‘२०४८ सालयताका भ्रष्टलाई कारबाही गर्ने’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए । अहिले सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरुलाई छानवीन गर्नका लागि तत्काल पहलकदमी लिने बताए ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबी समेत गरे ।
उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखि बनाउन आफूले विशेष ध्यान दिएको पनि बताए । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उनले त्यसका लागि आफू लडिराखेको पनि बताए । प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरुलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्याए ।
अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसला अनुसार आफूले उनीहरुलाई राहत दिन लागेपनि स्याल हुँइया मच्याउन खोजिएको उनको भनाई थियो । प्रधानमन्त्री दाहालले यो परिवर्तन उल्टयाउने गरी स्यालहरु कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरुमाथि अपमान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई सहन गरेर बस्न नहुने पनि पटकपटक दोहोर्याए ।