सातौं चितवन प्रदर्शनीको तयारी पूरा

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । र चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो ।
औद्योगिक प्रदर्शनी वैशाख २२ देखी २४ सम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुँदैछ । प्रर्दशनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादनलाई राखिने छ । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टल रहने छन् ।
प्रदर्शनी अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ । उद्यमीलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । प्रर्दशनीमा नेपाली उद्यमीलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त अवसर बन्ने कँडेलले बताए ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्ने सो प्रर्दशनीको दोश्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ विषयमा गोष्ठी तथा सेमिनार हुनेछ ।
प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ । आधुनिक प्रविधिको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदान मार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना–साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरु समावेश गरिने पनि आयोजक संस्थाले बताएको छ ।