साइबर सुरक्षा केन्द्र स्थापना गरिने «

साइबर सुरक्षा केन्द्र स्थापना गरिने

सरकारी डाटाहरु असुरक्षित हुने क्रम बढेसँगै सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम तत्काल अघि बढ्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विगतमा सरकारी वेबसाइटहरू माथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताएकी हुन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मन्त्रालयले मंगलबार गरेको कार्यक्रममा मन्त्री शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको उल्लेख गर्दैै साइबर सुरक्षाका सम्बन्धमा नीतिगत स्पष्टताको चरणमा रहेको बताइन् ।

“साइबर सुरक्षाबारे विगत घटनाबाट सिकेर त्यसबारे अध्ययन र छानबिन गर्न सरकारले बनाएको कार्यदलको प्रतिवेदन अध्ययन गरिसकेका छौं” उनले भनिन्, “हामीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अघि बढाएका छौं, त्यसक्रममा हाल नीति बनाउने काम अन्तिम चरणमा पुर्‍याएका छौं ।” मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणमा सरकारले लगाउने करको दर घटाउनुपर्ने बताइन् ।

“सूचना प्रविधि अब मनोरञ्जनको क्षेत्र होइन, विगतमा यसलाई मनोरञ्जनको साधनका रुपमा कर लगाउने गरिएको रहेछ” उनले भनिन्, “तर अब यो मनोरञ्जन नभएर अत्यावश्यक बस्तु नै भइसक्यो, त्यसैले यसलाई त्यहीअनुसार गर्नेतर्फ सरकारको ध्यानाकर्षण भइसकेको छ ।” कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकोले थप सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी रहेको बताए । “सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबीच थप साझेदारी आवश्यक छ,” उनले भने ।

महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको अध्यक्ष ढकालले जानकारी दिए । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीले निरन्तर रूपमा विद्युतीय पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न पनि अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबारे राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कार्यक्रम आयोजना गरेको हो । सरकारले बुधबारदेखि सातै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस मनाउने भएको छ । सातवटै प्रदेशमा सात दिने सूचना प्रविधि दिवस नेपाल सरकार, क्यान महासंघ र दूरसञ्चार प्राधिकरणको सहभागितामा विभिन्न कार्यक्रम गरी सञ्चालन हुनेछन् ।

पाँच विधामा आईसीटी अवार्ड

सरकारले यो वर्ष विभिन्न व्यक्ति तथा संस्थालाई पाँच विधामा आईसिटी अवार्ड प्रदान गरेको छ । यो वर्षको आईसिटी व्यक्तित्वको रुपमा पूर्व सहसचिव वीरेन्द्र कुमार मिश्रलाई नेशनल आईसिटी एक्सलेन्स अवार्ड प्रदान गरिएको छ । सूचना तथा संचार प्रविधिको क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै मिश्रले सरकारबाट अवार्डका साथै १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

नेशनल आईसिटी वुमन एक्सलेन्स अवार्ड त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डा. तिमिला यमी थापाले प्राप्त गरेकी छन् । सूचना प्रविधिमा क्षेत्रमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान दिएको भन्दै सरकारले दुई कम्पनीलाई सम्मान गरेको हो । नेसनल आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) को तर्फबाट इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् । नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ ।

नागरिकलाई सूचना प्रविधिमैत्री सेवा प्रदान गरेको सरकारले सर्वोच्च अदालतलाई अवार्डद्वारा सम्मान गरेको हो ।नवप्रवर्तन तर्फ प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्