हराउन थाले रातो माटोका खानी

रातो माटोका खानीहरू पछिल्लो समय विभिन्न बहानामा हराउँदै जान थालेका छन् । माटोका सट्टा रातो रङको प्रयोग बढ्ने, बस्ती विस्तार हुने र विभिन्न संरचना बन्नेलगायतका कारण रातो माटोका खानीहरू हराउँदै गएका छन् । गुल्मीको इस्मा गाउँपालिकामा पर्ने राङदाल बुल्म क्षेत्र कुनै समय रातो माटोको खानी थियो । यहाँबाट गुल्मी जिल्लासँगै पाल्पा, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, प्युठान र अर्घाखाँचीमा रातो माटो पुग्ने गर्दथ्यो ।
इस्मा गाउँपालिका–६ अम्मरपुरका अगुवा स्थानीय रामप्रसाद पाण्डेले रातो माटो हराउँदै गएको बताए । कुनै समयमा बुल्मबाट बोरामै बोकेर टाढाटाढा लैजाने र पछिल्लो पटक सवारीमा टाढा टाढा लग्ने गरिएपनि हाल हराएर जान लागेको पाण्डेले बताएका छन् । “पहिले बुल्म क्षेत्र रातो माटोको खानी नै थियो” उनले भने, “यस्तै स्थिती रहेमा केही वर्षमै रातो माटोकै निसाना नरहने देखिन्छ ।” कोही कतैबाट व्यवस्थित नभएमा रातो माटोको खानी केवल इतिहास बन्ने उनले गुनासो गरे ।
सोही ठाउँकै स्थानीय बुद्ध नेपालीले पछिल्लो १० वर्षमा निरन्तर रातो माटो हराउँदै गएको बताए । गाउँघरमा लिपपोत गर्नको लागि पनि रातो माटो लोप हुने अवस्थामा पुगेको नेपालीले बताए । “हामीले युवा रहँदा डेढ क्विन्टल रातो माटो बोकेर बिक्री गथ्र्यौँ” उनले भने, “अहिले रातो माटोको खानी भन्ने नै हराएर गयो ।” उनले विभिन्न विकासका बहानामा रातो माटो हराउने परिस्थति बनेको बताउँछन् ।
रातो माटो जबसम्म खानीको रुपमा कायम थियो, यहाँका स्थानीयले त्यसकै माध्यमबाट जीविकोपार्जन गरेका थिए । तर, पछिल्लो पटक तत्कालीन अम्मरपुर गाउँ विकास समितिले सरकारी निकायको लागि स्थानीवासीलाई जग्गा बेच्नु र सहिद लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला बन्न थालेपछि माटोको खानीको नाम निसाना हराएको हो ।
हाल रंगशाला पनि अलपत्र अवस्थामा छ । कुल एक सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाइसहित बुल्मक्षेत्रमा फैलिएको रंगशालाले माटोको खानी विस्थापित गरेको छ । तर, रंगशाला विगत तीन वर्षदेखि निर्माणधीन अवस्थामै अलपत्र छ । यसमा कुनै सरोकारवाला निकायको ध्यान भने जान सकेको छैन । जसका कारण न रंगशाला बनेको छ, न रातो माटोको खानीको इतिहास फर्किएको छ ।
इस्मा गाउँपालिका–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरका अनुसार विगतको समयमा रातो माटोबाटै आफूहरूको पहिचान स्थापित भएको हो । तर, पछिल्लो समय रातो माटोको खानी हराएर गएको कुँवरले बताए । “एकातिर रंगशालाको नामले जग्गा ओगटेको छ अर्कोतिर बस्ती बसेको छ” उनले भने, “रातो माटोका खानी अब इतिहास मात्र हुनेभयो ।” उनले पछिल्लो समय रातो माटोको प्रयोगमा पनि कमी आएको बताए ।
बुल्म क्षेत्रबाट हाल आवश्यकताका आधारमा रंगशाला वरपरबाट केही माटो उठाउन छुट छ । साथै ठूलो परिमाणमा माटो चाहिएमा निजी जग्गाबाट उठाउने गरिएको छ । खानीका रुपमा रहेको रातो माटो हाल अस्तित्व संकटमा छ । यस क्षेत्रमा मात्र नभई अन्यत्र पनि रातो माटोका खानी हराउँदै गएका छन् ।