२ अर्ब ८२ करोडको नागरिक बचतपत्र

नेपाल राष्ट्र बैंकले २ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण उठाउन नागरिक बचतपत्र निष्कासन गर्न लागिएको हो । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ५ वर्ष अवधिको नागरिक बचतपत्रमार्फत सार्वजनिक ऋण परिचालन गर्नको लागि सूचना प्रकाशित गरेको छ ।
बचतपत्रको लागि २४ वैशाखदेखि २४ जेठसम्मा आवेदन दिन सकिने र निष्कासन ३० जेठ २०८० मा हुनेछ । बचपत्रको सावाँ भुक्तानी ३० जेठ २०८५ मा हुनेछ । १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बचपत्रको ब्याजमा ब्याजकर नलाग्ने केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन,दिन सकिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने पनि सूचनामा उल्लेख छ ।
नखुलाइएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्रको अवधि ५ वर्ष रहेको छ ।