डाक्टरको ओपीडी शुल्क बढ्यो

अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहमतिअनुसार आगामी जेठ १ गतेदेखि लागु हुनेगरी नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो ।
चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन् ।
एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकले ५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन् । यस्तै, एमडी/एमएस र एमडिएस चिकित्सकको हकमा पाँच वर्ष अनुभव नभएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने छन् ।
डीमए तथा एमसीएच गरेका चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने भएका छन् । त्यसैगरी १० वर्षभन्दा बढी अनुभव भएका एमडी/एमएस र एमडीएस डाक्टरले ९४० रुपैयाँ शुल्क लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ ।