टुरिजम सेटलाइट एकाउण्टको मापदण्ड कार्यान्वयनमा ल्याऊ : महालेखापरीक्षक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नको लागि टुरिजम सेटलाइट कार्यान्वयनमा ल्याउन सकेको छैन ।
महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले समेत टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउने वार्षिक कार्यक्रममा अपेक्षित प्रगति नभएको औंल्याएको छ । तत्कालीन पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकरीले सन् २०१८ मै वार्षिक बजेटमा राखेर एक वर्षमै परीणाम निकाल्ने गरी काम गर्ने बताएको ५ वर्ष बित्नै लाग्दा समेत टुरिजम सेटलाइट एकाउण्ट लागू हुन सकेको छैन ।
“टुरिज्म प्रोफाइल वल्र्ड टुरिज्म अर्गनाइजेसन, युएनडब्लुटीओ, ओइसिडी युरोस्याट तथा युएनएसडीबाट विकास गरिएको मापदण्ड कार्यान्वयनमा ल्याई आन्तरिक र बाह्य पर्यटन, आन्तरिक पर्यटन खर्च, पर्यटन उद्योगको उत्पादन लेखांकन, कुल ग्राहस्थ्य उत्पादन मापन, रोजगारी, लगानी, सरकारी उपभोग र गैरमौद्रिक सूचक देखिने गरी टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउने वार्षिक कार्यक्रममा अपेक्षित प्रगति भएको देखिएन ।”
महालेखाको प्रतिवेदनमा भनिएको छ, “कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान मापन गर्दा होटल र रेष्टुराँको मात्र मापन गर्ने गरेकोले वास्तविक योगदान यकिन नभएको एवं आन्तरिक पर्यटक सर्भे नभएका कारण टुरिज्म सेटलाइट एकाउण्ट लागू हुन सकेको छैन । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान देखिने गरी लेखांकन हुनुपर्दछ ।”
उक्त मापदण्ड लागु भएपछि मुलुकको अर्थतन्त्र र कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको विषयमा सही तथ्यांक प्राप्त गर्न सजिलो हुनेछ । यस्तै पर्यटन क्षेत्रभित्रै रहेको अन्य विषयगत क्षेत्रको तथ्यांक पाउन पनि यो प्रणाली सहयोगसिद्ध हुने छ । आन्तरिक तथा बाह्य पर्यटकले दैनिक गर्ने खर्च, पर्यटकको आगमन संख्या, पर्यटन क्षेत्रको योगदानमा कुन कुन क्षेत्रबाट कति कति आय आर्जन भएको छ भन्ने कुरा गणना गर्ने पद्दति हो ।
पर्यटन क्षेत्रबाट अहिले अर्थतन्त्रमा बढीजसो होटल, ट्रेक, पर्वातारोहण र ट्राभलमा मात्र आर्थिक योग्दान रहेको देखिने भएपनि यसबाट अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्न सर्भे गर्ने योजना अगाडि सारिएको छ । उक्त प्रणालीको विकास गरेर लागु भएपछि मुलुकमा पर्यटन क्षेत्रको अवस्था, त्यस सम्बन्धी सत्य तथ्य तथ्यांक आउने, नीति निर्माण बनाउन सहज हुने तथा विभिन्न कार्यक्रम बनाउन सजिलो हुने छ ।
सन् २००८ देखि नै टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड लागू गर्न प्रकृयामा भएपनि आन्तरिक तयारी पूरा हुन नसक्दा लागू हन नसकेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “सन् २०१८ देखि सेटलाइट एकाउन्टको कामले गति लिएको भएपनि कोभिड–१९ का कारण ढिलाई भएको थियो । अहिले भने बोर्ड विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा काम गरिरहेको छ ।”
बोर्डले हाल बाह्य क्षेत्रबाट आउने पर्यटकले कति खर्च गर्छन् भनेर पर्यटकसँग सर्भे भइरहेको जनाएको छ । आन्तरिक पर्यटकको तथ्यांक निकाल्न बोर्डले केन्द्रिय तथ्यांक विभागसँगको सहकार्यमा सर्भे गर्ने प्रकृया अगाडि बढाइएको निर्देशक लामिछानेले बताए । यस प्रविधिमार्फत् गरिएको अध्ययनबाट आउने तथ्यांकले मुलुकको अर्थतन्त्रमा पर्यटनको योगदान कति हो भन्ने स्पष्ट तथ्यांक आउने अपेक्षा गरिएको छ । समग्र पर्यटन क्षेत्रको कुल ग्रास्त उत्पादनमा कति मात्रमा योग्दान रहेको छ भन्ने पहिचान गर्नको लागि सहज हुने छ ।
विश्व बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रबाट हुने आय भने २ अर्ब २ करोड अमेरिकी डलर रहेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रति पर्यटक प्रतिदिन खर्च ६३ अमेरिकन डलर पुर्याउने लक्ष्य लिएको थियो भने ४८ डलरमात्र प्रगति भएको थियो । प्रतिपर्यटक औसत बसाई १४ दिन लक्ष्य लिएकोमा १५.५ दिन प्रगति भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।