ममा २.६७ प्रतिशत बढी कुल बीमाशुल्क संकलन भएको छ । चालु आवको चैत मसान्तसम्ममा १ खर्ब ३४ अर्ब ७४ करोड रुपैयाँ बीमालेख संकलन भएको छ । गत आवको सोही समयमा भने १ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।
बीमा प्राधिकरणका अनुसार चालु आवको नौ महिनासम्ममा ४४.५५ प्रतिशत जनता बीमाको दायरामा आएका छन् । गत आवको सोही अवधिमा ३७.३५ प्रतिशत जनता बीमाको दायरामा आएका थिए ।
भ्यान खरिदको मुद्दामा संलग्न तीनै निकाय अख्तियार, विशेष र सर्वोच्च अदालतले यसको सञ्चालनमा रोक लगाएका छैनन् । विशेष अदालतले भ्यान सञ्चालनमा ल्याउन निर्देशनात्मक आदेश गरेको छ भने सर्वोच्चले पनि सञ्चालन गर्न नहुने विषयमा केही बोलेको छैन ।