सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर «

सञ्चयकर्ता र कर्मचारीलाई अढाई अर्बको सेयर

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएका छन् । चिलिमेले सहायक कम्पनी बनाएर रसुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाले २ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेका हुन् ।
आगामी आइतबार निष्कासन गर्न लागिएको सेयरअन्र्तगत २ करोड ४४ लाख ९६ हजार बराबरको कित्ता सेयर वितरण गर्न लागिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं चिलिमे कम्पनी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले दुवै आयोजनाको सेयर वितरण गर्न लागिएको र छिट्टै प्राधिकरणको सहायक कम्पनीले अघि बढाएको माथिल्लो तामाकोसी र चिलिमेको अर्को योजना मध्यभोटेकोसीको सेयर निष्कासन गर्न लागिएको जानकारी दिए । उनले रसुवागढी र साञ्जेन दुवै आयोजनाको निर्माण कार्य समयभित्र सम्पन्न गर्न पनि निर्देशन दिएका छन् ।
रसुवागढी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले जारी गर्न लागेको सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ताको लागि १९.५ प्रतिशत निष्कासन गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । उनका अनुसार, २८ माघमा निष्कासन गर्न लागिएको सो सेयर अन्र्तगत फागुनको ११ गतेदेखि ३० गतेसम्म सञ्चयकर्ताहरूले १ अर्ब ३३ करोड ४२ लाख बराबरको १ करोड ३३ लाख ४२ हजार सयर सीआश्वामार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी कम्पनीका संस्थागततर्फका विद्युत् प्राधिकरण, चिलिमे कम्पनी र रसुवा जिल्लाका कर्मचारीहरूलाई ३.५ प्रतिशत तथा ऋणदाता सञ्चय कोषका कर्मचारीहरूका लागि १ प्रतिशत विवरण गर्न लागिएको छ । कम्पनीका अनुसार चैतको ५ गतेदेखि १३ गतेसम्म संस्थापकतर्फका कर्मचारीलाई २३ करोड ९४ लाख ७३ हजार बराबरको २३ लाख ९४ हजार कित्ता सेयरको आवेदन पाउनेछन् । त्यसैगरी, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सोही मितिभित्र ६ करोड ८४ लाख २१ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।
सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीहरूले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म तथा यसैगरी, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५ सय कित्तासम्म सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६९ करोड ४२ लाख १० हजार बराबरको ६८ लाख ४२ हजार १०० कित्ता र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गर्ने योजना छ । चालू वर्षको अन्त्य अर्थात असारसम्ममा रसुवावासीलाई र एक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गर्ने गरी अघि बढेको प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए ।
त्यसैगरी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि ८७ करोड ६० लाख रुपैयाँको २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । यो आयोजनामा समेत रसुवागढीजस्तै सञ्चय कोषका सञ्चयकर्ताले १९.५ तथा कम्पनीका संस्थापक कर्मचारीहरूको समूहले ३.५ र सञ्चय कोषका कर्मचारीलले १ प्रतिशत सेयर पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
सञ्चयकर्ताले ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार कित्ता सेयरमा आवेदन गर्न पाउनेछन् । यसका लागि आगामी फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले १२ करोड ७७ लाख ५० हजार र ३ करोड ६५ लाख रुपैयाँको सेयर पाउनेछन् । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरूले ५ चैत देखि १३ चैत २०७४ सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू र संस्थापक संस्थाका कर्मचारीहरूले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्म तथा यसैगरी, कोषका कर्मचारीहरूले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५ सय कित्तासम्म सेयरमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साञ्जेनलेसमेत आगामी असारभित्र रसुवावासीलाई १० प्रतिशत तथा एक वर्षभित्र सर्वसाधरणका लागि १५ प्रतिशत सेयर जारी गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
दुवै आयोजनामा ५० प्रतिशत स्वँपुजी (इक्विटी) र ५० प्रतिशत ऋण गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीका अनुसार रसुवागढीको १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तथा माथिल्लो साञ्जेनको दुई अर्ब २२ करोड र साञ्जेनको ५ अर्ब २ करोड रुपैयाँ कुल लागत रहेको छ । रसुवागढी आयोजनाले २०७६ पुस १५ भित्र र साञ्जेनले २०७५ को चैतभित्र उत्पादन गरिसक्ने लक्ष्य राखेको छ ।
रसुवागढी आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको र आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने लक्ष्य छ । त्यसैगरी माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको तथा माथिल्लो सान्जेनबाट वार्षिक रूपमा ८ करोड २४ लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्