सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकी ११ को उद्दार प्रयास जारी

सुडानमा हालै विकसित परिस्थितिका अलपत्र परेकामध्ये १८ श्रमिक स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ नेपालीको सकुशल उद्दार तथा घर फिर्तिका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको जनाएको छ । कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिलमा जेद्दा शहर ल्याइएको थियो ।
जेद्दा पुगेका १९ मध्ये ६ जना नेपाली मे २ मा रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतीक्षारत १३ जना नेपालीमध्ये ८ जनालाई बुधबारको एयर अरवियाको उडानबाट काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ । बाँकी ५ जना बिहीबार जजिरा एयरवेजको उडानबाट नेपाल फिर्ता आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली दूतावास कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ मध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्दार गर्ने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ । बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा रहेका र अन्य २ लाई रोजगारदाता कम्पनीले इजिप्टको सीमास्थित सुरक्षित स्थानमा राखेको जनाइएको छ ।
सुडानमा २ सुरक्षा सैन्यबीच भिडन्त भइरहेका कारण त्यहाँको सुरक्षा अवस्थामा बिग्रँदै गएपछि त्यहा कार्यरत नेपाली अलपत्र परेका हुन् । त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्दारका लागि मन्त्रालयले निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली दूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेका मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली कायरोस्थित दूतावासको सम्पर्कमा रहेको दूतावासले जनाएको छ । कायरोस्थित नेपाली दूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी गराएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावास कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ मध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकका छन् । एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ । तीनजना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको दूतावासले जानकारी गराएको छ ।
सुडानमा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली दूतावासका द्वितीय सचिव दिपक घिमिरेसँग सम्पर्क राख्न अनुरोध गरिएको छ ।