कृषि र जडिबुटीले फेरिएको लोर्पागाउँ

पातारासी गाउँपालिका–५ माथि लोर्पाका धनबहादुर बुढाको घरव्यवहार जडिबुटीकै आम्दानीले चल्दै आएको छ । विगत पाँच दशकदेखि जडिबुटी संकलन गर्दै आएका धनबहादुरले जडिबुटीको कमाइले घरव्यवहार मात्र चलाएका छैनन् । छोराछोरीको पढाइदेखि घरघडेरीसम्म जोडेका छन् । उमेरले ५० नाघिसकेका बुढाको विगतको पाँच दशकलाई फर्केर हेर्दा आम्दानीको स्रोत भनेकै कृषि र जडिबुटी हो ।
नत रोजगारी नत शिक्षा दीक्षा । घर चलाउन र मिठो मसिनो खान जडिबुटीको सिजन व्यापार र कुटो कोदालो नै मुख्य स्रोत हो । धनबहादुर भन्छन्, “केही वर्ष अघिसम्म लोर्पा गाउँमा जागिरे पनि कोही थिएनन् । आयस्रोत पनि थिएन । नुन तेल गर्न लत्ताकपडा फेर्न जडिबुटीकै कमाइ कुर्नु पथ्र्याे । गाउँभर माटाका घरमात्रै थिए । तर अहिले ९५ प्रतिशत जस्तावाला घर निर्माण भइसके । सबै जडिबुटीकै आम्दानी हो ।”
लोर्पागाउँकै तिलक सिंह बुढाले जडिबुीटकै कमाइले छोराछोरी पढाउनुका साथै नयाँ घर निर्माण गरेका छन् । साथै आलु, कोदो, फापर मकै उत्पादन पनि उत्तिकै गर्छन् । उनी भन्छन्, “समग्र पातारासीको आम्दानीको स्रोतनै जडिबुटी हो । त्यसमा तलि र माथि लोर्पामा जति पनि जागिरे भएका छन् । नयाँ घर निर्माण गरेका छन् । गाउँको काँचुली नै फेरिएको छ, त्यो सबै जडिबुटीको कमाइ हो ।”
जडिबुटी र कृषि कर्मले धनबहादुर र तिलक सिंहको मात्र हैन्, पातारासी–५ तलि र माथि लोर्पाको करिब चार सय घरधुरी रहेको गाउँको स्वरुप नै फेरिएको छ । एक दशक पहिलासम्म माटाका छानामात्रै भएका घर देखिने लोर्पागाउँ अहिले जस्तामय बनेको छ । टोलटोलमा आरसीसी बाटा बनिसकेका छन् । घरघरमा धारा पुगिसकेका छन् ।
पातारासी–५ का वडाध्यक्ष दत्त बुढा भन्छन्, “पातारासीको कमाउने आधार नै जडिबुटी हो भने घर चलाउने आधार कृषि हो । गाउँमा देखिएको परिवर्तन नागरिकको जीवनशैलीमा आएको फेरबदल सबै जडिबुटीकै आम्दानी हो । तर पछिल्लो समय वैदेशिक रोजगारीमा जाने पनि बढेका छन् ।”
गाउँमा आफ्नै जलविद्युत छ । गाउँको घट्टेखोलाले विद्युत उत्पादनसँगै सिँचाइ पनि पुगेकै छ । जुम्लाको अन्नभण्डारका रूपमा चिनिने पातारासीले जिल्लासँगै छिमेकी जिल्लालाई आलु, सिमि, कोदो फापर मकै पठाउँछ । स्थानीय सरकारको आगनपछि अझै अपेक्षित विकास नहुँदा किसानका उत्पादन सहजै बजारसम्म आउन सकेका छैनन् भने पहिला जडिबुटीको भाउ राम्रै थियो । किसानले मनग्य कमाउँथे ।
वडाध्यक्ष बुढाले थपे, “७/८ वर्ष पहिले एकै सिजनमा ४/५ लाख प्रत्येक घरले कमाउथ्यो । अहिले जडिबुटीको मात्रा पनि घट्दो छ । भाउको त कुरै नगरम् । तर यार्सागुम्बा, घुच्चस् च्याउ, सेतक चिनीलगायतका जडिबुटी सिजनअनुसार संकलन गरेरै घर चलाउने गरेका छन् ।” ६/७ वर्ष पहिला गएको र सिधै अहिले लोर्पा गाउँमा पुग्ने जोसुकै मान्छे दंग हुन्छन् ।
लोर्पा गाउँको भौतिक, सामाजिक तथा आर्थिक विकास देखेर सबै दंग पर्छन् । अधिकांश घर जागिरे भइसकेका छन् । तर जडिबुटीप्रतिको मोह घटेको छैन् । किनकि जडिबुटीकै कमाइले पढेर जागिरे भएका हुन । छोटो समयको कडा मेहनतले धेरै कमाइ हुने भएकाले पनि जडिबुटी संकलन पातारासीबासीको रोजाइकै पेसा बनेको पातारासीकी उपाध्यक्ष जनमाया रोकाया बताइन् । उनका अनुसार पातारासीलाई कृषि उत्पादन र विद्युतमा आत्मनिर्भर पालिका बनाउने लक्ष्य छ ।
गाउँ नै जडिबुटी संकलनमा जाँदै
पातारासी गाउँपालिका–५ का धनबहादुर बुढा जडिबुटी संकलन गर्न जाने तयारीमा छन् । उनको वैशाख तेस्रो साता हिँड्ने तयारी छ । उमेरले ५० नाघिसकेका उनलाई पाटनमा गएर जडिबुटी कोर्ने र कमाउने जोस जाँगर मरेको छैन । उनीमात्र होइन समग्र पातारासी क्षेत्रका नागरिक गाउँ नै रित्तो बनाएर यो बेला जडिबुटी टिप्न पाटन लाग्ने गर्छन् । सिजनल मनग्य कमाइ हुने भएकाले पातारासी क्षेत्रका ६० नाघेका वद्धवृद्धाबाहेक दूधेबालकसमेत च्यापेर पाटनतर्फ जान्छन् ।
केही समय अघिसम्म जडिबुटी संकलनमा जानकै लागि विदालयसमेत बन्द हुन्थे । स्थानीय सरकार आएपछि नियमन गर्न खोजे पनि अधिकांश विद्यार्थी स्कुल छोडेर पाटन जान छोडेका छैनन् । रहरभन्दा पनि मनग्य कमाइ हुने र घर व्यवहार चल्ने बाध्यताले सबै नागरिक पाटन तिर जाने गर्छन् । स्थानीय अर्जुन महतारा भन्छन्, “वैशाख अन्तिमसम्म पातारासीका सबै बस्ती रित्तिन्छन् । वृद्धवृद्धामात्रै घर कुरुवा बस्छन् । छोराछोरीसहित सबै पाटन लाग्छन् । यसरी नै कमाएको पैसाले पातारासीको जनजीविका चलेको छ ।”